|
फोटो : www.hindustantimes.com

नयाँ दिल्ली : भारतमा मङ्गलबार विशेष कार्यक्रम गरी स्वतन्त्रता दिवस मनाइँदैछ। यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा सम्बोधन गरेका छन्। स्वतन्त्रता दिवस मनाउन लाल किल्लामा हजारौँ भारतीय नागरिक जम्मा भएका छन्। 

उनीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतको प्रमुख प्राथमिकता सुरक्षा हो भन्दै नागरिकको सुरक्षाका लागि वर्तमान सरकार सबैभन्दा बढी चिन्तित रहेको बताए।

उनले भारतको विपक्षमा लाग्ने र भारतीय भूमिमा असुरक्षा मच्चाउन प्रयास गर्ने जो सुकै विदेशी होस वा स्वदेशीलाई पनि भारतले नछोड्ने चेतावनी दिए। त्यस्तो शक्तिका विरुद्धमा लडन् भारत पूरै सक्षम रहेको उनले बताए।

भारतका मिडियाहरुले चीन र भारतका बीचमा पछिल्लो समयमा सीमा क्षेत्रमा तनाव बढिरहेको भनिएका बेला उनको यो अभिव्यक्ति आएको भनी टिप्पणी गरेका छन्। 

भारतले मंगलबार आफ्नो ७० औं स्वतन्त्रता दिवस मनाइरहेको छ। यसका लागि भारतका विभिन्न क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको समाचारमा जनाइएको छ। 'समुद्र होस वा सीमा, साइबर होस वा अन्तरिक्ष जुनसुकै हिसाबले पनि हामी सक्षम छौं र जुनसुकैका विरुद्धमा पनि हामी लडन् सक्छौं' प्रधानमन्त्री मोदीले भनेका छन्।

उनको यस अभिव्यक्तिलाई हाल चीनसँग भएको भनिएको विवादका बीच दिएको र उक्त सम्बोधन चीनतर्फ पन लक्षित रहेको अर्थ लगाएका केही विश्लेषकहरुको दाबी छ। पाकिस्तानसँग पनि सन् १९४७ देखि नै भारतको सीमा विवाद रही आएको छ। जसका कारण पाकिस्तानसँग पनि भारतले युद्ध गरिसकेको छ। भारतले पाकिस्तानलाई आतङ्ककारीहरु आफ्नो देशतर्फ पठाएको आरोप लगाउने गरेको छ। तर यसलाई पाकिस्तानले भने स्वीकारेको छैन।

भारतमा कडा सुरक्षा व्यवस्था 

यसैबीच भारतको यस स्वतन्त्रता दिवसका अवसरमा नयाँ दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको समाचार छ। नयाँ दिल्लीका बस पार्कहरु, रेलमार्ग र स्टेसनहरु तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सुरक्षा सतर्कतामा राखिएको भारतको नयाँ दिल्लीबाट विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। 

नयाँ दिल्ली गेट वरीपरी लालकिल्ला लगायतका क्षेत्रमा पनि सुरक्षाको कडा प्रबन्ध गरिएको छ। सो क्षेत्रबाट प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सम्बोधन गर्ने विशेष कार्यक्रम रहेकोले उक्त क्षेत्रमा ध्यान दिइएको हो। 

प्रहरीको विशेष कमाण्डो फोर्सका साथै अन्य सुरक्षा निकायका अधिकारीलाई ती क्षेत्रमा उच्च सतर्कताका साथ खटाइएको र स्वतन्त्रता विशेष समारोहको समापन अर्थात मंगलबार रातिसम्म नै नयाँ दिल्लीमा यस्तो सुरक्षा व्यवस्था कायम रहने अधिकारीहरुले जनाएका छन्। 

भारत सन् १९४७ को अगष्ट १५ मा बेलायती शासनबाट स्वतन्त्र भएको थियो। बेलायती शासनबाट स्वतन्त्र भएको दिन अगष्ट १५ लाई भारतले स्वतन्त्रता दिवसका रुपमा मनाउदै आएको छ। भारतको अघिल्लो दिन अर्थात अगष्ट १४ मा पाकिस्तान पनि भारतबाट अलग्गिएर अलग्गै राष्ट्र बनेको थियो। पाकिस्तानले सोमबार नै स्वतन्त्रता दिवस मनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.