|

काठमाडौं : सहरी विकास मन्त्री प्रभु साहले बाढी प्रभावित क्षेत्रका जनताका लागि तुरुन्तै अस्थायी आवासको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। उनले प्रभावित क्षेत्रबाट उद्दार गरिएका जनताहरुलाई सुरक्षित हुने गरी त्यस्तो आवासको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

‘सबै डिभिजनहरु उच्च सतर्कतामा बस्नुहोस्, विदामा बसेका सबै कर्मचारीहरु तुरुन्तै कार्यक्षेत्रमा जानुहोस्’, उनले कर्मचारीलाई निर्देशन दिँदै भने, ‘आवाससँग सम्बन्धित महाशाखाले आवासको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र निकायको एकीकृत कार्ययोजना बनाएर तुरुन्तै काम थाल्नुहोस्।’

उनले बाढी प्रभावित क्षेत्रका जनताको लागि मुख्य रुपमा तीन चरणमा काम गर्न निर्देशन दिए। ‘पहिलो ओतविहीन पीडित जनताको लागि तुरुन्तै सुरक्षित आवासको प्रबन्ध गर्नुपर्दछ’ मन्त्री साहले भने, ‘दोश्रो अस्थायी रुपमा सुरक्षित आवासको व्यवस्था गर्ने र तेश्रो स्थायी रुपमा निजी आवासको लागि दीर्घकालीन योजना बनाएर लाग्नुपर्दछ।’

मन्त्री शाहले बाढीपीडितहरुलाई आवासको प्रबन्ध गर्नु पहिलो आवश्यकता भएको उल्लेख गर्दै भने, ‘जनताको घरभरी पानी नै पानी छ, उनीहरुलाई उद्दार गरेर कहाँ बसाउने हो? त्यसको व्यवस्था अध्ययन गरी तुरुन्तै मिलाउनुहोस्।’

यसरी उद्दार गरिएकालाई सुरक्षित खानपान, पालको व्यवस्थासहित स्वास्थ्योपचारको लागि सम्बन्धित निकायसँग समन्वय गरी तत्कालै खट्नुपर्नेमा उनले जोड दिए। ‘पीडितहरुको जीवन रक्षा गर्नुपर्दछ, प्रक्रियामा लम्बिन नथाल्नुहोला’मन्त्री साहले निर्देशन दिँदै भने, ‘अध्ययन गर्दैमा ७ दिन नबिताउनुहोला।’

यो ठूलो विपत्ति भएकाले यसको व्यवस्थापनमा पनि ठूलै रुपमा सोच्नुपर्ने उनको भनाइ रहेको छ। सूचना संकलन, घटनाक्रम हेरी मौसमविद्संगको सहकार्यमा एकीकृत कार्ययोजना बनाएर खट्नुपर्नेमा मन्त्री साहले जोड दिए। विपत्तिको समयमा प्रक्रियामुखी काम भन्दापनि परिणाममुखी भावले सरकारी स्तरबाट पीडितको उचित व्यवस्थापनको लागि कुनै पनि कसर बाँकी नराख्न उनले निर्देशन दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.