|

बाँकेः घरको छेउमा डुडुवा खोलामा बाढीको भेल उर्लिरहेको छ। खोला छेउमै रहेको हाते पम्पमा डुडुवा गाउँपालिका– २, उत्तरवाणीकी ६२ वर्षकी रूपरानी लोनिया भाँडा माझिरहेकी छन्। राप्ती नदी र खोलाको बाढी मिसिएर लोनियाको हाते पम्प पूरै डुबेको थियो। शनिबार साँझ मात्र सो पम्प बाढीबाट निस्केको रूपरानीले बताइन्। 

बाढी आएपछि पम्पको पानी पनि माथि आएको छ। पम्पको पानी धमिलो भएको छ। बाढी आएदेखि पम्पको पानी धमिलो आउन थालेको स्थानीय विश्राम लोनियाले बताए। उनले अन्य विकल्पको अभावमा त्यही धमिलो पानी पिउन बाध्य भएको बताए। ‘जताततैको हाते पम्पमा बाढी पसेको छ, यही पम्पको पानी नपिएर सुख छैन’, विश्रामले भने। 

सबैको पम्पमा धमिलो पाउने आउने गरेको डुडुवा गाउँपालिका– २, वेतहनीका संजय यादवले बताए। बाढी पसेको पम्पको पानी पिउन थालेपछि त्यहाँ रुघाखोकी र ज्वरोका बिरामी बढेको यादवले जानकारी दिए। शनिबार बिहान गाउँमा राप्ती नदी र डुडुवा खोलाको बाढी पसेको थियो। ‘सबैतिर रुघाखोकी र ज्वरोका बिरामी बढेका देखिन्छ’, यादवले भने, ‘बिरामी हुनेमा बालबालिका र वृद्धवृद्धा बढी छन्।’

पानी शुद्धीकरण गरेर पिउनुपर्ने जानकारी भए पनि पम्पको धमिलो पानी शुद्धीकरण नगरी पिउने गरेको डुडुवा गाउँपालिका– २, बेतहनीका जैमुख खाँले बताए। उनले पानी उमालेर पिउनुपर्ने जानकारी आफूहरूलाई भए पनि उमाल्ने ठाउँ र दाउरा नभएको समस्या सुनाए। 

खाना पकाउनका लागि राखेको दाउरा बाढीले बगाएको भन्दै उनले बचेको दाउरा भिजेकाले खाना पकाउन समस्या भएको बताए। ‘भात पकाएर खान त सकिएको छैन, पानी उमालेर पिउन सक्ने कुरै भएन’, जैमुलले भने। 

उनले यहाँका मानिस जानीजानी धमिलो पानी पिउन बाध्य भएको बताए। ‘पानी शुद्धीकरण गर्ने र उमालेर पिउने हामीलाई थाहा छ, तर के गर्ने शुद्धीकरण गर्ने चिज र पानी उमाल्ने सामान नै छैन’, उनले भने। 

बाढीपीडितको अर्कैको घरमा बास
बाढीले घर बगाएपछि राप्ती–सोनारी गाउँपालिका– ७, मोहनपुरकी विद्या गुरुङको बास अर्कैको घरमा भएको छ। उनले शनिबार बिहानदेखि घरमा पाइला टेक्न नपाएको बताइन्। ‘वर्षा नरोकिएकाले घरमा जान सक्ने अवस्था छैन, छिमेकीको घरमा बसिरहेकी छु’, गुरुङले भनिन्। 

उनी जस्तै राप्ती–सोनारी गाउँपालिका– ७, शान्तिपुरकी सावित्री सरदारको पनि छिमेकीको घरमा बास भएको छ। साउन २८ गते बिहान राप्ती नदीमा आएको बाढीले घर बगाएपछि उनी छिमेकीको शरणमा छन्। ‘घरसम्म जान खोज्यो फेरि बाढी आउन थाल्छ, अहिलेसम्म जान सकिएको छैन’, उनले भनिन्। 

