|

मोरङ : बाढी तथा डुबानका कारण मोरङमा १९ जनाको मृत्यु भएको छ। सोमबारसम्ममा १९ जनाको शव भेटिएको र अन्य केही बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

वर्षा रोकिएर बाढी केही मत्थर भएपछि मृतकको शव भेटिन थालेको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण कुमार बीसीले जानकारी दिए। सोमबारमात्रै १३ जनाको शव भेटिएको छ। भेटिएका कुल १९ मध्ये १४ जनाको सनाखत भइसकेको प्रहरीले जनाएको छ।

केहीको शव नेपालमै र केहीको भारतीय भूमिमा भेटिएको हो। विराटनगरबाट बेपत्ता भएकामध्ये ७ जनाको शव भारतमा फेला परेको छ। त्यसमध्ये ४ जनाको सनाखत हुन सकेको छैन। रेल्वे स्टेसननजिकै मंगोलिन अनुहार भएका १ पुरुष र ३ महिलाको शव भेटिए पनि उनीहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। सनाखत भएकाहरुमा विराटनगर–१३ का रोशन लुइँटेल र मनोज पासवान तथा विराटनगर– १२ का निश्चल घिमिरे छन्।

भारतको जोगवनी– १० टिकुलिया बस्तीका शिवनाथ साहको शवसमेत सोही स्थानमा भेटिएको थियो। जोगवनी स्थित रेलवे स्टेसनको पश्चिमपट्टिको पोखरीमा तैरिरहेको अवस्थामा शव भेटिएको हो। नेपालतिरबाट खोला र भेलले बगाएर अझै धेरै शव भारत पुगेको हुनसक्ने प्रहरीको अनुमान छ। बिहार प्रहरीको सहयोगमा शव मोरङ ल्याइएको छ।

यस्तै मोरङकै गोपीमाया तामाङ, गंगाराम खतिवडा, मिनबहादुर थापा, बुद्धिमाया लिम्बू, किसन महतो, अरुलिया ऋषिदेव, उमेश नेपाल, धिरज माझी र सानुमाया राईको शव यसअघि नै भेटिएको थियो। 

प्रहरीका अनुसार जिल्लामा ८ हजार ५ सय घर डुबानमा परेका छन्। तीमध्ये आधा परिवार परिवार विस्थापित भएका छन्। सबैभन्दा बढी प्रभावित क्षेत्र विराटनगर, रतुवामाई, केराबारी, मधुमल्ला, सुन्दरहरैंचा लगायत स्थानमा राहत वितरण गर्न जिल्ला दैवीप्रकोप उद्धार समितिले तयारी गरेको छ ।

३ दिनदेखि बिजुली अवरुद्ध

विराटनगर क्षेत्रमा कहिले बिजुली आउँछ भन्ने अझै निश्चित हुन सकेको छैन। दुहवीको विद्युत् सवस्टेसन डुबानमा परेको र दमकमा कावेली करिडोरको बिजुली आउने पोल ढलेपछि पूर्वी क्षेत्रमा विद्युत् अवरुद्ध भएको हो।

प्राधिकरणले इलाम र संखुवासभामा स्थानीय जलविद्युत् आयोजनाबाट बिजुली वितरण गरेको भए पनि मोरङ, सुनसरीलगायतका जिल्लामा ३ दिनदेखि विद्युत् वितरण हुन सकेको छैन। ढल्केबरबाट गएको १३२ केभी प्रसारण लाइनको बिजुली दुहवी सवस्टेसनबाट ३३ केभीमा रुपान्तरण गरेर विराटनगर, इटहरी र धरान लगायत क्षेत्रमा वितरण गरिन्छ।

प्राधिकरणको दुहबी ग्रिडका अनुसार दुहवी सवस्टेसनमा क्षतिको विवरण यकिन नभएकाले विराटनगर र आसपास कहिले बिजुली आउँछ टुंगो नभएको हो। शनिबारको वर्षाले दुहवी सवस्टेसनमा ५ फिटसम्म पानी जमेको थियो भने कन्ट्रोल प्यानल नै डुबाएकोले प्राविधिक क्षति पुगेको अनुमान छ। प्राविधिकहरुले डुबेका सामान निकालेर जाँच गरिरहेकोले अहिले नै विद्युत वितरणको समय निश्चित नरहेको बताइएको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.