|
फोटो : रोशन सापकोटा/रासस

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालले असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय चुनावमा आफूहरुले छाता चुनाव चिह्न नै पाउनुपर्ने अडान राखेको छ। आइतबार सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँगको बैठकमा राजपाका नेताहरुले छाता  चिह्न राख्न माग गरेका हुन्।

तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी, मधेसी जनाधिकार फोरम नेपाल गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएर केही महिनाअघि राष्ट्रिय जनता पार्टी गठन भएको थियो। उक्त दलले आफ्नो चुनाव चिह्न छाता राखेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले छाता चुनाव चिह्न दिन सकिने वा नसकिने विषयमा परामर्श गर्न बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित निर्वाचन आयोगका पदाधिकारीहरुलाई पनि बोलाएका थिए।

बैठकमा प्रमुख निर्वाचन आयुक्त यादवले छाता चुनाव चिह्न राख्नका लागि फेरि अर्को मतपत्र छाप्नुपर्ने भन्दै अब संवैधानिक र व्यवहारिक रुपमा पनि नमिल्ने बताएका थिए। उनले राजपा एकताअघि रहेका ६ दलमध्ये कुनै एक दलको चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन प्रस्ताव गरेको बैठकपछि पत्रकारहरुलाई जानकारी दिए।

तर राजपा नेताहरुले उक्त प्रस्ताव अस्वीकार गर्दै छाता चुनाव चिह्न नै पाउनुपर्ने अडान राखे। 'हामीले छाता चुनाव चिह्न लिएर लड्न पाउनुपर्ने संवैधानिक अधिकार हो, प्राविधिक र संवैधानिक विषय हामीलाई सरोकार छैन' अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पत्रकारहरुसँग भने।

मंगलबार संविधान संशोधन विधेयक पेश गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो मंगलबारको संसद बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने प्रतिवद्धता जनाएका छन्। बैठकमा राजपाका नेताहरुले आइतबार नै संविधान संशोधन प्रस्ताव पेश गर्ने भनिए पनि संसद बैठक मंगलबार राखिएको भन्दै मंगलबार पेश हुन्छ कि हुँदैन भनि प्रश्न गरेका थिए।

जवाफमा प्रधानमन्त्री देउवाले मंगलबारको संसद बैठकमा विधेयक पेश हुने जानकारी गराएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए। राजपाका नेताहरुले मुद्दा फिर्ता, निवृत्तिभरण लगायत सरकारले गर्नुपर्ने अन्य कामहरु बाँकी रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.