|

दाङ : दाङको तुलसीपुर-१३ शीतलपुरनजिक बबई नदीमा एक जनाको शव फेला परेको छ। मंगलबार बिहान स्थानीयले नदीको किनारामा अन्दाजी ३५ वर्षको जस्तो देखिने युवाको शव फेला पारेको प्रहरीले जनाएको छ।

त्यस्तै, दंगीशरण गाउँपालिका-६ स्थित बबई नदीको किनारामा पनि एकजना पुरुषको शव फेला परेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयकुमार शाहले जानकारी दिएका छन्। दुवै शवको पहिचान खुल्न सकेको छैन। बबई नदीले बगाएर त्यहाँ शव ल्याएको हुन सक्ने प्रहरीले बताएको छ। घटनास्थलमा प्रहरी टोली पुगेको बताएको छ ।

बाढीले पाइप बगाउँदा खानेपानीको संकट

अविरल वर्षापछि बाढीले खानेपानीको पाइप बगाउँदा दाङमा खानेपानीको अभाव देखिएको छ। तुलसीपुर खानेपानी तथा सरसफाइ समितिअन्तर्गतका तीन हजार बढी उपभोक्ता पाँच दिनदेखि खानेपानीको अभावमा पिल्सिएका छन् ।

शुक्रबार राति आएको अविरल वर्षासँगै बाढीले खानेपानीको मुहान मूलकोट, पातुखोला र बेलुवाको पाइप बगाउँदा खानेपानीको अभाव देखिएको खानेपानी समितिका अध्यक्ष खेमराज वलीले जानकारी दिए। तुलसीपुर, रक्षाचौर, मजुवा, बेलुवा, गणेशपुर लगायतका उपभोक्ता विगत पाँच दिनदेखि खानेपानीको अभाव भोगीरहेका छन्।

खानेपानीको विकल्प नहुँदा उपभोक्ताले मिनरल वाटर तथा आकाशको पानी थापेर खान बाध्य भएका छन्। स्थानीय चन्द्रा वलीले भने, 'धारामा पानी नआएको पाँच दिन भइसक्यो आकाशको पानी खान बाध्य छौं, अन्य खानेपानीको विकल्प छैन।' त्यसैगरी अन्य उपभोक्ताले भने आकाशको पानीले भान्साको गर्जो टार्ने र खानेपानीको लागि मिनिलर वाटर तथा ट्यांकरबाट पानी बोकाएर खान बाध्य भएको स्थानीय प्रकाश केसीले बताए।

त्यसैगरी, विगत पाँच दिनदेखि पानी नआउँदा राप्ती आँखा अस्पतालमा समेत पानीको हाहाकार भएको छ। अस्पतालमा आउने बिरामीलाई ट्यांकरबाट बोकाएर खानेपानीको व्यवस्था मिलाएको लेखा प्रमुख कृष्णप्रसाद भट्टराईले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.