झापामा मात्र बाढीका कारण ११ को मृत्यु

|

दमकः चार दिनसम्म भएको अविरल वर्षाका कारण झापामा भएको क्षतिको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा ससहितको टोलीले जानकारी लिएको छ।

बाढी प्रभावित क्षेत्र अवलोकन गर्ने क्रममा झापा आइपुगेका प्रधानमन्त्री देउवाले सोमबार दिउँसो बाढीका कारण भएको क्षतिबारे दैवी प्रकोप तथा उद्धार समितिमार्फत जानकारी लिएका हुन्। जिल्ला दैवी प्रकोप तथा उद्धार समितिको कार्यालय भद्रपुरमा भएको कार्यक्रममा गृहमन्त्री जनार्दन शर्मा, रक्षामन्त्री भीमसेनदास प्रधानलगायतको उपस्थिति थियो।

झापामा भएको जनधनको क्षति तथा राहत वितरणका विषयमा प्रधानमन्त्री देउवा समक्ष ब्रिफिङ गरिएको थियो। उनले जिल्लास्थित सम्पूर्ण निकाय तथा अन्य संघसंस्थालाई राहतका लागि सहयोग गर्न आग्रहसमेत गरे। विपदका बेला सबै जुटेर काम गर्नुपर्ने बताउँदै देउवाले बाढीबाट पीडितका लागि सरकारले जतिसक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। राहतमा कुनै कमजोरी नराख्नसमेत उनले सबै पक्षलाई आग्रह गरे। 

देउवाले हिजोको मन्त्रिपरिषदको निर्णयअनुसार बाढीबाट मृत्यु भएकाका परिवारलाई राहत स्वरूप दुई लाख रूपैयाँ र घर पुनर्निर्माणका लागि १० लाख रूपैयाँसम्म उपलब्ध गराउने निर्णय भएको जानकारी दिए। उनले यस्तो विपदको बेलामा सबैले सक्दो सहयोग गर्नुपर्ने बताउँदै राहतको काम तत्काल अघि बढाउन निर्देशनसमेत सरकारी पक्षलाई निर्देशन दिए।

उनले सरकारी निकायबाट उद्धार र राहत वितरणमा कुनै कमी नहुने बताए। करिब १५ मिनेट मात्र झापा बसेका देउवाले जिल्लाको क्षतिको विवरण मात्र जानकारी लिए। जिल्लामा हालसम्म विभिन्न खोलामा आएको बाढीले बगाउँदा ११ जनाको मृत्यु भइसकेको छ भने चार जना अझै बेपत्ता छन्। 

मृत्यु हुनेहरूमा शिवसताक्षी– १ का लेखनाथ पाण्डे, झापा गाउँपालिका– २ की नमाया घोर्साने, सोही गाउँपालिका– ३ की कमला दर्नाल र उनकी सात वर्षकी छोरी खुसी दर्नाल, कचनकवल– ३ का राम भन्ने पवन राजवंशी, कमल गाउँपालिका– ५ का दिवश राई, बाह्रदशी– ५ का चम्पामणि सतार, झापा गाउँपालिकाका नाम नखुलेका माग्ने बूढो भनिने एक मुस्लिम वृद्ध, भारत घर भई दमक बस्ने तपस मण्डल रहेका छन्। 

यस्तै, घर नजिकै बाढी आएको खोलामा पौडी खेल्ने क्रममा झापा गाउँपालिका– ४ की आठ वर्षकी कुलसन खातुनको समेत मृत्यु भएको रेडक्रस झापाले जनाएको छ। 

बेपत्ताहरूमा झापा गाउँपालिकाका पार्वती राजवंशी र कमला घोर्साने रहेका छन्। अन्य दुई जनाको भने नाम खुल्न सकेको छैन।

झापामा १२ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एक हजार ८९६ घरपरिवार बिस्थापित भएका छन्। पाँच हजारको हाराहारी घरमा क्षति पुगेको जिल्ला दैवी प्रकोप तथा उद्धार समिति झापाले जनाएको छ।

यसैबीच झापाको कचनकवल गाउँपालिकास्थित बनियानी, गौरीगञ्जको महाभारा, झापा गाउँपालिकालगायतका बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरण गरिएको रेडक्रस झापाले जानकारी दिएको छ। 

बाढीले कति खेतीयोग्य जमिनमा क्षति पु¥यायो भन्ने विषयमा जानकारी लिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए। ‘धेरै खेतीयोग्य जमिन खोलाले कटान गरेको छ तर कति छ भन्ने विषयमा पूर्ण जानकारी आएको छैन’, उनले भने, ‘हामी जानकारी लिने प्रयासमा छौँ।’

दक्षिणी झापाका अधिकांश ग्रामीण क्षेत्रमा सडक, पुल, खानेपानी तथा बिजुलीका पोलहरूमा क्षति पुगेको बताइएको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.