|

लक्ष्मणपुर बाँध : बाँके हुँदै बग्ने पश्चिम राप्ती नदीमा नेपाल–भारत सीमा क्षेत्रनजिक यो बाँध छ। सन् १९८० मा सुरु गरेर १९८५ मा भारतले एकलौटी रूपमा लक्ष्मणपुर बाँध निर्माण सम्पन्न गरेको हो। अन्तर्राष्ट्रिय कानुनअनुसार सीमाको १२ किलोमिटर क्षेत्रमा बाँध बनाउन पाइँदैन। तर, लक्ष्मणपुरमा भारतले बनाएको बाँधको पानीले नेपालका गाउँका गाउँ डुब्छन्।

कलकलुवा तटबन्ध : लक्ष्मणपुर बाँधसँगै जोडेर ०५६ मा भारतले २२ किमि लामो ४ मिटर अग्लो कलकलवा तटबन्धको निर्माण गर्दा नेपालसँग कुनै सम्झौता भएन। तर, नेपाली जनता पीडित छन्।

धौलीगंगा बाँध भारतको धार्चुला जिल्लाबाट महाकाली नदीमा मिसिने धौलीगंगा नदीमा बनेको बाँधले नेपाललाई अप्ठेरो पर्दै आएको छ। यही बाँधका कारण १ असार ०७० मा बाढी आउँदा दार्चुला सदरमुकाम खलंगाको बजार बगेको थियो।

कोइलाबास तटबन्ध : दाङको सीमाक्षेत्रको दाराखोलामा भारतले कोइलाबास बाँध बनाएको छ। बाँधका कारण बर्सेनि ३ हजारभन्दा बढी नेपालीको खेती मात्र होइन घरआँगन पनि डुब्दै आएको छ।

महलीसागर बाँध ०५९ मा भारतले कपिलवस्तुको सीमाक्षेत्रमा एकतर्फी रूपमा १५ ढोकासहितको ३० मिटर लामो महलीसागर बाँध निर्माण गरेको छ। यो बाँधले सुक्खा मौसममा समेत १९१ हेक्टर जमिन डुबाउने गरेको छ, बर्खाको त हिसाब नै छैन।

रसियावाल–खुर्दलोटन बाँध : रुपन्देहीको मर्चवार क्षेत्रनजिक भारतद्वारा एकतर्फी रूपमा रसियावाल खुर्दलोटन तटबन्ध निर्माण गरेको छ। बाँधका कारण १८ गाउँका बासिन्दाले बर्सेनि डुबान समस्या झेल्दै आएका छन्। राज्य र नेताले पनि उनीहरूको समस्यामा नबोलेको भन्दै स्थानीयले आक्रोश पोख्ने गरेका छन्।

डण्डाफरेना बाँध :  यो तटबन्ध सिद्धार्थनगर नगरपालिका–२ देखि दक्षिण नेपाल–भारत सीमारेखाबाट ६ मिटरको दूरीमा अवस्थित छ । नेपालबाट बग्ने डन्डा नदीमा भारतद्वारा निर्मित पक्की बाँधमा हाल डन्डाफरेना तटबन्ध पनि जोडिएको छ। ७ किलोमिटर लामो तटबन्ध निर्माणको योजना रहे पनि नेपालको विरोधका कारण ३ किमि मात्र निर्माण गरिएको थियो।

लालबकैया तटबन्ध ०६० मा ३ वटा निकासद्वारसहित ८ किलोमिटर लामो तटबन्ध भारतले निर्माण गरेको हो । यो रौतहट जिल्लाबाट भारततिर बग्ने लालबकैया नदीमा निर्मित तटबन्ध हो। यस तटबन्धका कारण गौर नगरपालिकाका साथै औरही, सिर्सिया, पुरेनवा र जयनगर गाविसको अधिकांश भाग हरेक बर्ष डुबानमा पर्दै आएको छ।

बैरगनिया तटबन्ध रौतहटको गौर नगरपालिकाको दक्षिणतर्फ नेपाल भारत सीमाक्षेत्रमा भारतद्वारा २०३७ सालमा नेपालको सहमतिविना नै लामो तटबन्ध रातारात खडा गर्‍यो। यो १५ किलोमिटर लामो १० देखि १२ फिट उचाइको छ। यस तटबन्धले रौतहटमा बागमती र लालबकैया नदिको प्राकृतिक बहाबलाई नै मोडिदिएको छ। जसले गर्दा रौतहटका सदरमुकाम गौरसहित बन्जराहा, औरैया, बैरिया, पिपरा, पुरेनवा, सिरसिया गाविसहरुलाई डुबानमा पार्दै आएको छ।

वागमती तटबन्ध : यो तटबन्ध पनि रौतहटकै बैरगनिया चक्रबातसँग जोडिएको छ । बाढी र डुबान नियन्त्रणका लागि भन्दै भारतले सिमानामै बागमतीको दायाँ किनारमा ८।२५ किलोमिटर र बाँया किनारामा १८।२५ किलोमिटरको लामो तटबन्ध निर्माण गरेको छ। करिव १६ किलोमिटर तटबन्ध नेपाल भारत सीमाक्षेत्रबाट बायाँ बनुस्मारा तटबन्धसम्म फैलिएको छ।

कमला तटबन्ध : यो धनुषा र सिराहा जिल्लाको सीमा भई भारततर्फ बग्ने कमला नदिको दुवै किनारामा निर्मित तटबन्ध हो। यस तटबन्धका कारण हरेक वर्ष नेपालको माडर, इनरवा, मल्हनिया, गम्हरिया, बालाहसघारा, बालाहाकथाल र लाहान नगरपालिकाका केही वडाहरुका करिब १०६५ हेक्टर भूभाग डुबानमा पर्ने गरेको छ ।

सिराहा तटबन्ध सिराहा बाँध सिराहा जिल्लाको सदरमुकामदेखि ५ किलोमिटर दक्षिणपूर्वी सीमावर्ती क्षेत्र नजिक भारतीय भूमिमा पर्दछ। यो बाँध हरकट्टी गाविसको भारततिरबाट दशगजा क्षेत्रमा निर्माण गरिएको छ। सो तटबन्ध ३ किलोमिटर लम्बाई २० फिट चौडाइमा फैलिएको छ।

खाँडो तटबन्ध : भारतले आफूतिरको भूभागमा पानी रोक्नका लागि बाँध बनाएर नेपाल डुबाएको अर्को बाँध हो सप्तरीको सदरमुकाम राजविराजबाट दक्षिण लालापट्टी नदीमा निर्माण गरिएको खाँडो बाँध।

कुनौली तटबन्ध : यो तटबन्ध सप्तरी जिल्लाको राजविराजदेखि १० किलोमिटर दक्षिणपूर्वी सीमावर्ती क्षेत्रमा भारतले एकतर्फी रुपमा निर्माण गरेको छ । सीमा क्षेत्रभन्दा १ मिटरको दूरीमा भारतले यो तटबन्ध निर्माण गरेको हो। यस तटबन्धका कारण सप्तरी जिल्लाका दक्षिणी भेगका ११ वटा गाविसहरुलाई डुबानमा पार्दै आएको छ।

लुना बाँध :यो बाँध मोरङ जिल्लाको बक्राहा नदीमा छ। भारतले यो बाँध नेपाल भारत सीमावर्ती क्षेत्र नजिक नेपालबाट भारततिर बग्ने बक्राहा ९ र भारतमा लुना नदीमा आफ्नो भूभागतिर बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.