|

दार्चुला  : जिल्ला समन्वय समिति दार्चुलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन निर्विरोध निर्वाचित भएको छ। सत्ताधारी दुबै पार्टीले जिल्ला समन्वय समितिका लागि संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका थिए।

प्रत्येक पदमा एक एक जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित घोषणा गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालले जानकारी दिए। जिसस प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट करवीरबहादुर कार्की र उपप्रमुखमा माओवादीका तर्फबाट कृष्णसिंह धामी (हिमाल) निर्विरोध निर्वाचित भएका छन्।

सदस्यहरुमा नेपाली कांग्रेसका तर्फबाट भवीदेवी मौर, दमन्ती लोथ्याल, सन्तोष दयाली र जयराज विष्ट निर्वाचित भएका छन् भने माओवादीका तर्फबाट उदयसिंह डडाल, वीरसिंह कार्की र पार्वती सिंह निर्वाचित भए।

जिल्लामा तीन स्थानीय तहमा विजय हासिल गरेको नेकपा एमालेले भने एक स्थानीय तहमा विजय हासिल गरेको माओवादी केन्द्रसँग मिल्दासमेत बहुमत नपुग्ने भएपछि जिल्ला समन्वय समितिका लागि उम्मेदवारी नै दिएन।

जिल्लाका ९ स्थानीय तहबाट जिल्ला सभामा नेपाली कांग्रेसका ९, नेकपा एमालेका ७ र माओवादी केन्द्रका २ जना प्रतिनिधि छन्। कांग्रेस र माओवादी केन्द्रबीच गठनबन्ध हुँदा ११ सदस्य पुगेका छन् भने एमालेसँग ७ जना मात्रै छन्। जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित पदाधिकारीहरुले शपथ लिइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.