|

काठमाडौं : साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनको भीड लागेको छ। बिहान दुई बजेदेखि जम्मा भएका भक्तजनका लागि ३ः३० बजेदेखि पशुपतिका चारै ढोका खोलिएको थियो।  

साउन महिनाको अन्तिम सोमबार भएकाले अघिल्ला सोमबारभन्दा भक्तजनको भीड बढी रहेको पशुपति क्षेत्र विकास कोषका निर्देशक एवं पशुपति मन्दिर तथा गुठी शाखा प्रमुख भोला सिटौलाले जानकारी दिए।

पशुपति मन्दिरमा ३९० र वासुकी मन्दिरमा ११० जनाले विशेष पूजाका लागि रसिद काटेको उनले बताए। प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहान पशुपतिको दर्शन गरेका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीेले अपराह्न ४ः३० बजे दर्शन गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ।

मध्याह्नसम्म पशुपतिमा दुई लाख भक्तजनले दर्शन गरिसकेका छन्। आज साउनको अन्तिम सोमबारसँगै श्रीकृष्ण जन्माष्टमी पनि परेकाले भक्तजनको भीड उल्लेख्य छ। विशेष गरी महिला भक्तजनको उपस्थिति रहेको छ। साउनको सोमबार विवाहित महिलाले व्रत बसी शिवालयमा पूजा गरी जल चढाएमा अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।

अविवाहित महिलाले व्रत गरे सोचेअनुरुपको वर प्राप्त हुने विश्वास पनि  छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम भने व्रत महिला पुरुष दुवैले लिनुपर्ने बताउँछन्।

साउन महिनाको सोमबार व्रत बसेका व्रतालुले अन्तिम सोमबार आज गोदान र पूर्णपात्र गरी व्रत समापन गर्छन्। साउनको अन्तिम सोमबार उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, हनुमानढोकास्थित मक्खनको सानो पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। 

साउनको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथमा देखिएको भक्तजनको भीड हेर्नुस्

फोटोहरु : दिपक केसी

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.