|

डडेल्धुरा : छाउपडी प्रथा सुदूरपश्चिममा जकडिएर बसेको छ। यस प्रथाअनुसार महिलाहरु महिनावारी हुँदा छाउगोठ बस्न बाध्य छन्। महिनावारी भएका बेला राम्रो स्याहार पाउनुपर्ने महिलाहरु उल्टै छाउगोठ बस्न बाध्य भएपछि स्वास्थ्यमा प्रतिकुल असर पर्ने भइ नै हाल्यो।

कतिपय महिलाले छाउगोठमै ज्यान गुमाउनु परेका घटना बेला–बेला सार्वजनिक हुने गरेका छन्। सुदुरपश्चिमको सभ्यतामाथि निरन्तर व्यङ्ग्य गरिरहेको छाउपडी प्रथाको उन्मुलनका लागि प्रयास नभएका होइनन्। तर पनि समाजिक अन्धविश्वासलाई चिर्न नसक्दा यो प्रथा उन्मुलन हुन सकेको छैन। 

छाउपडी प्रथा धार्मिक अन्धविश्वासको नतिजा भएपनि धार्मिक आस्था राख्ने सबै व्यक्ति यस प्रथाको पक्षमा छन् भन्ने होइन। डडेल्धुराको अजयमेरु गाउँपालिका देवज दिव्यपुर स्थायी घर भएका ६४ वर्षीय टेकराज भट्ट पेशाले धामी हुन्।

धार्मिक विश्वासअनुसार ‘धामी’ भन्नाले तन्त्रमन्त्र गर्न सक्ने व्यक्ति भन्ने बुझिन्छ। उनी धार्मिक आस्थामा विश्वास राखेर पनि छाउपडी प्रथाको उन्मुलनका लागि सक्रिय व्यक्तिमध्ये एक हुन्। उनले ५ कक्षामात्रै पढेका छन्। तर छाउपडी प्रथाको विरुद्धमा सञ्चालन गरिएका थुप्रै तालिममा सहभागी भइसकेका छन्। 

‘म हात जोडेर भए पनि महिलालाई महिनावारी भएको बेला व्यवस्थीत बास, सरसफाइ, पोषणयुक्त खानेकुराको बारेमा बताउँछु,’ भट्टले भने ‘आफु जस्तै अरु धामी तथा पुजारीहरुलाई पनि छाउपडी प्रथाको बारेमा सिकाउँछु।’

भट्ट अहिले पनि धामी काम्छन् तर महिनावारी भएको महिलाले छुँदा आफूलाई कहिले त्यस्तो अप्ठ्यारो नभएको बताउँछन्। उनका तिन छोरा र तिन बुहारी छन् तर आफ्नो घरमा बुहारीहरु महिनावारी भएको बेला भेदभाव नहुने गरेको उनी बताउँछन्।

आफ्नै घरबाट छाउपडी उन्मुलनको अभियान सुरु गरेका भट्ट अहिले कन्चनपुरको कृष्णपुर नगरपालिकाको वडा नं २ मा बस्छन्। आफ्नो वडा नं २ र ३ मा छाउपडी प्रथा न्युनिकरणका लागी बेला–बेलामा तालिम संचालन गर्दछन्।

गाउँमा भेला गरेर ‘छुइ’ भन्ने कुरा हुँदैन र महिनावारी भएको बेला महिलालाई झन स्याहारको आवश्यकतामा हुने कुरामा उनी जोड दिने गर्दछन् ।
आफू वर्षौदेखि छाउपडी प्रथाको विरुद्धमा भएको भट्ट बताउँछन्। उनको चाहना आफु मर्नुअघि नै देशबाट छाउपडी प्रथा उन्मुलन होस् भन्ने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.