|

विराटनगरः अविरल वर्षाका कारण बाढी पहिरोले पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र सप्तरीमा २० जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्। 

पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरले दिएको जानकारीअनुसार बाढीले झापामा चार, मोरङमा छ, सुनसरीमा आठ जना गरी १८ जना तथा पहिरोले पाँचथरमा एक र इलाममा एक जनासहित दुई जना गरी जम्मा २० जनाको मृत्यु भएको छ। 

त्यस्तै, बाढी पहिरोमा परी बेपत्ता हुनेमा पाँचथरमा तीन, झापामा चार, मोरङमा तीन, सुनसरीमा छ र सप्तरीमा एक जना रहेका छन्।

वर्षाले झापाको मेचीनगर, दमक, विर्तामोड, भद्रपुर, गौरादह, शिवसताक्षी, अर्जुनधारा, कन्काई नगरपालिका, झापा, गौरीगञ्ज, हल्दिवारी, कमला, बाह्रदशी गाउँपालिकामा क्षति पु¥याएको छ। मोरङमा विराटनगर महानगरपालिका, बेलबारी रंगेली, रतुवामाई, सुनवर्सी नगरपालिका, धनपालथान, कटहरी, बुढीगंगा, मिक्लाजुङ गाउँपालिकाका अधिकांश ठाउँ डुबानमा परेका छन्। 

सुनसरीको इनरुवा, इटहरी, साहेवगंज, भोक्राहा, नरसिंहटप्पु, सप्तरीको राजविराज, हनुमान नगर कंकालिनी, तिलाठी कोइलाडी, शम्भुनाथ, रुपनी, कृष्णसरवण, बोदेबर्साइन कंचनपुरका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ। 

बाढी पहिरोले पाँचथर, झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा ४८ घर पूर्ण क्षतिग्रस्त भएका छन्। 

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि पूर्व क्षेत्रीय तालिम केन्द्र, क्षेत्रीय सशस्त्र प्रहरी गण, दंगा नियन्त्रण प्रहरी गण, सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा स्थानीय प्रहरी इकाईबाट समेत गरी चार हजार ५०० भन्दा बढी संख्यामा प्रहरी परिचालन भएको क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ। 

बाढी पहिरो प्रभावित करिव आठ हजार जनालाई उद्धार गरी विभिन्न स्थानमा राखिएको प्रहरीले जानकारी दिएको छ। बाढी प्रभावित जिल्लामा क्षेत्रीय प्रशासकको नेतृत्वमा सुरक्षा निकायका प्रमुखसहितको क्षेत्रीय विपद व्यवस्थापनका टोली आइतबार राहत तथा उद्धारमा खटिएका छन्। 

सबै क्षेत्र अस्तव्यस्त
अत्यधिक वर्षाका कारण पूर्वका अधिकांश ठाउँको संचार सेवामा अवरोध पुगेको छ। नेपाल टेलिकमको ल्याण्ड लाइन टेलिफोन केही समय सूचारु भए पनि नियमित सुचारु हुन सकेको छैन। यस्तै, एनसेल तथा एनटीसीको मोबाइल सेवा पनि शनिबारदेखि नै अवरुद्ध छ। 

अत्यधिक वर्षाका कारण मानिसलाई हिँडडुलमा समस्या भएको छ। यातायातका साधन कम चलेका छन्। पीडितको यकिन तथ्यांक सार्वजनिक हुन अझै सकेको छैन। प्रहरी तथा अन्य सरोकारवाला निकाय स्वयं अन्योलग्रस्त बनेका छन्। राहत र उद्धार कसरी र कहाँबाट सुरु गर्ने भन्ने विषयमा प्रष्ट निर्देशन या निर्णय नहुँदा पीडित अझै समस्यामा परेका छन्। 

विराटनगरको आयल निगमको डिपो जलमग्न छ। सुनसरीको दुहबी ग्रिडमा पानी पसेका कारण विद्युत् लाइन शनिबारदेखि अझै सुचारु हुनसकेको छैन। विद्युत्को अभावका कारण यहाँका उद्योगधन्दा तथा कलकारखाना पनि चल्न सकेका छैनन् । विद्युतका पोल विभिन्न ठाउँमा लडेका छन्। विराटनगर एयरपोर्टमा पानी जमेको छ, जसका कारण यहाँको उडान अवरुद्ध छ। 

औद्योगिक करिडोर पनि डुबानमा
सुनसरी–मोरङ औद्योगिक करिडोरका दर्जनौँ उद्योग डुबनामा परेका छन्। डुबानबाट औद्योगिक क्षेत्रमा करोडौँ मूल्य बराबरको क्षति भएको उद्योग संगठन मोरङले जनाएको छ।

मोरङको कटहरी औद्योगिक करिडोरका धेरै उद्योगमा पानी पसेको र तयारी समान राखिएका गोदाम तथा मेसिनहरू समेत पानीमा डुबेको उद्योग संगठन मोरङले जनाएको छ। उद्योग घरहरूसमेत जलमग्न भएका छन्।

