|

काठमाडौँः शनिबार रातो बंगला स्कुलको प्रेक्षालयमा ९९ वर्षका राष्ट्रकवि माधवप्रसाद घिमिरेदेखि १२ वर्षकी अन्तरा घिमिरेसम्मले कवितावाचन गरे।

कार्यक्रममा समाजसेवी कुलबहादुर कटवाल र इन्द्रकुमारी कटवालको नाममा स्थापना गरिएको प्याब्सन गौरव इन्द्रकुल साहित्य सम्मान ५१ हजार १११ रुपैयाँ नगद तथा सम्मानपत्रद्वारा राष्ट्रकवि घिमिरेलाई विभूषित गरियो।  २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउने तीन जना विद्यार्थीहरूलाई जनही १० हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित हरिहर शास्त्री शिक्षा पुरस्कार पनि वितरण गरियो। 

उत्कृष्ट नेपाली विषय शिक्षक खेम निरौलालाई २५ हजार रुपैयाँ नगद तथा प्रमाणपत्रसहित हरिहर शास्त्री शिक्षा पुरस्कार प्रदान गरिएको थियो।

जनगायक रामकृष्ण दुवालले राष्ट्रकविको ‘कालीगंगा’ कविता वाचन गर्दा हल कर्तल ध्वनिले गुन्जिएको थियो । ‘गाउँछ गीत नेपाली’ बोलको नृत्य लोयल्टी एकेडेमीले प्रस्तुत गरेको थियो भने रेडियन्ट रिडर्सकी याङ्जी श्रेष्ठको नृत्य प्रशंसनीय थियो। 

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य–सचिव डा. जीवेन्द्रदेव गिरी, पूर्व सेनापति रुक्मांगत कटुवाल, शिक्षाप्रेमी डा. शान्ता दीक्षितलगायत देशका ख्यातिप्राप्त कवि कवयित्रीहरूको बाक्लो उपस्थिति थियो।

प्याब्सनले आगामी दिनमा पत्रकारिता, समाजसेवा, साहित्यसेवा तथा खेलकुद क्षेत्रमा विशिष्टता प्राप्त गर्ने व्यक्तिलाई प्याब्सन गौरव सम्मान वितरण गर्ने कुरा अध्यक्ष विजय सम्बाहम्फेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.