|

काठमाडौं : अविरल वर्षाको कारण पुर्व नेपालमा ४३ जनाको मृत्यु भएको छ । उदयपुर, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरीमा लगायतका जिल्लामा ४३ जनाको मृत्यु भएको र २५ जना बेपत्ता रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

प्रहरीले सोमबार साँझ ५ वजे सार्वजानिक गरेको तथ्यङक अनुसार बाढीमा २ सय ९५ चौपाको मरेका छन्। ११ वटा भौतिक संरचनामा क्षति, एकसय ४१ वटा सर्वसाधरणका घर बाढीले नष्ट बनाएको छ। 

यसैगरी अन्दाजी रुपमा ३३ हजार एकसय ५७ वटा घर डुबानमा परेको छ। उद्धरको लागि पूर्व नेपालमा ४ हजार ५ सय प्रहरी परिचालन गरिएको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ।

बाढीको कारण झापामा १०, मोरङमा १५, सुनसरीमा १२ सप्तरीमा १, उदयपुरमा २ गरी ४० जना मृत्यु भएको छ भने पहिरोमा परी पाँचथरमा २ र इलाममा १, सहित ४३ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी रमेशकुमार भट्टराईले बताए।

बाढी पहिरोमा परी बेपत्ता हुनेहरुमा पाँचथरमा ३, झापामा ११, मोरङमा ४, सुनसरीमा ६ र सप्तरीमा १ जना छन्। बाढीले पूर्व पश्चिम राजमार्गमा पर्ने सप्तरीमा सबैभन्दा धेरै क्षति पुर्‍‍याएको प्रहरीले जानकारी दिएको छ।

राजमार्ग अन्तर्गतका थुप्रै सडकखण्ड बाढीका कारण अवरुद्ध बनेको प्रहरीले जानकारी दिएको छ। बाढी पीडितहरुको उद्धारका लागि पभावित क्षेत्रहरुमा पूर्व क्षेत्रीय तालिम केन्द्र, क्षेत्रीय सशस्त्र प्रहरी गण, दंगा नियन्त्रण प्रहरी गण, सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरु तथा स्थानीय प्रहरी इकाइहरुबाट समेत जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ।

४ हजार पाँच सय भन्दा बढी संख्यामा प्रहरी परिचालन भइ उद्दार तथा राहत कार्य भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी पीडितलाई राहत वितरण गर्न विभिन्‍न संघ–संस्थाहरु सक्रिय रहेको प्रहरीले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.