|

काठमाडौं : लोकप्रिय गायक खेमराज गुरुङको प्रथम वार्षिकीको अवसरमा खेमराज गुरुङ ट्रष्टले वरिष्ठ गीतकार रत्नशम्शेर थापालाई नगद ५० हजार रुपैयाँसहित ‘खेमराज गुरुङ संगीत सम्मान’ प्रदान गरेको छ।

‘ए कान्छा ठट्टैमा यो वंश जान लाग्यो’लगायत दर्जनौं कालजयी गीतका सर्जक थापाले सम्मान ग्रहण खेमराज गुरुङ ट्रष्ट गठन गरेर उनका सिर्जनालाई जोगाउने प्रयास सह्राहनीय भएको बताए। कुनै पनि नेपाली गीत–संगीतको आधार लोकगीत नै भएको भन्दै खेमराज लोकगीत सिर्जनामा पछिल्लो छिमलका अब्बल सर्जक भएको स्मरण गरे।

नवप्रतिभालाई प्रोत्साहित गर्न भन्दै ट्रष्टले ‘खेमराज गुरुङ नवप्रतिभा पुरस्कार’समेत स्थापना गरेको छ। यस वर्ष यो पुरस्कार गायिका मेलिना राईलाई प्रदान गरिएको छ। पुरस्कारको राशी नगद २० हजार रुपैयाँ रहेको छ।

खेमराज गुरुङका संगीत गुरुसमेत रहेका संगीतकार प्रकाश गुरुङले खेमराजको असामयिक अवसान नेपाली संगीत क्षेत्रलाई ठूलो क्षति भएको बताए। कार्यक्रममा भविन ढुंगाना, भीषण कुमारुङ, अशोक मुकारुङलगायतले खेमराजका गीतहरू गाएका थिए।

स्टेजमा राजेशपायल राईलाई गाउन निम्त्याइपछि भने माहोल एकाएक शोकमा डुबेको थियो। आफू र खेमराज अत्यन्तै मिल्ने साथी भएको स्मरण गर्दै केही भनाइ राखेपछि उनी एकाएक भक्कानिएपछि कार्यक्रममा सहभागी सबैको आँखा रसाएका थिए।

कार्यक्रममा ट्रष्टका उपाध्यक्ष खेमराज गुरुङकी दिदी चञ्चला गुरुङले भाइको स्मरणमा परिवारका सदस्यहरूले मिलेर ट्रष्ट स्थापना गरेको बताइन्। उनले ट्रष्टलाई अझ फराकिलो बनाउने आफूहरूको चाहना रहेको भन्दै नैतिक सहयोगका लागि सबैसँग आग्रह गरिन्।

२०३३ साल माघ १ मा संखुवासभाको खाँदबारीमा जन्मिएका खेमराज गुरुङ सानैदेखि सांगीतिक क्षेत्रमा लागेको भए पनि २०५७ सालमा प्रकाशित जीवन भाग–२ मा समावेश ‘वारी जमुना, पारी जमुना’पछि चर्चाको चुलीमा पुगेका हुन्। करिब एक दर्जन गीति एल्बम बजारमा ल्याएका उनका ढाक्रे गीति संग्रह पनि प्रकाशित छन्। 

खेमराजको गत वर्ष कृष्ण जन्माष्टमीका दिन उपचारको क्रममा चाबहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.