|

उदयपुर : रौतामाई गाउँपालिकामा ४ मा पर्ने पोखरीका स्थानीयहरु हाइड्रो पावर विजुलीको लाएन काटेर अध्याँरोमा बसेका छन्। बिजुलीको लाइनका कारण गाउँमा अत्याधिक चट्याङ पर्न थालेपछि पोखरी र सल्ले गाउँका सर्वसाधारण विगत सात महिनादेखि अध्याँरोमा बसेका हुन्। 

गतसाल परेको चट्याङले ३ जनाको मृत्यु भएपछि बिजुलीको लाइन काटेर अध्यारोमा गाउँलेहरु बस्दै आएको स्थानीय महेन्द्र सिग्देलले बताए। ‘गड्याङगुडुङ गर्ने बित्तिकै चट्याङ पर्ने भएकाले स्थानीय धेरै डराए,’ सिग्देलले भने, डरभन्दा ठूलो कुरा केही रहेनछ, आफैले दुख गरेर बालेको बिजुली गाउँले आफैले काटेर बस्न बाध्य भएका छन।’

कूल ३२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सो योजनाका लागि स्थानीय गाउँलेले १० लाख रुपैयाँ बराबरको श्रमदान गरेका थिए। २०६२ सालमा संचालनमा आएको स्थानीय हुल्मा हाडिखोला लघु जलविद्युुत परियोजनाबाट उत्पादित १६ किलोवाट क्षमताको विद्युत बाल्दै आएका गाउँलेले अहिले अन्धकार नै रोजेका हुन्। 

स्थानीय कनकबहादुर परियार भन्छन्,‘गएको वर्ष चट्याङले ३ जनाको मृत्यु भएपछि विजुलीको लाईन काटेर अध्यारोमा बस्दै आएका छौ,’ उनले भने, ‘बिजुलीको तारकै कारण चट्याङ परेको अनुमान हामीले गर्‍‍यौ, अनि तारै काटेर बिजुली बाल्न छाडिदियौ।’

गाउँलेका अनुसार गत सालको वर्षायाममा पानी पर्ने बेलामा हरेक पटक परेको चट्याङ लागेर करिब एक दर्जन गाउँलेहरु घाइते भएका थिए। यसरी अत्याधिक रुपमा लगातार चट्याङ परेर मानवीय क्षति गर्न थालेपछि सम्पूर्ण गाउँलेको योजना बनाएर बिजुली बाल्न छाडेका छन्। 

विगतका वर्षमा अत्याधिक चट्याङ परेका कारण गाउँलेले बत्ती बन्द गरेपछि परियोजनाको रेखदेखमा समेत कमी आएको छ। जसका कारण परियोजनाको एउटा जेनेरेटर जलेर काम नलाग्ने भएको छ भने विद्युत उत्पादन क्षमता समेत घटेर ९ किलोवाटमा झरेको स्थानीय परियारले बताए।

हाइड्रो पावर सम्बन्धी सामान्य जानकारी राख्ने अर्का स्थानीय दिलबहादुर परियारका अनुसार परियोजनामा जडान गरिएको अर्थिङ प्लेट काम नलाग्ने भएको छ। ‘गाउँमा बत्ती लैजान गाडिएका काठका पोल धमिरा लागेर खसाप भएका छन,’ उनले भने, ‘सम्बन्धित निकायसँग हार गुहार गर्दा पनि अर्थिङलाई बलियो बनाउन सकेनौं, अनि चट्याङ पर्ने वेला लाईन काटेर बस्न बाध्य छौ।’

चट्याङ पर्नुको कारणबारे अध्ययन तथा खोजी गरिदिन स्थानीयले जिल्ला समन्वय समिति र विद्युत  प्राधिकरण शाखा कार्यालय गाईघाटलाई समेत पटक पटक आग्रह गरेका छन्।

तर कुनै सुनवाई नभएकाले त्यस क्षेत्रमा समस्या आएको पोखरी स्थानीय शिक्षक गोकुल राईले बताए। ‘आकाशबाट परेको चट्याङले किन बिजुलीलाई मात्र मुख्य गरेर हान्छ,’ राईले भने, ‘त्यसको अध्यान अनुसन्धान गरिदिन मुख्य गरेर विद्युत कार्यालयमा अनुरोध गर्दा समेत सुनुवाई भएको छैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.