|

डडेल्धुरा : देशका विभिन्न स्थानमा गएको बाढीपहिरोमा परेकाहरुको उद्धारमा सहयोग पुर्‍याउन प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट उग्रतारा सहकारी संस्थाले आर्थिक रकम संकलन गरी राहत पठाएको छ। बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री देउवाको गृह जिल्लामा सोमबार पहिलो पटक ५० हजार २ सय ९५ रुपैयाँ राहत संकलन गरी जिल्ला दैवी प्रकोप उद्धार समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको छ।

डडेल्धुरास्थित उग्रतारा कृषक बहुउद्देश्यीय सहकारी संस्थाको पहलमा बाढीपीडितका लागि भन्दै संकलन गरिएको उक्त रकम जिल्ला प्रशासन कार्यालय डडेल्धुरामै गई डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टलाई हस्तान्तरण गरिएको छ।

सहकारीका प्रतिनिधि, सञ्चारकर्मी, राजनीतिक दलका प्रनितिधिहरुको संयुक्त टोलीले जिल्ला सदरमुकाममा राहत संकलन गरेको  हो। राहत रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टले भने, ‘विपत्तिमा परेकाहरुलाई सहयोग गर्नु नै मानवीय धर्म हो भन्ने भावना लिई राहत रकम संकलन गरेकोमा उग्रतारा सहकारी संस्थालाई धन्यवाद दिन्छु।’ उदाहरणीय काम गरेकोमा धन्यवाद दिँदै उनले संकलन भएको राहत रकम तत्काल प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाउने बताए।

बाढीपहिरोबाट पीडितहरुका लागि सहयोग पुगोस् भन्दै डडेल्धुरा सदरमुकामस्थित कीर्तिपुर, तुफानडाँडा, बागबजार क्षेत्रबाट राहत संकलन गरिएको उग्रतारा कृषक बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ ।

राहत संकलन बाट एक आपसमा सहयोगको भावनामा बृद्धि हुने सहकारी अध्यक्ष गणेश अवस्थीले बताए । उनले सहकारीको सिद्धान्त, 'एकका लागि सबै र सबैका लागि एक' भन्ने नारालाई आत्मसाथ गर्दै रकम संकलन गरी रकम दैवी प्रकोप उद्धार समितिमा बुझाएको बताए ।

जिल्ला अपांगता समिति सदस्यसमेत रहेका अध्यक्ष अवस्थीले आफू अशक्त हुँदा हुँदै पनि पीडामा परेका नागरिकहरुको उद्धारका लागि आर्थिक संकलन गरी पठाइएकोमा खुसी व्यक्त गर्दै यसले समाजमा आपसी सहयोगको भावना जागृत गर्ने विश्वास लिएका छन्। राहत संकलनलाई अझै जारी राख्ने उग्रतारा कृषक बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य गोकुल शालीले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.