|

उदयपुर : स्थानीय तहको पुनर्संरचनासँगै भएको निर्वाचनपछि स्थानीय तहका केन्द्रहरुमा घरभाडा समेत बढ्न थालेको छ। स्थानीय तहको केन्द्रमा रहेका घरहरुमा स्थानीय तहका कर्मचारी चाप बढेसँगै घर भाडा बढ्न थालेको हो।

नयाँ संरचनापछि उदयपुरको वेलका नगरपालिका, चौदण्डी नगरपालिका, सुनकोसी, ताप्ली, उदयपुरगढी र रौतामाई गाउँपालिकाको केन्द्रमा घर भाडा बढेको हो। ‘गाउँपालिकाको केन्द्र भएपछि नयाँ-नयाँ व्यापारीहरु समेत व्यापारको लागि आउन थालेका छन्,’ उदयपुरगढी गापाको केन्द्र उदयपुरगढीका स्थानीय पुष्कर भण्डारीले भने, ‘उदयपुरको पुरानो सदरमुकाम भएर पनि शून्य हुने उदयपुरगढीमा व्यापारी, कर्मचारीको चाप बढ्दै गएकाले घरभाडासमेत बढेको छ।’

गाउँपालिकाको केन्द्र हुनुभन्दा अगाडि गाविस सचिव र शिक्षकहरु मात्र आउने उदयपुरगढीमा अहिले कर्मचारी, व्यापारी, विभिन्न गैरसरकारी संस्थाका प्रतिधिहरुसमेत पुग्न थालेपछि मासिक घर भाडा बढेको हो। ‘पहिला मासिक ४ सय देखि ६ सयमा पाइने कोठा अहिले दोब्बर भएको छ,’ उदयपुरगढीकै पञ्चावती सामुदायिक होमस्टेकी अध्यक्ष इन्द्रकुमारी राई भन्छिन्, ‘अहिले नयाँ नयाँ व्यापारीसमेत आउनाले त्यसको दोब्बर भएको हो।’

उदयपुरगढीमा पहिला एउटा गाविसको कार्यालय, उच्च माध्यामिक विद्यालय स्वास्थ्यचौक र प्रहरी चौकी मात्र थियो। उदयपुरको पर्यटकीयस्थलको चिनिने भएकाले होमस्टे छ। तर, पुनःर्संचरनाले एकाएक गाँउपालिकामा कर्मचारी र जनप्रतिनिधि भएकाले भिडभाडको चाप बढ्दै गएको छ। सबै कुरा पहिलाकोभन्दा दोब्बरले वृद्धि हुँदै गएको उदयपुरगढी गापा–१ का वडा सचिव खिलराज राईले बताए।

अहिले स्थानीय तहको केन्द्रमा नयाँ कार्यालय स्थापना गर्न, गापाकै विभिन्न शाखा कार्यालय सञ्चालन गर्न लगायतका विभिन्न प्रयोजनको लागि सरकारी भवन नभए पनि मुख्य रुपमा घर भाडा बढेको हो। ‘प्रहरी चौकी लगायतका धेरै कार्यालय स्थापना गर्नुपर्ने छ,’ सुनकोसी गाउँपालिका अध्यक्ष मेजरकुमार राईले भने, ‘यस सुनकोसी गापाको केन्द्र बाराहमा अहिले स्वास्थ्य चौकी र गाविसको सानो कार्यालयको एउटा भवन मात्र छ, अन्य कार्यालय खोल्नका लागि समेत भाडामा लिनुपर्ने हुन्छ।’

कर्मचारीको चाप बढेसँगै घर भाडा दोब्बर

अध्यक्षका राईका अनुसार गापा केन्द्रहरुमा सरकारी कार्यालय र कर्मचारीको चाप बढेकाले स्वाभाविक रुपमा स्थानीय घर भाडा बढाउने गरेका छन्। ‘पहिला पहिला भाडासमेत लाग्दैन थियो,’ राईले भने, ‘अहिले के बढ्यो भन्नु, मासिक एक हजारदेखि २ हजारसम्म घरनै दिन्छन् तर, भनेको जस्तो हुँदैन र पो समस्या छ।’

उदयपुरको दुर्गम क्षेत्रमा पर्ने सुनकोसी गापामा पनि आर्थिक सामाजिक र राजनीतिक मुहार बदलिएको महसुस सर्वसाधरणको छ। ‘यस सुनकोसी गापाको केन्द्र बाराहामा पहिला कोही पनि घर, तथा कोठा वाहालमा माग्न आएको थाहा थिएन,’ सुनकोसी गापा–१ का वडा अध्यक्ष भीम किरातीले भने, ‘पुनःसंरचना पछिको चुनावपछि नयाँ व्यापारी, कर्मचारीको चाप बढ्दै गएको छ।’

