|

गोरखा : गोरखा जिल्लाबाट सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने महिला नानुमाया गुरुङ सम्मानित भएकी छन्। गोरखा उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिले आयोजना गरेको तेस्रो तीज गीत महोत्सवको अवसरमा उनलाई सम्मान गरिएको हो। नानुमायालाई कार्यक्रमका प्रमुख अतिथि सिंचाई मन्त्री सञ्जयकुमार गौतमले सम्मान पत्र प्रदान गरे।

जिल्लाको उत्तरी गाउँ गुम्दाकी २३ वर्षकी नानुमायाले गत जेठ ७ गते एभरेस्ट हाई क्याम्पबाट हिमाल आरोहण सुरु गरेर साढे आठ घण्टामा सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी थिइन्। उनले गत जेठ ८ गते बिहान साढे चार बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन्। सगरमाथामा पाइला टेक्ने उनी गोरखाकी एक मात्र महिला हुन्।

गोरखाकी पहिलो महिलाको रुपमा सफल सगरमाथा आरोहण गरेकोले उनलाई थप हौसला होस भनेर दोसल्ला र सम्मान पत्र प्रदान गरी सम्मान गरिएको महिला उद्यम विकास समितिकी सचिव रिता रेग्मीले बताइन्।

नानुमायासँगै गोरखाका सफल तीन महिला उद्यमी समेत सम्मानित भएका छन्। ढाका पसल सञ्चालक रुपा गुरुङ, सौन्दर्यकला व्यवसायी रिना गुरुङ र सिलाइ कटाइ व्यवसायी रोजिना श्रेष्ठलाई सम्मान गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.