|

काठमाडौं :  वर्षापछि तराईमा आएको बाढी प्रभावित क्षेत्रमा खटाउनका लागि स्वास्थ्य मन्त्रालयले विशेष तयारीका साथ स्वास्थ्यकर्मीको टोली परिचालन गरेको जनाएको छ। स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले प्रभावित क्षेत्रमा औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था मिलाइसकेको बताएका छन्। मन्त्रीको निजी सचिवालयले दिएको जानकारीअनुसार स्वास्थ्यमन्त्री पोख्रेलले स्वास्थ्य सचिव, महानिर्देशक लगायतका पदाधिकारीलाई बाढीपहिरो क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिँदै बाढी प्रभावित क्षेत्रका लागि छुट्टै युनिट गठन गरिएको छ।
त्यसका साथै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य सेवा विभागलाई हाइअलर्टमा राखिएको छ स्वस्थ्य मन्त्रालयले जनाएको छ। सोहीअनुसार तत्काललाई पूर्वाञ्चलमा डा. भेषराज पोखरेललाई मध्यमाञ्चलका लागि डा. क्षेत्रीय निर्देशक डा. वासुदेव पाण्डेलाई यस्तै, औषधि उपचारको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशखाका निर्देशक डा. भीम आचार्यलाई जिम्मेवारी बाँडफाड गरिएको सचिवालयले जनाएको छ। ‌औषधी स्टोरको जिम्मा भने भरत साहलाई दिइएको जनाइएको छ।

यस्तै, स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा रहेका जिल्ला अस्पताल, अञ्चल अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएको छ। विज्ञप्तिमा भनिएको छ, 'मन्त्रालय, स्वास्थ्य सेवा विभाग र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्पूर्ण व्यवस्था मिलाई अलर्ट बस्न अनुरोध गरिन्छ।' मन्त्रालयले इटहरी, सप्तरी, सर्लाही, बाँके लगायतका जिल्लामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिसकेको जनाएको छ।

सुनसरी, झापा, मोरङदेखि महेन्द्रनगर सम्मका क्षेत्रमा बाढीका कारणले कुनै पनि औषधीको अभाव नभएको पनि सचिवालयले जनाएको छ। उता, बाँकेको फत्तेपुरस्थित स्वास्थ्य चौकीको एकतले भवन बाढीले डुबेपछि त्यहाँ रहेको सबै औषधी नष्ट भएको छ। त्यहाँका स्वास्थ्यकर्मीहरुलाई छुट्टै घरमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.