|

काठमाडौँः रोजगारीका क्रममा मलेसियामा कार्यरत कथाकार जीवन देवान ‘गाउँले’ र व्यंग्य चित्रकार तुलसी विन्दुको कृति सार्वजानिक भएका छन्। गाउँलेको कथासंग्रह ‘पार्सल’ र विन्दुको कार्टुनसंग्रह ‘विन्दुवाण’को बागबजारस्थित सिटीम्याक्समा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ कवि एवं नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले सार्वजनिक गरेका हुन्।

‘पहिले हाम्रा पुर्खाहरू लाहुरे भएर आउँथे, अहिले साहित्यकार भएर आउन थालेका छन्। प्रवासमा रहेर पनि साहित्य लेखिरहेका जीवन देवान ‘गाउँले’मा राम्रो कथाकारिता रहेको मैले पाएँ’, कृति सार्वजनिक गर्दै काइँलाले भने, ‘यसैगरी तुलसी विन्दुको व्यंग्यचित्र आउँदा खुसी लाग्यो। यो विधा प्रवासमा फस्टाउन नसकेको विधा हो।’

कवि तथा समालोचक सुरेश हाचेकालीले भारतभन्दा अर्को मुलुक जाने नेपालीलाई ‘अरपे’ भनिने यसै कथा संग्रहबाट बुझ्न पाएको सन्दर्भलाई जोड्दै उनले भर्ती भएर जानेलाई लाहुरे भनिएझैँ वैदेशिक रोजगारमा जाने नेपालीलाई अरपे पर्याय बन्न यससंग्रहले सघाउ पु¥याएको बताए।

संग्रहभित्र रहेको एउटा कथा सुयोगबाहेक सबै वैदेशिक रोजगारीका कथा रहेको भन्दै उनले यस कृतिलाई वैदेशिक रोजगारीको कथा सँगालो भन्न मिल्ने बताए। 
कवि तथा कथाकार बिना थिङ तामाङले ‘पार्सल’का कथाहरू सामाजिक परिवेशबाट टपक्क टिपिएको बताइन्। ‘अरपे’ कथाको प्रसंग झिक्दै समाजमा अझै पनि कथाका पात्र ‘हर्के साहु’हरू विद्यमान रहेको उनले चर्चा गरिन्। 

नेपाल प्रज्ञाप्रतिष्ठानका आख्यान विभाग प्रमुख प्राज्ञ मातृका पोखरेलले आफूले पहिलो कथा लेख्दा त्यति राम्रो नलेखेको तर जीवन देवान गाउँलेको पहिलो कृति नै यतिको चोटिलो रहेको भन्दै प्रशंसा गरे। उनले भने, ‘नेपाली कथा साहित्यमा गाउँलेको लोभलाग्दो उपस्थिति रहेको मैले पाएँ।’ 

प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले आफूले कथा पढी नसकेको तर समीक्षकहरूको टिप्पणी सुनेर पुरै पढ्ने लालसा जागेको बताए। ‘कथाको चर्चा सुन्दैमा कथाकारमा संभावना छ भनेर ठोकुवा गर्न सकिन्छ’, उनले थपे। 

कवि तथा प्राज्ञ शशि लुमुम्बूले नेपाली डायस्पोराबाट नेपाली साहित्यमा पछिल्लो चरणमा गहन कृतिहरू आइरहेको चर्चा गर्दै विमोचित दुई कृतिले मलेसियाको नेपाली साहित्यको झलक दिएको विचार व्यक्त गरे। 

किरात याक्खा छुम्माका अध्यक्ष लील रोगुले लेखक लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाले भेटघाट गर्न नपाए पनि आफ्नै जिल्लावासी तथा समुदायको सिर्जना प्रकाशन हुनु खुसीको कुरा भएको बताए। 

कार्यक्रमका संयोजक देवेन्द्र सुर्केलीले मलेसियामा सन् १९४७ देखि ‘पर्वते’ नेपाली पत्रिकाको प्रकाशन भएर नेपाली साहित्यको प्रादुर्भाव भएको बताउँदै करिब ६० वटाभन्दा बढी कृति आए पनि उचित चर्चा भने हुन नसकेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.