|

पनौतीः वरिष्ठ साहित्यकार तथा नेपाल भाषा एकेडमीका कुलपति चित्तरञ्जन नेपालीले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएका छ जना वाङ्मयसेवीहरूलाई एक कार्यक्रमबीच सम्मान गरेका छन्। 

‘अक्षरमार्ग’ साहित्यिक त्रैमासिकको पाँचौँ वार्षिक उत्सवको अवसरमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि नेपालीले उनीहरूलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए। 

नेपाली भाषा र साहित्यको सेवा गर्ने उद्देश्यले  विगत पाँच वर्षदेखि निरन्तर प्रकाशित अक्षरमार्गले प्रत्येक वर्ष आफ्नो वार्षिक उत्सवको अवसरमा स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ।

यो वर्ष विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट गोविन्दराज भट्टराई, श्रीराम स्मृति अक्षरमार्ग सम्मानबाट नरेन्द्रबहादुर श्रेष्ठ, अक्षरमार्ग नरबहादुर स्मृति सम्मानबाट रमा शर्मा, भरतराज अक्षरमार्ग स्रस्टा सम्मानबाट मणिराज सिंह, खड्गवेद अक्षरमार्ग काभ्रेली स्रष्टा सम्मानबाट गोविन्दबहादुर थापा, अक्षरमार्ग सहकर्मी प्रतिभा सम्मानबाट ध्रुवकृष्ण ताम्राकार सम्मानित भएका छन्। 

कार्यक्रममा वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग, डा. कुमार कोइराला, ज्ञानकाजी मानन्धर, मोहन दुवाल, गोविन्दराज भट्टराई, रमा शर्मालगायतले बोलेका थिए। 

सम्मानित स्रष्टा कवि नरेन्द्रबहादुर श्रेष्ठ, मणिराज सिंहलगायतले आआफ्ना रचना पाठ गरेका थिए। 

सोही कार्यक्रममा साहित्यकार सूर्य लाकोजूको सम्पादन र अक्षरमार्ग प्रकाशक रहेको ‘शिक्षा, संस्कृति र समाजसेवाका त्रिवेणी ज्ञानकाजी मानन्धर’ र कृष्णप्रसाद सिटौलाद्वारा रचित ‘मेरो फूलबारी’ बालकवितासंग्रह पनि विमोचन गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.