|

  • बुद्धकुमार आछामी

सिन्धुली : सञ्चार सेवा प्रदायक सरकारी संस्था नेपाल टेलिकम र मोबाइल टावर निर्माण कम्पनीको लापरबाहीका कारण जिल्लाका आधा दर्जन स्थानमा निर्माण हुने भनिएका जिएसएम मोबाइल टावर ३ वर्ष बित्दा समेत निर्माण हुन सकेका छैनन्। 

आर्थिक वर्ष २०७१-०७२ मा निर्माण कार्य सुरु गरिएको मोबाइल टावर झण्डै ४ वर्ष बित्दा समेत निर्माण सम्पन्न नहुँदा सेवाग्राहीहरु मारमा परिरहेका छन्। मोबाइल सेवा प्रदायक निजी कम्पनीहरु मोटाउँदै गएका छन्।

भारतले गरेको अघोषित नाकाबन्दी र विनाशकारी भूकम्पका कारण निर्माण कार्यमा ढिलाइ भएको भनिए पनि अहिलेसम्म निर्माण कार्य सम्पन्न हुन सकेको छैन। चिनियाँ कम्पनी हुवावेले जिल्लाको २० स्थानमा जिएसएम टावर निर्माण गर्ने जिम्मा पाएको थियो।

त्यसमध्ये १५ वटा टावरको काम सकिएको छ। यी टावरहरु सञ्चालनमा आइसकेका छन्। ५ वटा स्थानका टावर भने निर्माण हुन सकेका छैनन्। टावर निर्माण ग्रामीण क्षेत्रका जिएसएम मोवाइल प्रयोगकर्ताहरु प्रभावित भएका छन्। नहुँदा नेपाल टेलिकमले करोडौं घाटा व्यहोरेको छ। 

साबिक पिपलमाढी, कपिलाकोट, बस्तीपुर, खाङसाङ्ग, तिनकन्या गाविसमा जिएसएम टावर निर्माणाधीन अवस्थामा रहेको नेपाल टेलिकमको कार्यालयले जनाएको छ। टावर निर्माण कार्य सम्पन्न भएमा जिएसएम मोबाइल प्रयोगकर्ताहरुले जिल्लाभरी जुनसुकै क्षेत्रबाट सेवा प्रयोग गर्न सक्ने छन्।

हाल जिल्लामा नगरपालिका क्षेत्रमा ६ र  साबिक हर्षाही, दुधौली, हत्पते, भिमेश्वर, झा.रा., भिमस्थान र भद्रकाली गाविससहित जम्मा २७ वटा जिएसएम मोबाइल टावर सञ्चालनमा रहेका छन्। मझुवा, हरिहरपुरगढी, झा.रा., खोलागाउँ, वेलघारी, ककुरठाकुर, महादेवस्थान, खनियाखर्क र कनपाको भद्रकालीमा स्काई मोबाइल टावर सञ्चालनमा रहेको कार्यालयले जनाएको छ।

कमलामाई नगरपालिका क्षेत्रमा भने सिडिएमए, वाईम्याक्स र ल्यान्डलाइन सेवाको टावर समेत सञ्चालनमा रहेका छन्। नेपाली टेलिकम सिन्धुलीको असार मसान्तसम्मको तथ्याङक अनुसार जिल्लामा जिएसएम पोष्टपेड मोबाइल प्रयोगकर्ता ७०७, प्रिपेड प्रयोगकर्ता ३६ हजार ६६२, स्काई मोबाइलको पोष्टपेड प्रयोगकर्ता ६४०, प्रिपेड १३ हजार ९९९, सिडिएमएको पोष्टपेड प्रयोकर्ता ९८, प्रिपेड प्रयोगकर्ता १ हजार ९६४ ल्यान्डलाइन प्रयोगकर्ता १ हजार ३७२ छन्। 

त्यस्तै इन्टरनेट सेवा एडिएसएल ग्राहक संख्या ३०२ र वाइम्याक्स प्रयोगकर्ता ६६ छन्। जिल्लाको जुन क्षेत्रमा पनि एनसेल र स्मार्ट फोनको सेवा लिन सकिने भएकाले पछिल्लो समय प्रयोगकर्ताहरु त्यसतर्फ आकर्षित हुँदै गएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.