|

  • रमेश पराजुली-

सिन्धुपाल्चोक: ढुंगामाटोले बनेको एक तले (चोटासहितको) घर। बाहिर बरण्डा र बरण्डासँगै ह्विलचियर गुड्न मिल्ने तीन फिट चौडाइ भएको र्‍याम्प (छड्के सतह)। र्‍याम्पको छेउपट्टि फलामको स्क्वाएर पाइपको रेलिङ। संघार वा ठेलोविनाको तीन फिट चौडाइसहितको ढोका र ह्विलचियर घुम्नका लागि आवश्यक ठाउँको प्रबन्ध। 

झ्याल–ढोकाका चौकोसमा ठाडो बन्धनसहित घरको भुइँदेखि छानोसम्म बन्धन। भित्रपट्टि पूरै र बाहिर बन्धनमा मात्रै गरिएको प्लाष्टर। रङ लगाएर बस्नलायक बनाइएको आकर्षक घर। 

सिन्धुपाल्चोकका दुवाचौर, बाँसखर्क, बरुवा, भोताङ, लाँगर्चे र थकनीमा यस्तै प्रकारका एक एकवटा घर तयार भइसकेका छन्। यी घरहरू कसैलाई आवासका लागि तयार पारिएको होइन। सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले नमुनाको रूपमा अपाङ्गता भएका, जेष्ठ नागरिक, बालबालिका तथा सुत्केरी र गर्भवती महिलाका लागि सहज पुहँच पुग्ने खालका घरहरू बनाएको हो।

भूकम्पपछिको पुनर्निर्माणका क्रममा अब बन्ने घरहरू पनि यस्तै प्रकारले पहुँचयुक्त बनाउन समुदायलाई प्रेरणा मिलोस् भन्ने उद्देश्यले नमुना घर बनाएको आत्मनिर्भर केन्द्रका कार्यक्रम संयोजक विनोद शर्मा बताउँछन्। 

‘थकनी, दुवाचौर, बाँसखर्क, बरुवा, भोताङ र लाँगर्चेमा गरी छवटा पहुँचयुक्त नमुना भवन बनिसकेका छन्। यिनको अवलोकनबाट समुदायले भूकम्प प्रतिरोधी निर्माण प्रविधि र पहुँचयुक्त आवास निर्माणका बारेमा आवश्यक जानकारी लिन सक्छन्।’ ‘२७ फिट लामो घरमा झण्डै दुई फिट मात्रै अग्लो हुने गरी र्‍याम्प बनाइएको छ। नयाँ बन्ने घरहरू सबैका लागि मैत्रीपूर्ण र पहुँचयुक्त भए भने विपद्को अवस्थामा सुरक्षित हुन, सुरक्षित ठाउँमा जानका लागि सहज हुन्छ’, संयोजक शर्माले थपे, ‘हामी नमुना घरबाट यही सन्देश समुदायसम्म पुर्‍याउन चाहन्छौँ।’

नमुना घरसँगै सूचना केन्द्र र शौचालयसमेत पहुँचयुक्त बनाइएको छ। शौचालय जानका लागि पनि र्‍याम्प र रेलिङ बनाइएको छ भने तीन फिट चौडाइसहितको ढोका बनाइएको छ। भित्र पनि ह्विलचियर सजिलै घुम्नका लागि पर्याप्त ठाउँ राखिएको हुँदा दुई कोठे शौचालय पनि सानोतिनो घर जत्रै बनेको छ। न्यूनतम पूर्वाधारसहितको सूचना केन्द्र भएकोले सूचना केन्द्रको अवलोकन गर्न र सुरक्षित घर निर्माणका बारेमा प्राविधिक सल्लाह लिन आउनेहरू पनि बढेको केन्द्रले जनाएको छ।

चोटोसहितको पहुँचयुक्त नमुना भवन र दुई कोठे शौचालय निर्माणका लागि झण्डै १५ लाख रूपैयाँ लागेको संयोजक शर्माले बताए। ‘नमुना घर निर्माणका लागि १२ लाख र दुई कोठे शौचालय निर्माणका लागि तीन लाख गरी झण्डै १५ लाख रूपैयाँ खर्च भएको छ’, उनले भने, ‘पहुँचयुक्त संरचना बनाउन सम्पूर्ण सामग्री बाहिरबाटै खरिद गर्नुपरेकोले अलि बढी नै खर्च भएको हो।’ भत्किएका घरको ढुंगा, काठलगायतका स्थानीय सामग्री प्रयोग गरेर बनाउने हो भने खर्चलाई झण्डै एक तिहाई घटाउन सकिने उनको भनाइ छ।

केयर नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँगको साझेदारीमा सञ्चालन भइरहेको ‘सबल समुदाय सुरक्षित बासस्थानः स्वनिर्माणको प्रवर्द्धन कार्यक्रम’अन्तर्गत थकनीमा बनेको पहुँचयुक्त संरचनाबाट अध्यक्ष दमैसिंह (मार लामा) तामाङ पनि सन्तुष्ट देखिए। उनले भने, ‘कस्तो घर बनाउने भन्ने अलमलमा पर्नुभएका व्यक्तिले नमुना घर र सूचना केन्द्रको भवन हेरे पुग्छ।’

सूचना केन्द्रमा पनि टीभी, कम्प्युटर, प्रिन्टरलगायत श्रव्यदृश्य सामग्रीसमेत भएको र एक जना सवइन्जिनियर, सामाजिक परिचालक र डकर्मीसमेत खटाएको हुँदा निजी घर निर्माणकर्ताले सजिलै प्राविधिक सहयोग पाएका उनी बताउँछन्।

सरकारले अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ जारी गरे पनि यसको पूर्ण कार्यान्वयन भइसकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.