बाढी पहिरोपीडितको उद्धार कार्यमा खटिन मोर्चा संगठनहरूलाई निर्देशन

|

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केही दिनयता भइरहेको अविरल वर्षासँगै आएको बाढी पहिरो तथा कोसी ब्यारेजका कारण पूर्वका धेरै जिल्लाहरू डुबानमा परेको भन्दै यथाशीघ्र कूटनीतिक पहल गरी ब्यारेजका ढोका खोल्नका लागि सरकारसँग आग्रह गरेको छ।

एमाले मोर्चा संगठनको एमाले सचिव तथा विभागका प्रमुख गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको मोर्चाको बैठकले मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जलि तथा समवेदना व्यक्त गर्दै वर्षाका कारण देशका विभिन्न भागहरूमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। 'समयमै कोसी बाँधका ढोकाहरू नखोल्दा पूर्वी तराईमा विकराल समस्या उत्पन्न भएको छ', विष्टले भने।

'यस परिस्थितिमा तुरुन्तै कूटनीतिक पहल गरी बाँधका ढोकाहरू खोल्नुपर्ने दायित्वप्रति सरकारले समयोचित कदम चाल्न नसकेको प्रति बैठकले दुःख व्यक्त गरेको छ', एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। एमालेले राज्यको सम्पूर्ण शक्ति पीडितहरूको उद्धार, राहत तथा पुनर्व्यवस्थापनमा लगाउन माग गरेको छ।

राहत तथा उद्धारका लागि मोर्चा संगठन खटाइयो

यसैबीच बैठकले विभिन्न जिल्लाहरूमा राहत र उद्धारको काममा समन्वय गर्न आफ्ना मोर्चा संगठनहरूलाई विभिन्न जिल्लाहरूमा जिम्मेवारी दिएर खटाएको छ।

सप्तरीमा युवासंघ नेपाल र भूमिहीन सुकुम्वासी संगठन, सिरहामा अनेरास्ववियु, धनुषामा अखिल नेपाल महिला संघ, महोत्तरीमा लोकतान्त्रिक मधेसी संगठन र लोकतान्त्रिक आदिवासी जनजाति महासंघलाई खटाएको छ।

यस्तै, सर्लाहीमा अखिल नेपाल किसान महासंघ, रौतहटमा नेपाल बुद्धिजीवी परिषद् र मानवअधिकार एलान्यस, बारामा खेलकूद महासंघ, पर्सामा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), झापामा जनसाँस्कृति महासंघ र मुक्ति समाज, मोरङमा पेसागत महासंघ  नेपाल, सुनसरीमा उद्योग व्यवसायी महासंघ र प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठनलाई जिम्मेवारी दिइएको छ।

यसैगरी बर्दियामा भूपू सैनिक संगठन, बाँकेमा मानवअधिकार एलान्यस, कपिलवस्तुमा मुस्लिम इत्तेहाद संगठन र लोकतान्त्रिक अपाङ्ग संघलाई जिम्मेवारी दिइएको छ।

बैठकले ती जिल्लाहरूमा एमालेका जिल्ला कमिटी, जनसंगठनका स्थानीय कमिटीहरू, रेडक्रसलगायतका विभिन्न सामाजिक संघसंस्थाहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासनलगायतसँग समन्वय गरी तत्कालै उद्धार र राहत कार्यमा जुट्न सम्पूर्ण जनसंगठन र सदस्यहरूलाई निर्देशन गरेको छ।

यसैगरी, बैठकले प्रदेश नं. २ मा हुने स्थानीय तहको निर्वाचन तयारीका लागि भदौ १० गते काठमाडौँ उपत्यकामा रहेका सम्पूर्ण मोर्चा संगठनका सदस्यहरूको वृहत भेला गर्ने, १३ गते धनुषाको जनकपुरमा प्रदेश नं. २ स्तरको मोर्चा संगठनको वृहत भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.