|

काठमाडौं :  बाढी पहिरोले कृषिमा दुई अर्ब ७६ करोड रुपियाँ बराबरको क्षति पुर्‍याएको कृषि विकास मन्त्रालयले जनाएको छ। शुक्रबारदेखि परेको पानीका कारण आएको बाढीले सबैभन्दा बढी क्षति तराई मधेसमा पारेको छ।  

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता योगेन्द्र कार्कीले जानकारी गराए अनुसार मध्यमाञ्चलमा एक अर्ब ९५ करोड, पूर्वाञ्चलमा ६५ करोड, सुदूरपश्चिमाञ्चलमा नौ करोड, मध्यपश्चिमाञ्चलमा १५ करोड र पश्चिमाञ्चलमा ५८ लाख रुपियाँ बारबरको कृषिजन्य वस्तुमा क्षति पुगेको छ । 

सबैभन्दा बढी धान खेतीमा परेको छ।  मन्त्रालयमा सोमबार साँझसम्म प्राप्त तथ्याङ्क अनुसार करिब पाँच लाख हेक्टरमा धान खेतीमा क्षति पुगेको हो।  त्यस्तै तरकारी, माछा, केरा, कुखुरा, फलफूल लगायतमा पनि व्यापक क्षति पुगेको छ।  

बाढी पहिरोका कारण कृषि क्षेत्रमा देखिएको क्षति न्यूनीकरणका लागि मन्त्रालयले विभिन्न उपाय अघि सारेको छ । वर्षा र बाढी कम हुने बित्तिकै जमेको पानी निकासका लागि उपाय अवलम्बन गर्ने, डुबान सहन सक्ने स्वर्ण सव–१, साम्बा मनसुली सव–१, सेहराङ सब–१ रोपिएको भए दुई हप्तासम्म डुबान भए पनि क्षति नहुने पीडितलाई आश्वस्त पार्ने, डुबानमा परी धान नष्ट भएको ठाउँमा पुनः धान लगाउन सकिने क्षेत्रमा छरुवा विधिमार्फत धान रोपार्इं गर्न सकिने उपाय मन्त्रालयले सार्वजनिक गरेको छ।  

डुबानमा परी धानबाली क्षति वा नष्ट भई बिग्रिएको क्षेत्रमा १२५ दिनभन्दा छोटो अवधिको बाली भएका हर्दिनाथ–१ वा ३, सुक्खा १, २, ३, ५ र ६ जातको छरुवा खेती गर्न सकिने र यी बीउ नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय बीउ विजन कम्पनी र निजी क्षेत्रका बीउ कम्पनीसँग प्राप्त गर्न सकिने मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।  यस्ता धानका बीउ ३६ घण्टादेखि ४८ घण्टासम्म पानीमा भिजाई टुसाएको बीउ हिलो भएको खेतमा सिधै छर्न सकिने बताइएको छ।  

धानखेती गर्न नसकिने क्षेत्रमा भाद्र मसान्तसम्म आईसीपी ७०३५ र धनुषा लोकल जातको रहर, कालो मास, गहत वा मुँगको खेती गर्न सकिने मन्त्रालयले उपाय सुझाएको छ।  मन्त्रालयले क्षतिको सम्पूर्ण विवरण साउन ३२ गते सार्वजनिक गर्ने जनाएको छ भने भदौ ७ गतेभित्र किसानलाई राहत वितरण गर्ने तयारी पनि गरेको छ।   
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.