|

सुर्खेत : उनीहरू एउटै थालमा भात खान्थे। फुर्सदमा तीनै जना बाजे–नाति मिलेर रमाइलो पनि गर्थे। दौंतरीजस्ता बाजेनाति प्रायः एउटै ओछ्यानमा सुत्थे। बाँचुन्जेल तीनै जना सँगै रमाए। मृत्युपछि पनि उनीहरूको एउटै चिता बन्यो। मध्यरातमा पहिरोले घर बगाउँदा ज्यान गुमाएका सुर्खेत गुर्भाकोट नगरपालिकाका तीन बाजेनातिको सोमबार एउटै चितामा दाहसंस्कार गरिएको छ।

स्थानीय सिन्दुरेखोला गाउँमा पहिरोमा पुरिएर ज्यान गुमाएका ८३ वर्षीय गुमानसिं बुढा र उनका नाति १४ वर्षीय विक्रम र १२ वर्षका शरण बुढाको एउटै चितामा अन्तिम संस्कार गरिएको हो। खैरेनीघाटमा आफन्तले एउटै चिता बनाएर उनीहरूको सामूहिक दाहसंस्कार गरेका हुन्। मृतक गुमानसिंका माइला र कान्छा छोरा कर्णबहादुर र धनबहादुर बुढाले दागबत्ती दिएका थिए।लगातारको वर्षापछि आएको पहिरोले घर बगाउँदा शनिबार राति उनीहरूको मृत्यु भएको थियो।

मृतक किशोरका बाबु ओपीलाल बुढा मजदुरीका लागि भारतमा छन् भने ५५ वर्षीया आमा द्रुपदा बुढा गम्भीर घाइते छिन्। बाँचुन्जेलसँगै रमाएका बाजेनातिको एउटै चितामा दाहसंस्कार गरिँदा गाउँले भक्कानिएका थिए।

पहिरोले घर बगाउन थालेपछि विक्रम र शरण आमासँगै घरबाहिर भागेका थिए। तर, ८३ वर्षीय बाजे गुमानसिं घरभित्रै थिए। फेरि घरभित्र नछिरेको भए विक्रम र शरण बच्थे। तर, उनीहरूले बाजेलाई एक्लै छाड्न मानेनन्। पहिरोले घर नै बगाउन लाग्दासमेत बाजेलाई बचाउन भन्दै दुवै भाइ घरभित्र पसे। बाजेलाई बाहिर निकाल्न गएका उनीहरू बाहिर निस्कन भ्याएनन्। बाजेको मायाले घरभित्र पसेका उनीहरूको प्राण बाजेसँगै त्यागे।

काखबाट दुई भाइ छोरा गुमेपछि द्रुपदाको आँखा ओभाएको छैन। पहिरो आएपछि छोरासहित उनी घरबाहिर निस्किएकी थिइन्। तर, छोराहरू बाजेलाई बचाउन भन्दै घरभित्र पसे। हेर्दाहेर्दै घर पहिरोले लग्यो। छोराहरू गुमाउँदाको पीडाले उनलाई भतभती पोलिरहेकोे छ।

यसैबीच, मलामी गएका छिमेकीले मृतक परिवारलाई राहत उपलब्ध गराएका छन्। उनीहरूले पीडित परिवारलाई राहतस्वरूप १४ हजार एक सय ४६ रुपैयाँ प्रदान गरेका हुन्। यस्तै, गुर्भाकोट नगरपालिकाले प्रतिमृतक २५ हजार रुपैयाँका दरले राहत प्रदान गरेको नगरपालिकाका मेयर हस्त पुनले जानकारी दिए। नगरपालिकाले पीडित परिवारलाई खाद्यान्न पनि उपलब्ध गराएको छ। यस्तै, रेडक्रसले पनि पीडितलाई भाँडाकुँडा र कपडा वितरण गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.