|

  • रमेश पराजुली-

सिन्धुपाल्चोकः झट्ट कसैलाई ‘यस्ता बालकको दैनिक कसरी बित्छ?’ भनेर सोध्दा सहजै भन्छन्, ‘विद्यालय जाने, खेल्ने पारिवारिक वातावरणमा रमाएर।’ तर, होइन, यी दुई दाजुभाइको दैनिकी भने यसभन्दा फरक छ। 

उमेरले सानै देखिए तापनि ठूलो कर्तव्य पनि साथमा जोडिएको छ, मेलम्ची नगरपालिका– १३ का १० वर्षका शिव नेपाली र ११ वर्षका शंकर नेपालीको। 

आमाबाबुको काखको न्यानो मायामा रम्दै विद्यालयमा गएर आफू जस्तै साथीहरूसँग रमाएर पढ्ने चाहना यिनीहरूमा पनि नभएको होइन तर सबैको एउटै भाग्य कहाँ हुँदोरहेछ र! 

‘विद्यालय जाने पढ्ने, पढेर केही गर्ने भन्ने त अब हाम्रो एकादेशको कथा जस्तै भएको छ’, दाजु शंकर भन्छन्, ‘मैले जे जस्तो दुःख गरेर भए पनि भाइ पढाउँथे। उमेरले उस्तै छौँ। न मैले ठूलो पैसा कमाउन सक्छु, न भाइले सक्छ।’

आमाले पनि छाडेपछि सुरु भए दुःखका दिन 
उनीहरूको दैनिकी पनि अरूको भन्दा केही कम थिएन। बुबाआमाको काखमा रमाइरहेका थिए। भाइ शिव भन्छन्, ‘आमाले दाइ आठ र म सात वर्षको हुँदा छोडेर गइन्, त्यसपछि हामीलाई गाह्रो भयो।’

आमाले छोडेर गएपछि बाबुले अर्की श्रीमती भित्र्याए। सानीआमा ल्याएको भए पनि उनीहरूलाई त्यस्तो कुनै समस्या भएको थिएन रे! थाहाखबरसँगको कुराकानीमा दाजुभाइ दुवैले आक्रोश पोखे, ‘हामीलाई यस्तो अवस्थामा छोडेर जाने आमालाई सम्झनै मन छैन।’ 

भूकम्पले बल्झायो दुःख, पुुरिए बाबु    
घरमा सौतेनी आमाको माया जस्तोसुकै भए पनि कहाँ आफ्नै आमाको न्यानो काख जस्तो हुन्छ र! जेनतेन चलेकै थियो। ०७२ बैशाखमा गएको विनाशकारी भूकम्पमा परी बाबुको मृत्यु भयो। यो जस्तो पीडाको क्षण कुन हुन्छ होला र सौतेनी आमाको काखमा भएका बालकालिकालाई। 

भूकम्पमा घर ध्वस्त भयो। घर भत्केको त कुनै पीडा थिएन। जतिबेला आफ्नो सहारा नै खोसिएको थियो। टाउको लुकाउने छानो थिएन, न त खाने अन्नको गेडो नै, जस्तोसुकै दुःखको दिन आए पनि सहनै पर्ने यी दाजुभाइ बताउँछन्। दाजु शंकर भन्छन्, ‘आफ्नी आमाले छोडेर गए पनि सौतेनी आमाले हामीलाई अहिलेसम्म हेर्नुभएको छ, उहाँको पनि सहारा छैन।’

बस्दै आएको गुठीको जग्गा, जग बसाउने थलो छैन  
उनीहरू बस्दै आएको जग्गा गुठीको रहेछ। अहिले उनीहरूको घरको जग राख्ने थलो नभएको गुुनासो पोख्छन् दाजुभाइ नै। आफ्नो नाममा जग्गा नभएपछि अस्थायी आवास निर्माणको लागि दिइएको १५ हजार रूपैयाँ भन्दा सरकारी राहत पाउन नसकेको उनीहरू बताउँछन्। ‘१५ हजार पाएका थियौँ टहरा बनाएर बस्यौँ, अहिले न आफ्नो घर बनाउने जग्गा छ, न त अन्न उब्जाउने खेती नै।’ उनीहरूले सरकारी पक्षबाट पनि आफूलाई कुनै वास्ता नगरेको दुखेसो पोखे।

बालुवाखानीमै बित्छ दैनिकी 
उब्जाउने र बस्ने थलोको ठेगान नभएपछि भर्खरै १०÷११ वर्षका यी दाजुभाइको दैनिकी बालुवाखानीमै बित्ने गरेको छ। ‘बिहान सबेरै उठेर बालुवा झिक्न खोलामा दाजुभाइ नै जान्छौँ’, रुन्चे अनुहार लगाउँदै दाजुभाइ नै भन्छन्, ‘अरूले त धेरै झिक्न सक्दा रहेछन्, हामी साना छौँ, वर्षामा खोलामा धेरै परसम्म जान सक्दैनौँ।’ आफूले झिकेको थोरै बालुवा पनि कसरी बेच्ने केही थाहा छैन उनीहरूलाई। ‘अहिलेसम्म झिकेको बालुवा जम्मा गरेर राखेका छौँ, बेचेका छैनौँ’, उनीहरूले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.