|

पहाडका जिल्लाहरूमा पहिरो र तराई-मधेसका जिल्लाहरूमा बाढीले जनजीवन अस्तव्यस्त बनाइरहेका बेला दुईवटा प्रश्नहरू उठेका छन्। पहिलो, राज्य कहाँ छ? र दोस्रो, मधेसका नेता कहाँ छन्?

अपेक्षा त्योसँग गरिन्छ, जोसँग लगाव हुन्छ। जब राष्ट्रिय विपत्ति पर्छ, त्यो बेला कुनै समुदाय, समूह, दल वा क्षेत्र गौण हुन्छन्। मधेसका नेताहरू पनि राज्यभित्रै पर्छन्। त्यसैले स्वयं राज्य नै उपस्थित भएपछि अमूक नेता वा पार्टी उपस्थित छ/छैन भनेर गाली गर्नुभन्दा राज्यले उद्धार तथा राहतमा गरिरहेको प्रयासमा सबैले सहयोग गर्नु समस्याको समाधान हो।

कुनै बेला उत्तेजनामा सरकार नै चाहिन्न, हामी अलगै हौँ भन्नेजस्तो भावना पनि देखियो। अहिले राज्यको उपस्थित खोजिँदै छ। जब बाढी र डुबानको विपत्ति आइलाग्यो, मधेसले सरकारबाट आशा, भरोसा र अपनत्व खोजेको छ। यो सलाम गर्नलायक छ। जसरी नागरिकले भावनात्मक एकता देखाएका छन्, त्यसरी नै सरकारले पनि आफ्नो अभिभावकीय भूमिका देखाउन सक्नुपर्छ।

तर त्योभन्दा महत्त्वपूर्ण कुरा के हो भने यतिबेला राज्यको मुख ताक्नेभन्दा पनि आफ्नो गाउँठाउँमा आफू पनि बाँच्ने र अरूलाई पनि बचाउने उपाय आफैँ निकाल्नुपर्ने हुन्छ। यतिबेला मुख्य भूमिका युवाहरूको हुन्छ। बाटो भत्केको छ, बिजुली छैन, सञ्चारका साधनहरूले काम गरिरहेका छैनन्, यतिसम्म कि मानिस कहाँ फसेको छ भन्ने पनि यकिन छैन। त्यसैले युवाहरूले आफूलाई पनि सुरक्षित राख्ने र आफ्नो घरपरिवार र समाजलाई पनि सुरक्षित राख्न पहल लिनुपर्छ।

मधेसमा बाढी र डुबान नयाँ समस्या होइन। हामी वर्षौँदेखि यो समस्या भोगिरहेका छौँ। यो समस्यासँग कसरी जुध्ने भन्ने पनि हामीलाई थाहा छ। तर यो वर्ष अघिल्ला वर्षहरू भन्दा धेरै नै पानी परेको छ। अहिलेको मुख्य समस्या भनेको राती बाढी आउँछ कि भन्ने हो। राती बाढी आउँदा जनजीवन सबैभन्दा बढी अस्तव्यस्त हुन्छ। त्यसैले सुत्दा सबैजना एकैचोटि सुत्नुभएन, पालो गरी सुत्नुपर्‍यो। यसो गर्दा जागा रहनेहरूले राती बाढीको विपत्ति आएमा अरूलाई सचेत गराउन र समयमा सुरक्षित स्थानमा पुर्‍याउन सकिन्छ।

यही मौका हो भनेर ब्यानर देखाएर प्रचार प्रसार गर्नेमा भन्दा पनि मानवता र समाज ठूलो हो भन्ने भावना सबैले राख्नुपर्ने हुन्छ। विभाजित समाज र मनोविज्ञानलाई जोड्ने भनेको यस्तै विपत्तिको बेला हो।

प्राकृतिक प्रकोपका बेला सबैभन्दा समस्या बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धाहरूलाई हुन्छ। उनीहरूको सुरक्षामा सबैभन्दा बढी संवेदनशीलता अपनाउनुपर्ने हुन्छ। बालबालिकाहरू पानी जमेको ठाउँमा जाने, खेल्ने गर्न सक्छन्। सरकारी संयन्त्रले पनि राहत तथा उद्धारका काममा यो समूहलाई बढी ध्यान दिनुपर्ने हुन्छ। अर्को कुरा, माटोले बनेका घरहरूमा पनि ध्यान दिनुपर्ने हुन्छ। सर्पको समस्या सबैभन्दा बढी माटोकै घरहरूमा हुन्छ। त्यसैले सर्प भगाउन गुइँठा आदि बाल्ने गर्नुपर्ने पनि हुन्छ।

जबजब बाढी, पहिरो वा डुबान जस्ता प्राकृतिक विपत्तिहरू आउँछन्, राहत उठाउनेहरू सक्रिय हुन्छन्। राहत उठाउनुपर्छ तर राहतका नाममा ठूलो भ्रष्टाचार हुन्छ। यो हाम्रो सामाजिक रोग नै भयो। त्यसैले राहत उठाउँदा एकद्वार प्रणालीबाट उठाउनुपर्छ। हरेक जिल्लाहरूमा दैवी प्रकोप राहत समिति हुन्छन्। राहत सामग्री ती समितिमार्फत् नै प्रभावित क्षेत्रमा लैजानुपर्छ। उनीहरूले राहत वितरणमा प्राथमिकता निर्धारण गरेका हुन्छन्। आफूखुसी राहत सामग्री वितरण गर्दा मुख्य प्रभावितले राहत नपाउने संभावना पनि हुनसक्छ।

यही मौका हो भनेर ब्यानर देखाएर प्रचार प्रसार गर्नेमा भन्दा पनि मानवता र समाज ठूलो हो भन्ने भावना सबैले राख्नुपर्ने हुन्छ। विभाजित समाज र मनोविज्ञानलाई जोड्ने भनेको यस्तै विपत्तिको बेला हो। बाढीबाट धेरैले ज्यान गुमाएका छन्, कति घाइते भएका छन्। घाइतेहरूको उपचारमा सबैभन्दा बढी संवेदनशीलता अपनाउनुपर्ने हुन्छ। अस्पतालहरूले यस्तो बेला शुल्कको कुरा गर्नुहुँदैन। पैसा नहुनेहरूलाई निःशुल्क उपचार गर्नुपर्छ। कसैसँग उपचार खर्च नभएमा पछि दिनेगरी भए पनि उपचार गर्न स्वास्थ्य संस्थाहरू संवेदनशील हुनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.