|

जनकपुरधाम : पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा तीनवटा पुल भासिएका छन्। धनुषा र महोत्तरी सिमानाको रुपमा रहेको रातु नदीको पुल, जंग्हा नदीको पुल र मरहा नदीका पुल भासिएका हुन्।

धनुषा र महोत्तरीको सिमानाका रुपमा रहेको भासिएको रातु नदीको पुल अघिल्लो वर्षसमेत भासिएको थियो। दुई जिल्लाको बीचमा पर्ने बर्दिवासस्थित रातु नदीको पुल बाढीको उच्च बहावका कारण शनिबार साँझ ७ बजे पुनः भासिएको हो।

दुई वर्षअघि, डाइभर्सन दिएर काम चलाउ पुल बनाएका स्थानमा पुलको केही भाग भासिएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिएका छन्। उक्त पुल भासिँदा साँझदेखि नै पुलबाट सवारीसाधन आवागमन बन्द गरिएको थियो। दुई पांग्रे र हलुका सवारीसाधनबाहेक अन्य सम्पूर्ण सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ।

यस्तै, अविरल वर्षासँगै आएको उच्च बाढीले महोत्तरीको बर्दिबास नगरपालिका–४ माईस्थानस्थित रहेको जंगहा र मरहा नदीको पुल भासिएको छ। पूर्व–पश्चिम राजमार्गमै पर्ने जग्हा नदीको पुल भासिएपछि सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको महोत्तरीका बर्दिबासका प्रहरी नायव उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक शर्माका अनुसार रातु पुलमा मालबाहक ठूला सवारीसाधन सञ्चालनको अवस्था रहे पनि जंगहा र मरहा पुल पूर्ण रुपमा क्षतिग्रस्त भएकोले सवारी सञ्चालनको अवस्था नरहेको स्पष्ट पारे। ठूला सवारीसाधन बस, ट्रक, लगायतका साधन नचलेपछि सयौं सवारीसाधन र हजारौं यात्रु अलपत्र परेका छन्।

हलुका तथा साना सवारीसाधन बर्दिवास सिन्धुली हुँदै काठमाडौं आवतजावत सुचारु रहे पनि अन्य सडकमार्ग बन्द रहेको छ।राजमार्गको पूर्व–पश्चिमको करिडोरको रुपमा रहेको रातु तथा जंगहा र मरहा नदी भाँसिदा पूर्व–जिल्लाहरुको सम्बन्धविच्छेद भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.