|

झापा : बाढीप्रभावित झापा गाउँपालिका– ६ का ३७ वर्षीय कोकिद महमदलाई शनिबार बिहानदेखि लगातार ज्वरो आइरहेको छ। उनको शरीरका विभिन्न ठाउँमा घाउसमेत अाएको छ। 

शुक्रबार रातिदेखि स्थानीय खोलाामा आएको बाढी सुकम्बासी बस्तीमा पस्यो। सुकुम्बासी बस्तीमै रहेको उनको घरमा कम्मरसम्म पानी जम्यो। उनको घरमा भएको एउटा खाटमा एक जना छोरा र एक छोरी तथा श्रीमतीलाई सुताए। उनी भने रातभरि पानीमै उभिए। 

बाढीसँगै आएको पानीका कारण उनको शरीरमा घाउ निस्किएको छ भने घाँटी दुख्ने, ज्वरो आउने तथा टाउको दुख्ने समस्या देखा परेको हो। बाढीले घरमा पूर्ण रुपमा क्षति पुर्‍याएपछि उनी नजिकैको जनता माध्यमिक विद्यालयमा बस्दै आएका छन्। 

उनीजस्तै २१ घर परिवार बाढी पीडित त्यहाँ बस्दै आएका छन्। उनी भन्छन्,‘ ज्वरो आउने टाउको दुख्ने समस्या देखा परेको छ, केटाकेटीलाई घाउ निक्लिएको छ, सुरुमा एक दुई जनामा यस्तो समस्या आयो अहिले त धेरैलाई यस्तो समस्या छ।’

उनीहरूले शनिबार बिहानबाट विद्यालयमा बसेदेखि नै कलको पानी खाँदै आएका छन्। विद्यालयमा बसेककी ५० वर्षीय समसरी राजवंशीलाई पनि शरीर चिलाउने र घाउ निस्कने समस्या देखा परेको छ। उनलाई पनि शनिबार बिहानदेखि  यस्तो हुन थालेको हो। ‘२१ परिवार दुईटा कोठामा बस्नु परेका कारण पनि यो रोग सरेको होला’, उनले भनिन्,‘ चर्पी पनि सबै भरिएको रहेछ, यहाँसम्म गन्हाउँछ, त्यसैले रोग फैलिएको होला।’ । उनले धेरै बालबालिकामा ज्वरो आउने समस्या रहेको बताइन्।

विद्यालयमा बस्ने २१ परिवारमध्येका ११ जना बिरामी परेका छन्। अन्य विद्यालयमा बसोबास गर्नेमा पनि यस्तो समस्या देखिन थालेको शरणामती स्वास्थ्य चौकीका प्रमुख प्रेम न्यौपानेले जानकारी दिए। उनले बाढीपीडितहरूमा छालामा समस्या र टाउको दुख्ने समस्या देखा पर्न थालेको बताए। उनले भने, ‘बाढीबाट विस्थापित भएपछि सामूहिक रूपमा बस्दै आएका बाढीपीडितको स्वस्थ्यमा समस्या देखा पर्न थालेको छ, यसलाई समान्य रुपमा लिन हुन्न। यो भाइरलको रूपमा फैलिन सक्छ।’

उनले यस्तो समस्या दूषित पानीका कारण अाएको बताए। उनले भने,‘ खोलाको पानीमा डुबेकाले घाउ खटिरा निक्लने समस्या देखिएको छ, यसैगरी फिल्टर नगरी कलको पानी खाँदा बिरामी बढेका छन्’ बाढी आउने गरी वर्षा भएर एक पटक घाम लागेकाले रोग फैलिन सम्भावना रहेको भन्दै उनले सबैलाई सचेत रहन आग्रह गरे। 

उनले धेरै मासिन एक ठाउँमा बस्नु पर्ने भएकाले रोग छिटो फैलिन सक्ने बताए। उनले भने, ‘अब धेरै परिवार एक ठाउँमा बस्नु परेको छ, त्यसकारण सानो मौसमी रोग देखा पर्यो भने पनि ठूलो समस्या आउन सक्छ, धेरैलाई सर्न सक्छ, त्यसैले म आफैं बाढी पीडित बसेको ठाउँमा औषधी बाढ्दै हिँडेको छु’ । उनले आफूहरूलाई स्वास्थ्य मन्त्रालय, जिल्ला जनस्वास्थ्य कार्यालयले प्रभावित क्षेत्रमा खटिन निर्देशन दिएकाले त्यही अनुसार लागि परेको बताए। उनले भने,‘औषधी अभाव हुन्छ भनेर जनस्वास्थ्य कार्यालयमा जानकारी गराएका छौं। अहिले बाँकी औषधी ल्याएर भएपनि काम चलाउँदैछौं।’

उद्धार गर्नै समस्या
झापा गाउँपालिकाको केही ठाउँमा भने अझै पनि बाढी पीडितलाई उद्धार गर्नै समस्या भएको छ। गाउँपालिकाको दक्षिणी भेगका अधिकांश ठाउँ दुई वटा खोलाले घेरेको र टापु बनेका कारण त्यहाँ सम्म पुग्न समस्या भएको झापा गाउँपालिकाका स्थानीय साजसेवी रुद्र बजगाईले बताए। उनका अनुसार सानो माई र कनकाई माई खोलाका बीचमा रहेको वडा नम्बर १ स्थित सालमार, २ स्थित सडकबारी, १ स्थित मिलन बस्ती लगायतका ठाउँमा जान मुस्किल परेको बताए। 'दुईवटा खोलामा टापु जस्तै बनेर रहेको ठाउँमा जान धेरै समस्या छ', उनले भने।

माथिका बाढी पीडितले विभिन्न संघसंस्थाको राहत सामग्री पाए पनि खोला पारिकाले नपाएको पीडितले बताए। त्यहाँसम्म पुग्नै मुस्किल रहेको बजगाईको भनाइ छ। उनले जिल्लामा सबै भन्दा बढी धनजनको क्षति झापा गाउँपालिकमा भएको बताए । उक्त ठाउँमा राहत र उद्धारको खाँचो रहेको बताए ।

घर बनाइदिए हुन्थ्यो
बाढी पीडितहरूले भने सरकारले घर बनाउँन सहयोग गरे हुने बताएका छन्। उनीहरूले राहत भन्दा पनि पहिला आफूहरूलाई घरको खाँचो भएको बताएका छन्। यसरी सामूहिक रुपमा बस्दा संक्रमण फैलिन सक्ने बन्दै उनीहरूले घर बनाउन सहयोग गर्न आग्रह गरेका हुन्। झापा गाउँपालिका– २ बालुवाटारकी पूर्णमाया नारिहाङले सरकारले घर बनाउन सहयोग गर्न आग्रह गरिन्।

उनले भनिन्, ‘यस्तो ठाउँमा कसरी बस्ने, रोग फैलिन सुरु भएको छ। रातभरि मच्छरले टोकेर सुत्न दिँदैन, त्यसैले घर बनाउँन सहयोग गर्नु पर्छ।’ बालुवाटारकै ७० वर्षीय जितबहादुर राईले घर बनाएर लगेकाले अब घर बनाउन समस्या भएको बताए। 'एक वर्षलाई खान जोहो गरेको सामग्री र घर बगायो। यहाँ मच्छरले टोक्छ, रातभरि सुत्न सकिँदैन’, राईले दुखेसो पोखे, ‘घर बनाउन सरकारले सहयोग गरे हुन्थ्यो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.