सेवा दिन विकट क्षेत्रमा जान आग्रह

|

गोरखा : मंगलबारबाट गोरखामा यातायात व्यवसायी समिति गोरखाको १२औं साधाराणसभा तथा छैटौं अधिवेशन सुरु भएको छ। सोही अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यबाहक अध्यक्ष, उपाध्यक्ष र महासचिवले साझा यातायातको खुलेरै विरोध गरे।

कार्यक्रममा सम्बोधन गर्दै महासंघका महासचिव सरोज सिटौलाले भने, ‘साझा यातायात फाइदाका लागि आएको हो? होइन भने राज्यले ५० प्रतिशतभन्दा धेरै लगानी रहेको साझाले किन जहाँ ठूला, राम्रा र चिल्ला सडक छन् त्यहीँ मात्र किन जान्छ। हामी घर बारी धितोमा राखेर गाडी खरिद गरी सेवा दिनेहरु भने जीर्ण, कच्ची र कहाली लाग्दो सडकबाट सेवा दिन बाध्य छौं।’ साझाले नाफा खोजेकै कारणले एक वर्ष अगाडि देशका विभिन्न सहरहरुमा चलाउने गरेको बस अहिले ती ठाउँमा चलाउन छाडेको आरोप लगाए।

‘साझाले नाफा खोजेकै हो’ उनले  भने, ‘नाफा खोजेको होइन भने एक वर्ष अघि काठमाडौं–गोरखा, काठमाडौं–भैरहवा लगायतका सहरमा छुटेका साझाका बस अहिले किन काठमाडौंका ठूला बाटोहरुमा फर्किए। गोरखा भैरहवामा बस चलाएर नाफा नहुने भएपछि न उसले बस सञ्चालन गर्न छोडेको हो।’

उनले साझाले सेवा दिने हो भने विकट क्षेत्रमा जानसमेत आग्रह गरे। ‘हामीले कैयौं विकट क्षेत्रमा सेवा दिइरहेका छौँ’ आक्रोशित हुँदै उनले भने ‘साँच्चीकै साझाले जनताको सेवा चाहन्थ्यो भने कर्णालीका सडकमा गाडी चलाओस्।’ उनले सरकारले नै विभिन्न कम्पनीको नाममा सिण्डिकेट लादेको आरोप लगाए।

कार्यक्रममा महासंघका राष्ट्रिय उपाध्यक्ष विजय कुमार स्वाँरले सरकारले लगानी गरेको यातायातले सुविधायुक्त ठाउँमा मात्रै गाडी चलाएको आरोप लगाए। ‘देशको अर्थतन्त्रको चौथो छडी भनेर निजी क्षेत्रमा पनि यातायातलाई लिने’ उनले भने, ‘अनि किन कैंचे थाप्ने? राज्यले लगानी गरेको साझालाई दूर दराजका सडकमा सेवा दिन पठाउन मिल्दैन?’

कार्यक्रममा छोटो मन्तव्य व्यक्त गर्दै महासंघका राष्ट्रिय अध्यक्ष डोलराज खनालले सरकारले साझालाई उक्साएर अन्य व्यवसायीलाई धरापमा पार्ने काम गरेको बताए। ‘सरकारले साझालाई उक्साइरहेको छ’ उनले भने, ‘साझाको सेवा र हाम्रो सेवा कहाँ कसरी भइरहेको छ देखेकै कुरा हो। हाम्रा सवारीहरुमा रहेका छत हटाइनुपर्ने रे। गाउँका जनताले बजार आउँदा जाँदा लैजाने झिटी झाम्टोको सहज ओसार पोसारको व्यवस्था गरिदिए हामी छत के डिकी पनि राख्दैनौं।’ कार्यक्रममा यातायात व्यवसायी समिति गोरखाका अध्यक्ष रामहरि केसीको अध्यक्षतामा भएको हो। अधिवेशनले बुधबार नयाँ नेतृत्व पाउनेछ।

व्यवसाय तथा जनप्रतिनिधि सम्मानित

यातायात व्यवसायी समिति गोरखाका व्यवसायीसमेत रहेका गोरखाका नगर तथा गाउँपालिकामा निर्वाचित भएकाहरुलाई पनि सम्मान पत्रका साथ दोसल्ला ओडाएर सम्मान गरिएको छ। सम्मानित हुने जनप्रनितिधिहरुमा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, गोरखा नगरपालिकाका नगरसदस्य आनन्द गुरुङ, शुलिकोट गाउँपालिकाका कृष्ण गुरुङ, सहिद लखन गाउँपालिकाका शरण श्रेष्ठ,

देउबहादुर गुरुङ, सिरान्चोक गाउँपालिकाका नारायणबाबु दानी, गोरखा नगरपालिकाका कुलबहादुर कुँवर, भीमसेन गाउँपालिकाका बासु थापा रहेको यातायात व्यवसायी समिति गोरखाका महासचिव सुरेन्द्र कुँवरले जानकारी दिए। अधिवेशनकै अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारी सुदर्शन मास्के र चालक दीपक सुनारलाई सम्मान पत्रका साथमा दोसल्ला ओढाएर सम्मान गरियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.