वर्षाको बहाना बनाएर ठेकेदारले काम रोकेको स्थानीयको आरोप

|

  • मिलन बिक-

पाल्पा : पर्यटकीय हिसाबले परिचित जिल्लाको ऐतिहासिक दरबार रानीमहल तथा रानीघाट जाने सडक निर्माण कार्य अलपत्र अवस्थामा छ। वर्षाको बहाना बनाएर ठेकेदारले काम रोकेपछि सो सडक खण्डमा एक महिनादेखि काम हुन सकेको छैन। विगत वर्षहरुको वर्षातमा गाडी चल्ने सडक काम गर्दागर्दै अलपत्र अवस्थामा छोडेपछि अहिले गाडी पनि चल्न सकेका छैनन्।

गाडी नचल्दा यो सडक हुँदै हिँड्ने यात्रु र पर्यटकहरु समस्यामा परेका छन्। तानसेन नगरपालिका वडा-१२ बौघापोखराथोक र १३ बौघागुम्हाको सिमानामा पर्ने साँघु खोलामा ठेकेदारले मनपरी ढुंगा निकालेपछि गाडी चल्न र पर्यटकहरु आउन जानसमेत सकेका छैनन्।

वर्षाको बहाना बनाएर ठेकेदारले काम रोकेको स्थानीयको आरोप

ठेकेदारले खोलामा पर्ने सडकको तल्लोभागबाट मनपरी ढुंगा निकाल्दा ठूलो भड्खालो परेको छ। स्थानीय टंक घिमिरेले भने, ‘गाडी मात्र हैन मान्छेसमेत पार गर्न सकिने अवस्था छैन।’ उनले भने पर्यटक, त के  सद्गति गर्नका लागि रानीघाटमा शव लैजानसमेत सक्ने अवस्था छैन।’

सोही सडक खण्डमा जिप चलाउने चालक योगेश पाण्डेले खोलामा ठूलो भड्खालो परेकोले आफू १० दिनदेखि रानीघाटमै रोकिएको बताए। ‘गएका वर्षहरुमा वर्षातको समयमा पनि जिप चलाइन्थ्यो।’ चालक पाण्डेले भने, ‘ठेकेदारले खोलामा पर्ने सडकको ढुंगा निकाल्दा समस्या जटिल बनेको हो। आफूहरुले सरोकारवाला निकायलाई पटक–पटक भनिरहँदा पनि कुनै चासो नदेखाउँदा साह्रै दुःख लागेको छ।’

तानसेन–रानीघाट मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष पोषकान्त बस्यालले सम्पूर्ण अधिकार ठेकेदारमा निहित रहेकोले यो समस्या आएको बताए। ‘अध्यक्षको हैसियतले मेरो यो सडक निर्माण कार्यमा कुनै कार्यकारी अधिकार छैन।’ उनले भने, ‘सुझाव सल्लाह  दिन्छु तर, ठेकेदारले वास्तै गर्दैन।’

 उनले सडकको काम गुणस्तरहीन भएको समेत बताए। सडकको पर्खाल र नालीमा प्रयोग गरिने सिमेन्ट र बालुवाको मात्रामा लापरबाही गरिएकोले बनेको संरचना पनि भत्किइसकेको बताए। उनले एक बोरा सिमेन्टमा ४ बोरा बालुवा मिसाउनुपर्नेमा ८ बोरासम्म वालुवा मिसाएर काम गरेको दाबी गरे।

के भन्छन् ठेकेदार?

ठेकेदार सुरेन्द्र लम्सालले निरन्तर पानी परिरहेको कारण काम गर्न सहज नभएकोले विगत एक महिनादेखि काम रोकेको स्वीकार गरे। उनले साँघु खोलाबाट १/२ टिप ढुंगा निकालेको भन्दै त्यो ठाउँमा जालीमा ढुंगा भरेर उठाउने र समस्या समाधान गर्ने बताए। तर, ढुंगा निकाल्न जिल्ला समन्वय समितिले रोक लगाएपछि आफूहरुले ढुंगा निकाल्न छोडेको उनले बताए। यद्यपि, यसको विकल्पमा कल्भर्ट बनिरहेको उनको भनाइ छ। कल्भर्ट निर्माणको काम पनि अलपत्र अवस्थामा छ।

सामान्य अवस्थामा भए पनि कहिलेसम्ममा सडक सुचारु हुन्छ? भन्ने थाहा खबरको प्रश्नमा ठेकेदार लम्सालले, ‘वर्षात रोकिएपछि हुन्छ’ भन्ने गैरजिम्मेवार जवाफ दिए। उनका अनुसार आगामी भदौमा सक्नुपर्ने काम निर्धारित समयमा नसकिने भएको छ। स्थानीय तहको निर्वाचन, भूकम्प, नाकाबन्दी लगायतका समस्या देखाएर अझै सडक निर्माण गर्ने समय लम्बाउने सोचमा उनी रहेका छन्।

कहिले बन्ला त सडक?

तानसेनदेखि रानीघाटसम्म १२ किलोमिटर ७ सय मिटर दूरी रहेको सडकको मर्मत कार्य मात्रै होइन, पिच गरेर गएको पुस महिनामा काम सकाउने सहमति भएको थियो। रसुवा एसबिए जेभी कम्पनीसँग ०७१ असारमा र अन्य केही कम्पनीसँग भएको सम्झौताअनुसार लगभग २२ करोड लगानीमा सडक बनाउने काम थालिएको थियो।

तर, खण्ड–खण्डमा विभिन्न ठेकदारलाई दिएको ठेक्काका कारण काम समयमा सम्पन्न हुन नसक्नुका साथै गुणस्तरीयसमेत बनेको छैन। निर्धारित समयभन्दा पुनः ६ महिनाको म्याद थपिएको भनेका सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर पवित्रमणि आचार्य पनि पछि थपिएको निर्धारित समय भदौभित्रमा काम सम्पन्न हुनेमा ढुक्क छैनन्। उनले पनि नाकाबन्दी, भूकम्प र स्थानीय तहको निर्वाचनको कारण देखाउँदै भदौमा काम नसकिने र फेरि म्याद थप्ने संकेत गरे।

‘त्यो साइट हेर्ने जिम्मा मेरो हो तर, धेरै दिन भयो गएको छैन।’ उनले भने, ‘अवरुद्ध भएको सडक खुलाउनको लागि मैले भनिसकेको छु।’ एक महिना जति भयो नि गाडी नचलेको ? भन्ने थाहा खबरको प्रश्नमा उनले भने, ‘ग्याविनको लागि सामग्री पठाएको छु त्यो बनाउने जिम्मा स्थानीयले लिएका छन्।’ तर, स्थानीयले भने आफूहरुले दबाब दिइरहे पनि कुनै सुनुवाइ नभएको बताएका छन्। 

पिचको काम भइरहेको तानसेन–रानीघाट सडक खण्डका विभिन्न स्थानमा पहिरो जानुका साथै बनाइएको पर्खाल र नाली भत्किएको स्थानीयले बताएका छन्। ऐतिहासिक पर्यटकीयस्थल रानीमहल तथा आर्यघाटमा शव लैजाने रानीघाटमा जाने सडकको दुरवस्थामा सरोकारवालाको चासो नहुनु दुःखद भएको उनीहरुको भनाइ छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.