|

‘बाढी आयो हजुर, बाढी’, तराईबाट आवाज आयो।

‘हो हजुर, यता पनि पहिरो आयो’, पहाडबाट पनि आवाज सुनियो।

'त, के भो त?' सिंहदरबारले तिनै आवाजतिर प्रतिप्रश्न गर्‍यो।

‘केचाहिँ भएन र हजुर! सबै भयो। धेरैको ज्यान गयो। कति घाइते भए। हजारौँ घर बगायो। लाखौँ बस्तुभाउ मरे। हामीलाई खाने कुरा छैन। बिरामी हुँदा औषधि छैन। हाम्रो बेहाल भो हजुर।’

‘त, के भो त?’ सिंहदरबारले पुनः सोध्यो। 

‘हाम्रा आफन्त मरे। हामी घरका न घाटका भयौँ। गाउँमा शोक पर्‍यो हजुर! यो भन्दा के हुनुपर्‍यो र?’

‘त के भो त?’

‘कस्तो के भो त हजुर? ए हजुर, हामी त सुकुम्बासी भयौँ। बस्ने घर पनि लड्यो। खेतीपाती पनि सब डुब्यो। हाम्रो त जहाजै डुब्यो।’

‘त, के भो त?’

‘सखापै भो नि हजुर! जे हुनुपथ्र्यो त्यो भएन, नहुनुपर्नेचाहिँ सबै भो। दैवको लीला भनौँ कि हाम्रो कर्म भनौँ, हामीमाथि ठूलो बज्रपात पर्‍यो।’

‘त के भो त? थाहा रहेछ त दैवको लीला भन्ने। जे गर्छ दैवले गर्छ। मनुष्यले त के गर्ने?’

‘ए हजुर, सिंहदरबारले पनि कस्तो गैरजिम्मेवार कुरा गरेको? अरू बेला त हामीले सिंहदरबारलाई दुःख दिएका थिएनौँ। आफैँले दुःखजिलो गरी खा’का थ्यौँ। अहिले त हामीमाथि यस्तो बाढी पहिरोको विपद् आइलाग्यो। यस्तो अवस्थामा त हेर्नुपर्‍यो नि सिंहदरबारले!’ जनताले सिंहदरबारतिर याचना गरे।

‘हेर्न त हामी हेरिरा’का छौँ। चिन्ता लिनुपर्दैन’, सिंहदरबारले भन्यो।

‘खै हेरेको हजुर! कपडा नभएर हाम्रा आङ रित्ता छन्। घर नभएर आकाशमुनि बास बस्नुपरेको छ। राज्यले हेरेको भए यस्तो बेहाल हुन्थ्यो र हाम्रो?’
‘लौ, हामी हेरी त रा’छौँ नि! २४ घण्टा टीभीमा हेरिरा’छौँ। हेर्दाहेर्दा हाम्रा आँखा टट्टाइसके।’ 

‘टीभी हेरेर भएन नि हजुर! हाम्रो बेहालतिर आँखा लगाउनुपर्‍यो। हाम्रो नांगो आङ हेरिदिनुपर्‍यो। हाम्रो भोको पेट हेरिदिनुपर्‍यो। हाम्रा मरेका आफन्तको लाश हेरिदिनुपर्‍यो।’ 

‘हो, हो, हामीले त्यही हेरिरा’छौँ। नांगो आङ, भोको पेट, मरेका मान्छेका लाश सब टीभीले देखाइरा’छ। हामी सिंहदरबारमा बसेर ती सबै हेरिरा’छौँ। हामीले त टीभीमा मात्र हेरेर भएन भनेर हेलिकोप्टरबाट पनि दुर्विन लगाई लगाई हेर्‍यौँ। माथि आकाशबाट पानीमा मान्छे बगाएको हेर्‍यौँ। नांगो शरीरमा बच्चा दौडेको देख्यौँ। हामीले सबैका भोका पेट र नांगा आङ हेर्‍यौँ। त्यति मात्र होइन, हामीले सबलाई शान्त भएर बस्न पनि भन्यौँ।’

‘ए हजुर, हेरेर मात्र पुग्ने यो फिल्म हो र?’ 

‘हेरेको मात्र होइन, भाषण पनि गर्‍यौँ हामीले।’ 

‘भाषणले पेट भरिन्छ र?’ 

‘लौ, भाषणले पेट नभरिने भा’ हाम्रा भाषण सुन्न ती मान्छे किन आ’का त? हामीले भाषण गरेको ठाउँमा नांगै भुतुंगै भाषण सुन्न आ’का थे। हामीले भाषण गर्दा तँछाड मछाड गर्‍या थे।’ 

‘ती त भाषण सुन्न होइन, बरु केही राहतका सामग्री छन् कि भनी आ’का थे। तर भोको पेटले भाषण सुने, फर्के। यसरी त भएन नि हजुर!’

‘त, के गर्नु परो त?’ सिंहदरबार पनि अलि चर्को स्वरमा गज्र्यो।

‘हामीलाई उद्धार गरिदिनुपर्‍यो। कोसीको ढोका खोलिदिनुपर्‍यो। आहतमा राहत चाहियो हजुर!’

‘ओहो! उद्धार नभा’को भा’ कसरी यत्रो आवाज निकाल्न सक्नु भो हँ? उद्धार नभा’का त जिब्रो टोकिसके। उद्धार भएरै त तपाईंको यो आवाज आ’को छ।’ 

‘अनि राहतचाहिँ नदिने?’