संगठनका अध्यक्ष मुकेश उपाध्यायका अनुसार अरिहन्त मल्टिफाइबर्स, रिलायन्स स्पिनिङ मिल्ससहित सुनसरीमा कोसी राजमार्गसँगै रहेका धेरै उद्योग डुबेका छन्। वर्षाको पानी उद्योगको पर्खाल ढलाएर सो क्षेत्रमा पसेको छ। उपाध्यायले भेल गोदाममा पसेकोले क्षति धेरै भएको अनुमान गरे।

कटहरी क्षेत्रका खाद्यान्न, तेल, चाउचाउ, साबुन र बिस्कुट उद्योगमा पानी पसेको छ। गोदाममा स्टोर गरेर राखिएका क्षेत्र डुबानमा पर्दा उद्योगीलाई निकै ठूलो नोक्सानी भएको छ। काबरा गु्रपका चारवटा उद्योग र गोदाम डुबानमा परेका छन्। काबरा गु्रपका निर्देशक विपीन काबराले उद्योगका पर्खालदेखि मुख्य प्लान्टससम्म पाँच फिटसम्म पानी जमेको छ। काबराका अनुसार छाला फ्याक्ट्रीतिरबाट आएको भेलले काबरा गु्रपअन्तर्गतका क्वालिटी केम, क्वालिटी सोप, क्वालिटी थाई फुड उद्योग जलमग्न छन्। 

सुनसरी–मोरङ औद्योगिक करिडोरमा मात्रै साना ठूला पाँच सयभन्दा धेरै उद्योग सञ्चालनमा छन्। कटहरीस्थित नयाँ बजारमा रहेको एसीसी इट्टा भट्टामा काम गर्ने १५० मजदुर उद्योग क्षेत्रमै फसेका छन्।

करोडको तरकारी नष्ट
जिल्ला कृषि विकास कार्यालय मोरङका अनुसार तरकारी पकेट क्षेत्र कटहरीमा डुबानका कारण दुई करोड रुपैयाँभन्दा बढीको तरकारी नष्ट भएको छ। 

कृषि कार्यालयका बाली विकास अधिकृत काशीकुमार चौधरीका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीरण तरकारी ब्लक कार्यक्रमअन्तर्गत मोरङको कटहरी र सिसवनी जहदामा लगाइएको पाँच् विगाहा क्षेत्रफलको तरकारी खेती डुबानमा परेको छ। यसबाट लगभग दुई करोड रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए। 

यसैबीच अविरल परेको वर्षाका कारण बाढी ब्रोइलर कुखुरा फर्ममा पस्दा दुई हजार पाँच सयभन्दा बढी चल्ला तथा बिक्री गर्ने तयारी अवस्थाका कुखुरा मरेका छन्। 

कुखुरा व्यवसायी बलराम थापाले दिएको जानकारी अनुसार विराटनगर– ४ का कुखुरा व्यवसायी टीका श्रेष्ठको फर्ममा तयारी कुखुरा एक हजारवटा मरेका छन् भने २० हजार रुपैयाँ बराबरका माछाका भुरा बाढीले बगाएको छ। 

यस्तै, बूढीगंगाका कुखुरा व्यवसायी सुजित कार्कीका तयारी ब्रोइलर एक हजार १०० वटा मरेका छन्। अर्का कुखुरा व्यवसायी जनार्दन रेग्मीका ५९० वटा ब्रोइलर कुखुराका चल्ला मरेको व्यवसायी थापाले बताए। 

डुंगाबाट उद्धार
विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रलाई आपतकालीन क्षेत्र घोषणा गरेको छ। शुक्रबार रातीदेखि आएको अविरल वर्षाका कारण नगरका अधिकांश वडा डुबानमा परेका छन्। यसले गर्दा महानगरपालिकाले नगरलाई आपतकालीन क्षेत्र घोषणा गरेको जनाएको छ। 

महानगरपालिकाले डुबानमा परेका पीडितहरूलाइ डुंगाबाट उद्धार गर्ने कार्य सुरु गरेको छ। महानगरपालिकाले इटहरीबाट सशस्त्र प्रहरी कार्यालयको डुंगा मगाएर उद्धार कार्य सुरु गरेको महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए। 

सशस्त्र प्रहरीका जवानहरूले डुबानमा परेको विराटनगर महानगरपालिकाका ४, ५, ११, १२ का विभिन्न वस्तीका बासिन्दालाई बोटबाट उद्धार गरेर सुरक्षित स्थानतर्फ ल्याउन सुरु गरेका छन्।

ढल निर्माणका लागि ठूलाठूला खाल्डा खनेर अलपत्र अवस्थामा छाडिँदा अहिले पानी भरिएपछि खतरा बढेको स्थानीयले बताएका छन्। बाढीले जताततै डुबान भएपछि विराटनगरका शैक्षिक संस्था तीन दिनका लागि बन्द गरिएको प्याब्सन मोरङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.