|

काठमाडौँ: महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले देशमा परेको प्राकृतिक बिपत्तिमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता तोयम रायाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगत केही दिनयता देशमा भएको निरन्तरको वर्षाका कारण बिपत्तिमा पर्नेहरूमा सबैभन्दा धेरै महिला, बालबालिका, अपांग र जेष्ठ नागरिकहरू रहेका भन्दै उनीहरूलाई तत्काल उद्धार गरी राहतको लागि सहयोगमा जुट्न सबैलाई अनुरोध गरेका छन्। 

‘प्राकृतिक बिपत्तिको मारमा परेका वर्ग, समुदाय र व्यक्तिलगायतको उद्धारमा विशेष संवेदनशील बन्न तथा बिपत्तिपछि देखापर्ने आर्थिक, सामाजिक, स्वास्थ्यलगायतका संकटमा सहयोग गर्न सबै नागरिक एवं राष्ट्रिय अन्तर्राष्ट्रिय सरकारी गैरसरकारी संस्थाहरूमा अनुरोध गर्दछौँ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

नेपालमा रहेका सबै सामाजिक संघसंस्थाहरूलाई प्राकृतिक बिपत्तिमा सहयोगका लागि विशेष पहल गर्न तथा समाजकल्याण परिषदबाट समेत सबै संघसंस्थाहरूसँग समन्वय गरी आबश्यक राहत, उद्धार तथा पुन:स्थापनाका कामको सहजीकरण गर्न निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ।

‘प्राकृतिक प्रकोपले सबै क्षेत्र, समुदाय प्रभावित रहेको अवस्था रहे पनि प्रकोपको सबैभन्दा जोखिम र प्रभाव सहनुपरेका शारीरिक रूपमा अशक्तता भएका व्यक्ति, महिला, जेष्ठ नागरिक र बालबालिकालाई राहत तथा प्रकोपपश्चात देखापर्ने स्वास्थ्यलगायतका समस्या समाधानका लागि आवश्यक सहयोग गर्न सबैमा अनुरोध गर्न चहन्छौँ’, विज्ञप्तिमा भनिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.