|

लहान : पाँच दिनसम्म लगातार परेको वर्षात्पछि आएको बाढीले सप्तरीमा दुई जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढी परिवार प्रभावित छन्। 
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार साउन २६ गते राजविराज नगरपालिका १५ स्थित खाडो नदीको बाढीले बगाएर बेपत्ता भएका देउरीभरुवाका करिब ६० वर्षीय डोमी यादव अझै भेटिएका छैनन्।

त्यस्तै, आफ्नो खेतबाट काम गरेर घर फर्किदै गरेका डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुरका ५५ वर्षीय नथुनी रामको स्थानीय तरकैया खोलाले बगाएर मृत्यु भएको प्रहरी उपरीक्षक सिंहले बताए। उनको शव सोमबार बिहान भेटिएको थियो।

सप्तरीको कृष्णासवरण गाउँपालिका २ सीतापुरस्थित गैडी पुलमुनि नवजात शिशुको शव भेटिएको छ। प्रहरी उपरीक्षक सिंहका अनुसार रुपनी गाउँपालिका ६ तेरहौताकी महिला सीतापुर स्थानीय स्वास्थ्य चौकीमा आइतबार राती सुत्केरी भई शिशुसहित राती नै घर फर्किएकी थिइन्।

शिशुलाई कसैले नफालेसम्म बाढीले बगाउनै नसक्ने हुनाले फालिएको हुन सक्ने आशङ्काको आधारमा सोमबार नै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पोष्टमार्टम गरिएको छ। 

दस हजार भन्दा बढी परिवार प्रभावित

पाँच दिनसम्म लगातार आएको वर्षात् र बाढीले पूर्व पश्चिम सडकदेखि दक्षिणतिर पर्ने प्रायः सबै गाउँ डुबानमा परेका छन्। बाढीले विभिन्न गाउँका गरी करिब पाँच हजारभन्दा बढी कच्ची घर बगाएको अनुमान गरिएको छ।

प्रहरी उपरीक्षक सिंहका अनुसार करिब चार हजार परिवार बिस्थापित भएका छन्। जिल्लाको दक्षिणी भेगमा पर्ने राजविराज, तिलाठी, कोइलाडी गाउँपालिकाको तिलाठीसहित रम्पुरा मल्हनियाँ, कोइलाडी बर्साइन, लौनियाँ, हनुमाननगर कंकालिनी नगरपालिकाको इनर्वा, हनुमाननगर, मधवापुर, पोर्ताहा, भारदह, सखरपुरा, बैरयाही सबैभन्दा बढी प्रभावित छन्।

खाँडो नदीको बाँध भत्किएर बाढी पस्दा मलेठ गाउँ डुबेको छ भने रुपनी गाउँपालिकाका विभिन्न वार्डहरु प्रभावित भएका छन्। सुन्दरी र बान्द्रा खोलाको बाढीले कञ्चनरुप नगरपालिका क्षेत्र पनि डुबानमा परेको छ। महुली खोलाको बाढी बस्ती पसेपछि जण्डौल, बकधुवा, सीतापुर, पोर्ताहा लगायत गाउँ डुबेका छन्।

त्रियुगा खोलाको बाढीले सप्तकोशी नगरपालिका र महुली खोलाको तटबन्ध भत्किएर तिरहुत गाउँपालिका अन्तर्गत पर्ने गाउँहरु डुबेका छन्। राजविराज कुनौली सडकको रञ्जितपुर खण्ड बाढीले बगाउँदा जिल्लाको दक्षिणी क्षेत्रको सदुरमुकामसँग सम्पर्क विच्छेद  भएको छ।

दर्जनौ ठाउँमा पुल क्षतिग्रस्त

सप्तरी खडक नगरपालिका ७ र ८ को सीमामा पर्ने पूर्व पश्चिम सडकको खडक खोलाको पुलको पूर्वपट्टि पाँच वटा खम्बा कटान गरी खसाउँदै करिब १० मिटर सडक कटान गरेपछि एकतर्फी रुपमा यातायत संचालन गरिएको छ।

शम्भुनाथ ६ मा पूर्व पश्चिम सडकको फापी खोलाको पुल, रुपनी गाउँपालिका ६ स्थित दुधेला खोलाको पुलको पश्चिमी भाग कटान गरेको छ भने सुरुङगा नगरपालिका ५ स्थित बिर्घना पुलको बायाँपट्टि करिब दुई फिट जति खाल्डो परेपछि एकतर्फी यातायात संचालन गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, बाढीले कृष्णसवरण गाउँपालिका २ सीतापुरस्थित गहेडी पुलको पूर्व दक्षिणपट्टि कटान गरेपछि एकतर्फी रुपमा यातायात संचालन गरिएको छ।

बिस्थापितहरु घर फर्कँदै

बाढी र डुबानले बिस्थापित भएकाहरु क्रमशः आफ्नो घर फर्किने क्रम शुरु भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जानकारी दिए। प्रजिअ पाण्डेका अनुसार जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा बाढी र डुबानबाट प्रभावित भएकाहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समिति, स्थानीय संघ संस्थाको पहलमा त्रिपाल, लत्ता कपडा, खानेकुरा वितरण गर्न थालिएको छ।

वर्षात् र बाढीले गरेको भौतिक क्षतिको लगत संकलन गर्न रेडक्रस, सम्बन्धित गाउँपालिका, नगरपालिका, स्थानीय रुपमा रहेका सुरक्षा निकायको समन्वयमा आगामी एक हप्ताभित्र सक्नेगरी काम थालिएको प्रजिअ पाण्डेले बताए। 

समितिले यसअघि नै हनुमानगर कंकालिनी नगरपालिका, रम्पुरा मल्हनियाँ, डलवा र तिलाठीका बाढी पीडितलाई राहत र बासका लागि त्रिपाल वितरण गरेको छ।

समितिले महुलीमा आएको बाढीबाट प्रभावित कञ्चनरुप नगरपालिका ९ रघुनाथपुरका चार र रुपनी गाउँपालिकाका दुई गरी ६ परिवारलाई २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको छ। समितिले जिल्लाका बाढीबाट प्रभावित परिवारको लगत संकलनपछि १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.