उनका अनुसार कर्मचारीको चाप बढ्दै गएपछि स्थानीयले घर वाहालमा लगाउने तरिकाले निर्माण गर्न थालेका छन्। साना–साना घरहरु पनि अहिले मासिक एक हजारदेखि एक हजार ५ सयसम्ममा भाडामा लाग्ने गरेको स्थानीय बताउँछन्।

यसैगरी, नयाँ नगरपालिका बनेको वेलका नगरपालिकाको केन्द्र रामपुर बजारमा व्यापारीको लागि घर पाउनै मुस्किल हुने गरेको छ। ‘अहिले गापा र नपाका केन्द्रमा गएर केही नयाँ व्यापार व्यवसाय गर्न खोज्यो घर नै पाउन मुस्किल छ’ वेलका नगरपालिकाको रामपुर बजारमा मिठाई पसल गर्ने राम मण्डलले भने, ‘केही सहजता सम्झेर रामपुर बजार आएको अहिले घरनै महँगो हुँदै गएको छ।’

अहिले ८ स्थानीय तहमध्ये ५ स्थानीय तहमा रहेका केन्द्रमा सहर बजारका जस्ता व्यावसायिक घर नभए पनि घरभाडा बढ्न थालेको छ। गाउँपालिकाकै केन्द्रमै जनप्रतिनिधि, कर्मचारी, दलका नेता अनि जिल्ला बाहिरबाट आउने व्यापारीका मुख्य कारणले घर भाडा बढ्नु स्वाभाविक भएको ताप्ली गाउँपालिकाको केन्द्र रुपाटारका स्थानीय शिक्षक मोहन बुढाथोकीले बताए। ‘यस रुपाटार जसको घरमा बस्दा यहाँ शिक्षकहरुले पैसा नतिरिकन बस्न पाउथे,’ शिक्षक बुढाथोकीले भने, ‘अहिले ताप्ली गाँउपालिकाको केन्द्र भएपछि एकाएक कोठा पाउन मुस्किल छ भने भाडामा गाईघाट कटारी जस्तो नभए पनि महँगो लिने गरेका छन्।’

उदयपुरमा कटारी, त्रियुगा र चौदण्डी नगरपालिकाबाहेक वेलका नगरपालिकासहित ताप्ली, सुनकोसी, रौतामाई र उदयपुरगढीमा ग्रामीण क्षेत्रमा पर्दछन्।

प्रतिरोपनी ४० हजारमा पाइने बारीको मूल्य एक लाख

गाउँपालिका तथा नगरपालिकाको केन्द्रमा बजार विस्तार सुरु हुँदै गर्दा घर जग्गाको मूल्यसमेत बढेको छ। यसरी गाउँमै घर जग्गाको मूल्य बढेपछि सदरमुकाम गाईघाट, कटारी, बेल्टार क्षेत्रमा भने घरजग्गाको मूल्य घटेको घर जग्गा व्यवसायी बताउँछन्।

‘गाउँपालिकाका केन्द्रमै बजार विस्तार सुरु भएकाले कटारीमा घर जग्गाको कारोबार घटेको छ,’ उदयपुर उद्योग वाणिज्य संघ कटारीका पूर्वउपाअध्यक्ष मदन कटुवालले भने, ‘पुनःर्संरचनापछि कटारीको नजिक पर्ने ताप्ली र सुनकोसी गापाकै केन्द्रमा अहिले घर जग्गा कारोबार फस्टाउन थालेको छ।’

‘यहाँको जग्गाको मूल्य अधिक सस्तो थियो त्यसको कुरै नगरौं, यहाँ धान खेत मात्र महँगो हुने गर्दथ्यो,’ ताप्ली गाउँपालिकाको केन्द्र रुपाटारका कटकबहादुर खत्रीले भने, ‘पहिला ३५ देखि ४० हजार प्रति रोपनीमा पाइने बारी अहिले एउटा गोठ बन्ने जग्गालाई एक लाख दुई लाख भन्न थालेका छन।’ कटारी, गाईघाट र वेल्टारका जग्गाको मुल्य घटे पनि वेलाका नगरपालिका, ताप्ली, रौतामाई, सुनकोसी र उदयपुर गाउँपालिकामा जग्गाको मूल्य बढ्न थालेको छ।

स्थानीय तहको केन्द्रबाट सदरमुकाम गाईघाटबाट पाउने सेवा सुविधा पाइने भएपछि अबका दिनमा बसाइँसराइसमेत रोकिने अनुमान गर्न थालिएको छ। पहिला सुनसान हुने क्षेत्रमा स्थानीय तहको केन्द्र बनेपछि अकर्षणको केन्द्र बन्दै गएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.