‘रातभर आफू भिजेर बच्चालाई जोगाएँ’ 
डुडुवा गाउँपालिका– २, बेतहनीका जसोमद लोनियाको परिवार भने पाल टाँगेर बसिरहेको छ। सबैको घर बाढीले भत्किएर जाने ठाउँ नभएपछि पाल टाँगेर बसिरहेको लोनियाले बताइन्। उनले काखमा बच्चा च्यापेर रात बिताएको सुनाइन्। ‘हाम्रो जस्तै अरूको घरमा पनि बाढी पसेकाले जाने ठाउँ छैन’, उनले भनिन्, ‘त्रिपालमा बसे पनि रातभर पानी चुहियो, आफू भिजेर भए पनि बच्चालाई जोगाएँ।’ एक पटक आँखा नझिम्क्याई रात कटेको जसोमदको भनाइ छ।

डुडुवा गाउँपालिकाकै टेपरीका रामसुहावन मौर्यले पनि पाल टाँगेर गुजारा गरिरहेको बताए। आज गएर भोलि फेरि आउनुपर्ने भएकाले इष्टमित्रकहाँ नगएको उनले बताए। ‘छरछिमेकको घरमा पनि बाढी पसेको छ, इष्टमित्रलाई दुःख दिन मन नलागेर कतै गएनौँ’, मौर्यले भने।

दुई दिनदेखि भोकभोकै 
दुई दिनदेखि खान नपाएको राप्ती–सोनारी गाउँपालिका– ७, पहाडीपुरकी उषा चौधरीले बताइन्। उनले जिल्ला दैवी प्रकोप उद्धार समितिले दिएको राहत सामग्रीसमेत नपाएको बताइन्। ‘शनिबार बिहानदेखि खान पाइएको छैन, सरकारले राहत सामग्री (भुजा, चिउरा, दालमोठ, चाउचाउ) पठाएको भने पनि अहिलेसम्म पाइएन’, उनले गुनासो गरिन्। 

धमिलो पानी पिउन बाध्य भएको डुडुवा गाउँपालिका– ४, सिस्वाकी भागीरथी चौधरीको पनि गुनासो छ। पकाएर खाने सबै सामान राप्ती नदीले बगाएर लगेपछि उनको पनि हालत बनेको छ। ‘गाउँका अन्नपात सबैको बगाएर लग्यो, पकाउने भाँडाकुँडासमेत छैन’, उनले भनिन्। 

बाढी प्रभावित क्षेत्रका विद्यालय बन्द
बाढीका कारण बाँकेका निजी विद्यालय बन्द गरिएको छ। निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याब्सन) बाँके र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन–प्याब्सन) बाँकेले जिल्लाका सम्पूर्ण निजी विद्यालय बन्द आह्वान गरेपछि यहाँका विद्यालय बन्द भएका हुन्। 

बाढीका कारण असहज अवस्था सृजना भएका कारण विद्यालय बन्द गरिएको प्याब्सन बाँकेका सचिव यम रावतले जानकारी दिए। उनले सम्पूर्ण विद्यालय संचालकलाई बाढीपीडितको उद्धारमा जुट्न आह्वान पनि गरे। बाँकेमा एक सयभन्दा बढी निजी विद्यालयमा ५० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

प्याब्सन र एन–प्याब्सनले विज्ञप्ति नै जारी गरेर औपचारिक रूपमा विद्यालय बन्द आह्वान गरेपछि निजी विद्यालय बन्द भए पनि बाँकेका अधिकांश सरकारी विद्यालय पनि बाढीका कारण बन्द भएका छन्। बाढी प्रभावित क्षेत्र डुडुवा, राप्ती–सोनारी र नरैनापुरका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन्।

कतिपय विद्यालयमा बाढीपीडितले आश्रय लिएका छन् भने कतिपय विद्यालय डुबानमा परेका छन्। बाढीका कारण धेरै बालबालिका प्रभावित भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। ‘भारी वर्षा र बाढीका कारण अध्ययन, अध्यापन गराउन नसक्ने भएपछि विद्यालय बन्द आह्वान गरिएको छ’, सहायक जिल्ला शिक्षा अधिकारी गोरखबहादुर थापाले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.