‘राहतको लागि त हामीले सबलाई अनुमति दि’सक्यौँ। गाउँका एक सदस्य समितिदेखि लिएर खाडी मुलुकमा मजदुरी गर्नेसम्मले राहत बाँड्ने अनुमति पाइसके। कम प्रशंसनीय काम गरेका छौँ हामीले अनुमति दिएर। अब त गाउँभरि राहत नै राहत। जति चाहत उति राहत।’

‘तर हामीले त अहिलेसम्म राहत पाका छैनौँ त हजुर?’

‘त, के भो त?’ 

‘राहत नपाएपछि हाम्रा बालबच्चा भोकै भए। हामी भोकै भयौँ। हामी मर्ने भयौँ।’

‘त, के भो त?’ 

‘ओहो! हामी मर्ने भयौँ भन्दा पनि पनि त के भो त? के हामी भोकै मरेको तपाईं हेर्न सक्नुहुन्छ? हाम्रा बालबच्चाको बिचल्ली भएको देख्न चाहनुहुन्छ?’ जनताले पनि आक्रोश पोखे।

‘मैले त राहतको भाषण गरिसकेँ। राहत दिन आदेश फर्मान गरिसकेँ। त्यति मात्र होइन, तोक लगाइसकेँ”, सिंहदरबारले भन्यो।

‘तोकले कहाँ राहत हुन्छ र हजुर! तोक खान मिल्दैन। आदेश खान मिल्दैन। भाषण खान मिल्दैन।’ 

‘खान नमिले त, के भो त?’

‘भोकै मर्ने भैयो हजुर!’

‘त, के भो त? एक दिन मर्ने चोला हो। यो जुनीमा बाँचे कति दुःख होला। बरु मरे स्वर्गको बास होला’, सिंहदरबारले सल्लाह दियो।

‘ओहो हजुर! हामी मर्ने तपाईं बाँच्ने?’

‘त, के भो त? तपाईं मर्ने म बाँच्ने। यसमा अचम्म मान्नपर्ने कुरै छैन।’ 

‘किन हजुर?’

‘हामी सेवक। मतलब जनताको सेवक। हामी नै मरे जनताको सेवा कसले गर्ने? अर्को वर्ष बाढी पहिरो आउँदा यो वर्ष जस्तै टीभीमा कसले हेर्ने? जनता मरे त राज्यको भार घट्ने, हामी मरे त जनताको सेवक घट्ने। भार घटेको राम्रो कि सेवक घटेको राम्रो? तपार्इँ आफैँ भन्नुुुस्।’

‘ओहो हजुर, हामी मर्नुपर्ने? अचम्मको कुरा गर्नु भो हजुर!’

‘त, के भो त? किन अचम्म? देशको लागि मर्नुपर्नेले मर्ने, बाँच्नुपर्नेले बाँच्ने।’

‘ए हजुर, बाढी पहिरोमा परेर भोकभोकै मर्दा पनि देशको लागि मरेको हुन्छ? हामी जनता मरेर देशलाई बोझ कम हुन्छ र?’

‘देशलाई बोझ कम नभए पनि नेतालाई कचकचचाहिँ अवश्य कम हुन्छ। म कति सुनौँ यो कचकच कचकच। एक निद्रा राम्रोसँग ननिदाई सिंहदरबारको कुर्सीको म्याद सकिन्छ। कति कचकच गर्न सकेको हे प्रभु! मलाई दया गर’, जनतासँग संवाद गर्दागर्दै सिंहदरबारका मालिकले भगवानसँग लाचारी प्रकट गरे। 

सिंहदरबारको लाचारी देखेर जनताको आशा मर्‍यो। बाटो लागे। जनता बाटो लागेपछि नेताले बल्ल राहतको सास फेरे। नेताले फेरि सोचे, ‘एक गएर के गर्नु अर्को कराउन आउँछ। यहाँ त राहत त बाढीपीडितलाई होइन, सिंहदरबारलाई पो चाहिएको रहेछ!’ 

‘ए मलाई राहत ले! सिंहदरबारमा बस्न गाह्रो भो मलाई’, नेताले कारिन्दालाई आदेश दिए।

‘कस्तो राहत? मतलब कुन आइटम ल्याऊँ हजुर? पिजा, मम, चाउमिन, चिकेन चिल्ली?’

‘खानेकुरा होइन, मलाई कपास र कालो चस्मा ल्याइदे।’

‘किन हजुर? कपास र कालो चस्माले त पेट भरिन्न?’

‘मलाई पेट भर्ने राहत होइन, मलाई कान नसुन्ने र आँखा नदेख्ने राहत चाहियो। म यी जनताको रातदिनको कचकच सुन्न पनि सक्दिनँ, हेर्न पनि सक्दिनँ। यति छोटो समयको कुर्सीमा पनि कति कचकच कचकच ... ?’ नेता बर्बराए।

कारिन्दाले किस्तीमा राखेर कालो चस्मा र कपास ल्याइदियो। नेताले कालो चस्मा लगाए, कानमा कपास खाँदे अनि कुर्सीमै निदाए। बाहिर नेमप्लेटमा भने लेखिएको थियो, ‘व्यस्त।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.