|

बारा : जिल्लाको निजगढ नगरपालिका-७ योजना टोलस्थित कान्तिपुर पोल्ट्री ब्रिडिङ फर्म नजिकका स्थानीय वासिन्दा पाँच दिनदेखि धर्नामा बसेका छन्। उद्योगका कारण गाउँमा फैलिएको दुर्गन्ध नियन्त्रणका लागि भएको सम्झौता कार्यान्वयनको माग गर्दै एक सय भन्दा बढी स्थानीय वासिन्दा बिहीवारदेखि धर्नामा बसेका छन्।

जिल्ला प्रशासन कार्यालय र नगरपालिका कार्यालयमा भएका वार्ताहरु निष्कर्षविहीन भएपछि स्थानीयले धर्ना अन्त्य गरेका छैनन्। योजना टोल सुधार समितिका अध्यक्ष शिवराम श्रेष्ठको नेतृत्वमा सुरु भएको धर्ना दैनिक रुपमा बढ्दै सोमबार पाँचौ दिन १२ घण्टा पुर्‍याइएको छ।

स्थानीयले मंगलबारसम्म उद्योगको गेटमा धर्ना बस्ने र बुधवारदेखि उद्योगमा अनिश्चितकालिन तालाबन्दी गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेका छन्।

दुर्गन्ध फैलिएको भन्दै २०७२ सालदेखि नै संघर्षरत योजना टोलबासीसँग उद्योग प्रशासनले २०७२ साल असोज २९ गते र २०७३ चैत १३ गते दुईपटक ६ महिनाभित्र दुर्गन्ध नियन्त्रण गर्ने प्रतिवद्धता गरेको थियो। तर वाचा कागजमा मात्रै सीमित गरी आफूहरुको स्वास्थ्यमै प्रत्यक्ष असर पर्ने गरी दुर्गन्ध फैलदै गएपछि धर्नामा बस्नुपरेको टोल सुधार समिति अध्यक्ष श्रेष्ठले बताए।

‘बस्तीको बीचमा ह्याचरी खोल्दा दुर्गन्धले हाम्रो स्वास्थ जोखिममा परेको छ' उनले भने 'स्वास्थ्यमा खेलबाड गर्न पाइदैन, अब उद्योग नै यहाँबाट हटाइनुपर्छ।’ १ सय ५ घरधुरी रहेको योजनाटोलका करिब ५० घरधुरी मानिस उद्योगबाट फैलिएको दुर्गन्धबाट प्रत्यक्ष रुपमा प्रभावित भएका छन्।

दुर्गन्धसँगै बर्षाको समयमा उद्योगमा लगाइएको पर्खालका कारण पानी निकास हुन नपाउँदा आफूहरुको घरभित्र पस्ने, किरा फट्याङ्ग्राले सताउने गरेको स्थानीय विण्णुप्रसाद आचार्यले बताए। यसैगरी उद्योगले फालेको फोहोरका कारण भमरा खोला छेउका नम्बरी जग्गाका रुखहरु मरेका स्थानीयले बताएका छन्।

उद्योग सञ्चालक नवराज पौडेलले भने यसअघि स्थानीयसँग भएको सम्झौता अनुसार दुर्गन्ध पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको र अब वाटर फिल्टर र चिम्नी जस्ता प्रविधिको प्रयोग गरेर दुर्गन्ध हटाउने प्रयास भइरहेको जानकारी दिए। तर उद्योग हटाउन भने नसकिने पौडेलको भनाइ छ। यद्यपी एक दुई दिनभित्र समस्या समाधान हुने उनको दाबी छ।

२०७१ सालमा करिब १६ करोडको लगानीमा कान्तिपुर पोल्ट्री फर्मले योजनाटोलमा पौने २ विगाहामा फैलिएको एउटा उद्योगबाट दैनिक १२ हजार अण्डा उत्पादन गर्ने र अर्को करिब २ विगाहा ३ कठ्ठा क्षेत्रफलमा रहेको उद्योगबाट कुखुराको चल्ला उत्पादन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.