|

लहान : लगातारको वर्षापछि साना तथा खहरे खोलामा आएका बाढीले सिरहाका हजारौं परिवार आफ्नो थातथलोबाट विस्थापित भएका छन् भने ठाउँ ठाउँमा सडक, पुल बाढीले कटान गर्दा आवतजावत असहज बनेको छ।

दक्षिण पश्चिमी भेग बढी प्रभावित

वर्षा र बाढीले विशेषतः सिरहाको दक्षिणी सीमावर्ती र कमला नदी किनारसँग जोडिएका गाउँहरु बढी प्रभावित भएका छन्। जिल्ला दैवी प्रकोप उद्धार समितिको सोमबार भएको बैठकमा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले बाढीबाट प्रभावितहरुको यकिन तथ्याङ्क आगामी हप्तादिनभित्र सक्ने गरी लगत संकलन गरिने जानकारी दिए।

प्रजिअ श्रेष्ठका अनुसार सिरहाको इटारी प्रसाहीका ४०, सखुवा नन्कारकट्टीका ४५,  औरहीका एक सय ४० सहित कल्याणपुर, बसबिट्टा, सारश्वर, बेलहाका बाढी प्रभावितहरुलाई स्थानीय विद्यालयमा राखिएको छ।

सम्बन्धित स्थानीय तह र गैरसरकारी संस्थाहरुले स्थानीय सुरक्षा निकायसँग समन्वय गरी उद्धार र राहतका लागि जुट्न उनले आग्रह गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी सिरहाका कार्यक्रम अधिकृत अशोक यादवका अनुसार पछिल्लो बाढीले स्थानीय रेडक्रसकर्मीहरुबाट संकलन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार जिल्लाका २५ ठाउँका दुई हजार एक सय २० परिवार पूर्ण प्रभावित भएका छन्।

बाढी तथा वर्षाको पानी घर पसेर सामान्य डुबान भएको संख्यालाई जोड्ने हो भने नौ हजार चार सय ३५ परिवार बाढीबाट आंशिक प्रभावित भएका छन्। बाढीले सिरहाको लहान, औरही, निर्दना, सारश्वर, बसबिट्टा, माडर, मलहनिया गमहरिया, सुखचैना, खिरौना, लगडीगोठ, लगडीगदियानी, लक्ष्मिनीया, सन्हैठा, हकपाडा, कर्जन्हा, गौताडी, भोक्राहा, भेडिया, चतरी, इटाटार, बेलहा, मझौलिया बढी प्रभावित भएको यादवले बताए।

वर्षाका कारण माटोले बनाएका घरमा पानी पस्दा गलेर ढल्ने क्रम शुरु भएको छ। सिरहाको औरही, गौताडी, लहान मटियर्वा, बसबिट्टा, सखुवा नन्कारकट्टी, कल्याणपुरमा गरी सोमबारसम्म करिब एक दर्जन घर भत्किएका छन्। सिरहाको दक्षिणी भेगमा पर्ने हरकट्टी, बरियारपट्टि, सुखीपुर, इँटाटार, जानकीनगर, सन्हैठा, औरही लगायतका ठाउँका दलित बस्तीकाहरु बाढीको डुबानले थप कष्ट झेल्न बाध्य छन्।

हुलाकी र ग्रामीण सडक कटान

सिरहाको बरियारपट्टिदेखि सिरहा सदरमुकामसम्म हुलाकी सडकको करिब १० किलोमिटर खण्डमा औरही गाउँपालिका १ हरिकट्टी दरहैया, गागन, औरही, गणेशपुर र सिरहा सदरमुकाम नजिकै रहेको औरहा गाउँ नजिक बाढीले भत्काउँदा आवागमन बन्द भएको छ।

सुखीपुर नगरपालिका ८ सुखीपुर बजारसँगै पूर्वपट्टि स्थानीय बाबुराम खोलामा आएको बाढीले सडकमा बनाइएको स्ल्याव कल्भर्ट नजिकै करिब २५ मिटर खण्ड सडक बगाउँदा यातायात अवरुद्ध भएको छ। सिरहाको कर्जन्हा गाउँपालिका ६ गौताडी गाउँसम्म पुग्ने सडकमा बनाइएको स्ल्याव कल्भर्ट स्थानीय डिम्मा खोलाले भत्काएपछि आवत जावत गर्न कठिनाई भएको पूर्व गाविस अध्यक्ष रामचन्द्र ठाकुरले बताए।

कमला नदीमा आएको बाढीले बाँध कटान गर्दा इटारीप्रसाही नजिक करिब तीनसय मिटर खण्ड भत्किएको भए पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी एक हजार माटोको बोरा हालेर नियन्त्रण गरिएको प्रजिअ श्रेष्ठले बताए।

क्षति यकिन गर्न कार्यदल

जिल्ला दैवी प्रकोप उद्धार समितिको सोमबार सम्पन्न बैठकले बाढी प्रभावितहरुको लगत अद्यावधिक गर्न सुरक्षा निकाय, जिल्ला समन्वय समिति, रेडक्रस, गाउँपालिका र नगरपालिकाका प्रतिनिधि रहने गरी कार्यदल गठन गरिएको सिरहाका स्थानीय विकास अधिकारी सुरेश राउतले जानकारी दिए।

बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उद्धार, खोज र राहत वितरण समन्वय समिति गठन गर्नुका साथै प्रभावितहरुलाई राहत सामग्री सम्बन्धित गाउँपालिका र नगरपालिकाले उपलब्ध गराउने, गैरखाद्य सामग्री (स्यानिटरी प्याड, हाइजेनिक किट) जस्ता सामग्रीका लागि युनिसेफ, सेभ द चिल्ड्रेन, यूएनएफपीए र आरआरएनलाई आग्रह गर्ने निर्णय गरिएको स्थानीय विकास अधिकारी राउतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.