|

उदयपुर  : जिल्ला समन्वय समिति उदयपुरमा नेकपा एमालेको प्यानलै निर्विरोध निर्वाचित भएको छ। आइतबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता कार्यक्रम रहेकोमा अन्य कुनै पनि दलबाट मनोनयन दर्ता नभएएपछि मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

समन्वय समितिको प्रमुखमा एमालेका खड्गबहादुर परियार, उपप्रमुख गंगा राईसहितको प्यानल नै निर्बिरोध निर्बाचित भएको हो। समितिको सदस्यहरुमा कुलबहादुर खपांङी, खड्गबहादुर राउत, बोधबहादुर थापा मगर रहेका छन्। महिला सदस्यहरुमा इश्वराकुमारी पौडेल, जानकी बराल, मिनाकुमारी राई रहेका छन् भने दलित तथा अल्पसंख्यकको तर्फबाट चिनबीर दनुवार निर्विरोध बनेका छन्।

निर्वाचित प्रमुख र उप्रमुखलाई आईतबार साँझ ५ बजे नै मुख्य निर्वाचन अधिकृत कार्कीले र बाँकी सदस्यलाई प्रमुख परियारले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए। आइतबार मनोनयन कार्यक्रमको दुईदिनपछि निर्बाचन कार्यक्रम रहेकोमा निर्बिरोध भएपछि आइतबार नै सबैलाई प्रमाणपत्र तथा शपथग्रहण गराइएको हो। दिनभरीको वर्षातको बाबजुद एमालेका उम्मेदवारहरु सबैले उम्मेदवारी दर्ता गराएका थिए।

निर्वाचनसँगै प्रमुख परियारले जिल्लाका जनताको भावनाअनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले जिल्लाको समग्र विकास र जनताका चाहनाअनुरुपका कामलाई प्राथामिकतामा राखेका काम गर्ने बताए।

कांग्रेस माओवादीले उम्मेदवारै दिएनन्

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उदयपुर जिल्ला समन्वय समितिमा उम्मेदवारै दिनु परेन। ४ नगर र ४ गाउँपालिका गरी ८ तह रहेको स्थानीय तहमा एमालेले ६ स्थानीय तहमा प्रमुख र उपप्रमुख एक ठाउँमा प्रमुख पद गरी जम्मा ११ वटा सिट जितेको थियो।

कांग्रेस माओवादीको जम्मा ५ सिट थियो भने एमाले एकलौटी ११ सिट थियो। एमालेले सदरमुकाम रहेको त्रियुगा नगरपालिकामा प्रमुख मात्र जितेको थियो भने बेलका, कटारी नगरपालिका नगरपालिका, ताप्ली, रौतामाई र उदयपुरगढी गाँउपालिकमा प्रमुख र उपप्रमुख जितेको थियो। एमालेको एकलौटी हुने भएपछि एमालेभित्र को–को जाने भन्नेबारे विवादसमेत भएको थियो।

कांग्रेसले चौदण्डी नगरपालिकामा प्रमुख र उपप्रमुख, त्रियुगा नगरपालिका र सुनकोसी गाउँपालिकामा उपप्रमुख पद गरी ४ सिट, माओवादी केन्द्रले सुनकोसी गाउँपालिकामा प्रमुख पदमा विजयी भएको थियो। माओवादी र कांग्रेस मिल्दासमेत ६ मतको फरक पर्ने भएपछि उम्मेदवार नदिएको हो। समन्वय समितिमा दुई पार्टीले उम्‍मेदवारका लागि खासै चासो समेत दिएनन।

स्थानीय तहको चुनाव सम्पन्न भएपछि १५ साउन आइतबार बसेको पहिलो जिल्लासभाले ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको थियो। यसअघि, स्थानीय निकायहरुमध्ये गाउँ विकास समिति र नगरपालिकाभन्दा शक्तिशाली संयन्त्रको रुपमा रहँदै आएको जिल्ला विकास समिति स्थानीय तह पुनःर्संरचनापछि समन्वय समितिमा परिणत भएको हो।

जिल्ला समन्वय समितिको निर्वाचन गर्न अख्तियारी पाएको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले २९ गते उम्मेदवार दर्ता गरी मतदाता नामावली प्रकाशन, उमेदवारी दर्ता, दाबी विरोध, अन्तिम नामावली प्रकाशन लगायतका निर्वाचनसम्बन्धी सम्पूर्ण काम सम्पन्न गरी ३० गते विदाको दिन परेकाले ३१ गते मतदान गर्ने निर्वाचन तालिका प्रकाशन गरेको थियो। अन्य पार्टीबाट उम्मेदवारी नपरेपछि एमालेको एकलौटी भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.