कमला नदीमा यस वर्षकै उच्च बहाव, सचेत रहन प्रशासनको आग्रह

|

  • बुद्धकुमार आछामी-

सिन्धुलीः मध्यरातमा आएको पहिरोले घर पुर्दा सिन्धुलीमा शनिबार एकै परिवारका चार जनाको मृत्य भयो। दुई जना बाढीले बगाउँदा घाइते भए। लगातारको वर्षाका कारण दर्जनौँ परिवार बिस्थापित भएका छन्।

वर्षाका कारण दूधौली नगरपालिका– ५ स्थित सिर्थौलीमा सिर्थौली अस्पतालमा कार्यरत कार्यालय सहयोगी ईन्द्रबहादुर पौडेलका दुईवटा घर शनिबार राती पहिरोले पुरेको छ। रातको समयमा पहिरो जाँदा चार जनाको परिवार भागेर ज्यान जोगाउन सफल भएको जिल्ला समन्वय समिति सिन्धुलीकी सदस्य विन्दा परियारले बताइन्। 

उनका अनुसार पौडेल परिवार घर पहिरोले पुरेपछि छिमेकी कमल कटवालको घरमा आश्रय लिएर बसेका छन्। ‘घरमाथिबाट आएको पहिरोले घर पुरेपछि पौडेलका चार जना परिवार आधारातदेखि नै छिमेकीको शरणमा छन्’, उनले भनिन्, ‘उनीहरूको घरमा भएका सरसामानमा समेत क्षति पुगेको छ। बस्तुभाउसमेत जोगाउन मुस्किल भएको छ।’ 

वर्षाका कारण बस्तीमा पहिरो जान थालेपछि सिर्थौलीकै अँधेरीखोलास्थित धनबहादुर खत्री र अर्का एक जनाको घर जोखिममा परेका छन्। उनीहरूलाई पनि सुरक्षित स्थानमा सर्न आग्रह गरिएको उनले बताइन्।

कमला नदीका कारण सिर्थौलीस्थित डकाहा नजिकैको मुसहर बस्ती पनि उच्च जोखिममा परेको छ। ‘यहाँ कमला नदी किनारमा दश घरभन्दा बढी मुसहर बस्ती रहेको छ। उनीहरूको बस्ती नै नदीको त्रासमा छ’, उनले भनिन्, ‘कमला नदीमा आएको बाढीका कारण दुई दिनदेखि उनीहरूले शुद्ध खानेपानी खान पाएका छैनन्।’

उता, कमला नदीमा आएको बाढी कमलाखोँचस्थित दूधौली नगरपालिकाका निपाने, हत्पते, टाँडी, हर्षाही, सिर्थौलीलगायतका क्षेत्रका बस्तीतर्फ पस्ने खतरा बढेको स्थानीय तथा पूर्व गाविस अध्यक्ष घनश्याम बस्नेतले बताए। 

उनले भने, ‘कमला नदीमा यस वर्षकै ठूलो बाढी आएको छ। यसले धार परिवर्तन गर्ने खतरा बढेको छ।’ अझै वर्षा भइरहे कमलाखोँच क्षेत्रको हजारौँ हेक्टर जमिन कटान गर्नुका साथै सयौँ घरहरू बगाउने अवस्था रहेको उनको भनाइ छ।

कमला र मरिण नदीमा यस वर्षकै सबैभन्दा ठूलो बाढी आएको छ। बाढीले स्थानीयमा त्रास सिर्जना गरेको छ। कमला र मरिणमा आएको बाढीले खेतीयोग्य जमिनसँगै बस्ती नै डुबाउने खतरा बढेको स्थानीयले बताएका छन्। 

यहाँ मात्र होइन, जिल्लाका अधिकांश क्षेत्रमा बाढीले मुहानमा क्षति पु¥याउँदा खानेपानीको समस्या भएको छ। बाढीले खानेपानीको मुहान, कुवा, इनारमा क्षति पु¥याएको छ। कमला नदीमा आएको बाढीले कमलाखोँच क्षेत्रसँग जिल्ला सदरमुकामको सम्बन्ध टुटेको छ। कमला नदीमा पुल नहुँदा जिल्लाको झण्डै आधा भूभाग जिल्ला सदरमुकामसँग जोडिन नसेकेको हो।

बिरामीलाई उपचारका लागि अन्यत्र लैजानुपरे प्रहरीले चुनौती मोलेर कमला नदी वारपार गराउने गरेको पूर्व अध्यक्ष बस्नेतले बताए।

जिल्लाका प्रायः सबै भूभागमा वर्षा हुँदा पहिरोको त्रास बढेको छ। पहिरोको कारण कमलामाई नगरपालिकाका वडाहरू २, ३, ४, ५ मा पहिरोको त्रास बढेको छ। बस्तीमाथि र तलबाट पहिरो बग्न थालेपछि घरमा बस्नै त्रास बढेको कमलामाई नगरपालिका– ४ का स्थानीय तथा सञ्चारकर्मी श्यामहरि अधिकारीले बताए। 

पानीका कारण जमिन गलेर पहिरो बग्ने खतरा भएपछि वडाका झण्डै एक दर्जन परिवार बिस्थापित हुने अवस्था आएको कमलामाई नगरपालिका– ३ का वडा सदस्य तुलसी आचार्यले बताए। ‘गाउँका प्रायः सबै बस्तीमा त्रास छ’, उनले भने, ‘एक दर्जनजति स्थानीयको घरको तल र माथिबाट पहिरो बग्न थालेपछि बिस्थापित हुने अवस्था आएको छ।’

जिल्लाको मरिण क्षेत्रमा पनि उस्तै अवस्था रहेको छ। मरिण नदीमा महाभारतको शिरदेखि बाढी उर्लेर आउँदा खोला तटीय क्षेत्रका बासिन्दामा त्रास बढेको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए।

‘बाढी र पहिरोका कारण मरिण क्षेत्रका अधिकांश सडक, खानेपानीलगायतमा क्षति पुगेको छ’, उनले भने, ‘वर्षा भइरहेकाले स्थानीयमा त्रास बढेको छ।’
जिल्लामा भूकम्पले क्षति पु¥याएका महाभारत क्षेत्रका अधिकांश पहाडहरू बग्ने खतरामा रहेका छन्।

जिल्लामा हालसम्म चार जनाको बाढीका कारण ज्यान गइसकेको भन्दै बाढी पहिरोबाट हुन सक्ने संभावित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सचेतता अपनाउन भनेको छ। संभावित दुर्घटनालाई मध्यनजर गर्दै उद्धार, राहतको लागि प्रशासन तथा सुरक्षा निकाय तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.