|

दमक : झापाको दमक-७ स्थित रतुवा खोलाका बाढीपीडित सुकुम्बासीहरुले घर खोलाले बगाउन लाग्दासमेत जनप्रतिनिधि नआएको गुनासो गरेका छन्। निरन्तरको वर्षाका कारण रतुवा खोलामा आएको बाढीले सय घर सुमुम्बासी बस्ती जोखिममा पर्दासमेत जनप्रतिनिधिहरु नआएको उनीहरुले गुनासो गरेका हुन्।

दमक-७ का सुकुम्बासी बस्तीमा भोट माग्ने बेलामा मुख्य एजेण्डा नै रतुवा खोलामा बाँध बाध्ने भन्दै आएका जनप्रतिनिधिहरु खोलामा बाढी आएर बस्ती नै बगाउने खतरामा हुँदासमेत हेर्न पनि नआएको गुनासो गरेका हुन्।

स्थानीय सुकुम्बासी इन्द्रमाया कुरुङबाङले बाढीले घर बगाउन लाग्दा पनि जनप्रतिनिधिहरु नआएको गुनासो गरिन्। उनले भनिन्, ‘चुनावका बेला भोट माग्न आउँदा धेरै कुरा चाँहि खोला बाँध्ने नै गर्थे तर, अहिले हेर्न पनि आएनन्।’ उनले आफूहरुसम्म आएर जनप्रतिनिधिले हौसला मात्र दिए पनि पुग्ने बताइन्। उनले भनिन्, ‘उहाँहरुले यस्तो अवस्थामा गर्न सक्ने त केही होइन तर, पनि आएर हामीलाई केही सहयोग गरे त हुन्थ्यो।’

यस्तै, अर्का सुकुम्बासी युवा सनबहादुर लिम्बूले आफूहरुलाई राहत उपलब्ध गराउनुपर्छ भनेर जनप्रतिनिधिहरु नआएको गुनासो गरे। उनले भने, ‘चुनावका बेलामा त तपाईंहरुले खबर गर्नेबित्तिकै आउँछौं भन्दै फोन नम्बर दिएका थिए, त्यो नम्बरमा गर्दा अहिले त मोबाइल पनि अफ छ।’ खोलाले बागाउन लागेको बेलामा केही बोरा बालुवा राखेर छेक्दा पनि छेकिन सक्ने उनले बताए। उनले भने, ‘अरुतिर त पुलिस सशस्त्र पनि खटिएको छ। हाम्रोमा त कोही आएको छैन, बालुवा बोरामा ल्याएर छेक्दा त कतै छेकिन्थ्यो कि।’

सोही ठाउँका अर्का सुकुम्बासी खड्ग लिम्बू पनि राति नसुतेको तीन दिन भयो। ठूलो पानी परेदेखि उनको निद्रै हराएको छ।  उनी भन्छन्, ‘घरमुनिबाट खोला कुद्छ, कसरी निदाउँनु?, अब यहीँ नबसौं भने अन्त जाने ठाउँ छैन।’ उनले आफूहरुले जितेमा एक महिनाभित्र सुरक्षित स्थानमा लान्छौं भन्ने जनप्रतिनिधिहरु अहिले हराएको बताए। उनले भने, ‘चुनाव आउने बेलामा त एक महिनाभित्र खोला बाध्छौं, तिमीहरुलाई सुरक्षित स्थानमा लान्छौं भन्थे अहिले त कहाँ गए कोनी?’

यस्तै, सोही ठाउँकी स्थानीय सीता श्रेष्ठले नगरपालिकाकै कमजोरीका कारण आफूहरु डुबानमा परेको बताइन्। उनले भनिन्, ‘पोहोर साल पनि यस्तै पानी आएको थियो, खोलाले कटान गरे पनि हामी डुबानमा चाहिँ परेका थिएनौं तर, यस वर्ष चाहिँ नगरपालिकाले पसुहाट बनाउने भएर दक्षिणतिर जाने बानीको निकास बन्द गरेको छ, त्यस कारण यस्तो भएको हो, पसुहाट पनि ताल बनेको छ’

हालसम्म जिल्लामा ३ को मृत्यु, ४ बेपत्ता

जिल्ला अपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार जिल्लामा हालसम्म तीनजनाको मृत्यु भएको छ भने चारजना बेपत्ता भएका छन्। विभिन्न खोलामा आएको बाढीका कारण शिवसताक्षी-१ का २८ वर्षीय लेखनाथ पाण्डे, झापा गाउँपालिका-२ की धनमाया घोर्सानीको र सोही गाउँपालिका ३ की कमला दर्लामीको मृत्यु भएको छ। यस्तै, बेपत्ताहरुमा झापा गाउँपालिका-२ की १५ वर्षीया कल्पना घोर्सानी सोही गाउँपालिका ३ की ७ वार्षीय  खुशी दर्लामी कचनकवल गाउँपालिका–३ का रामप्रसाद राजवंशी र कमल गाउँपालिका-६ का ३५ वर्षीय दिवश राई बेपत्ता भएको प्रहरीले जनाएको छ।

अझै पनि वर्षा नरोकिएकाले जिल्लामा डुबानको खतरा 

अहिलेसम्म कति क्षति भो भन्ने विवरण आइनसकेको केन्द्रले जनाएको छ। उसका अनुसार टेलिफोन सम्पर्क हुन नसकेकाले सूचना संकलनमा समस्या भएको हो बाढीका कारण हजारभन्दा बढी परिवार विस्थापित भएका छन् भने हजारौं घर डुबानमा परेका छन्।

जिल्लाका ठूला नदीहरु कनकाई, मेची, कमला, बिरिङ, रतुवा, बनियाँनी, झिलझिले, दिपिनीलगायत खोलाकोहरु बस्तीमा बसेर वितण्डा मञ्चाइरहेको छ। अहिले जिल्लामा विद्युत् सेवा नभएकाले कनकाईको बहाव कति छ भन्नेसमेत पत्ता लगाउन नसकिएको केन्द्रले जनाएको छ।

विद्यालय बन्द

लगातारको वर्षाका कारण जिल्लामा सञ्चालित सबै सामुदायिक तथा प्राइभेट विद्यालय बन्द भएका छन्। चार दिनदेखि परेको अविरल वर्षाले झापाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति पुगेकाले विद्यार्थीको सुरक्षालाई मध्यनजर गर्दै एकदिन विद्यालय बिदा दिइएको जिल्ला शिक्षा कार्यालय झापाका जिशिअ योगेन्द्र बरालले जानकारी दिए। झापाका बाढीपीडितहरु नजिकैको विद्यालयमा बस्नुपरेका कारण पनि उनीहरुको समस्यालाई ध्यानमा राख्दै विद्यालय बिदा दिइएको उनले बताए।

विद्युत्, टेलिफोन तथा इन्टरनेट अवरुद्ध

वर्षाका कारण जिल्लामा विद्युत्, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा स्थानीयको दैनिकी झनै कष्टकर बनेको छ। बर्खाका र कारण जिल्लाका विभिन्न ठाउँमा बिजुलीको पोलढल्दा विद्युत्, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध बनेको हो। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दमकका अनुसार विभिन्न ठाउँमा पोल लडेका कारण विद्युत् सेवा कहिले सुचारु हुन्छ भन्न नसकिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.