|

धनकुटा : प्रदेश नम्बर १ का ४ पहाडी जिल्लामा ५ दिनदेखि अवरुद्ध विद्युत् सेवा अझै सुचारु हुन सकेको छैन। सुनसरीको दुहबीबाट धरान हुँदै धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जिल्लामा जोडिएको विद्युत् अवरुद्ध बनेको हो।

गत शुक्रबार र शनिबारको अविरल वर्षापछिको बाढीले दुहबी सवस्टेसनमा क्षति पुर्‍याएपछि विद्युत् सेवा अवरुद्ध भएको हो। विद्युत् प्राधिकरण शाखा कार्यालय धनकुटाका प्रमुख ध्रुवराज कार्कीका अनुसार दुहबी सवस्टेशनमा पानी जमेकाले पानी फ्याक्ने काम भइरहेको छ।

विद्युत्् सुचारु हुन अझै केही दिन लाग्ने उनले बताए। 'शुक्रबार र शनिबारको अविरल वर्षासँगै आएको बाढीले विद्युत्को सवस्टेसन डुवानमा परेपछि ग्राहकले विद्युत् उपयोग गर्न पाएका छैनन,’ कार्कीले भने, ‘दुहबी सवस्टेसनमा पानी फाल्ने र बीचबीचमा विद्युत्का पोल जाँच गर्ने काम भइरहेको छ।’

कार्कीका अनुसार संखुवासभाको पिलुवा खोला जलविद्युत् आयोजना पनि सञ्चालन नहुँदा थप समस्या भएको छ। पिलुवा खोला विद्युत् सञ्चालन हुन दुहबी सवस्टेसनबाट एक लाइन विद्युत् सञ्चालन गरेर चार्ज गर्नुपर्ने कार्कीको भनाइ छ।

विद्युत् अवरुद्ध भएपछि स्थानीय स्तरमा सञ्चालित रेडियोहरु बन्द भएका छन्। स्वास्थ्य संस्थामा एक्सरे लगायतका सेवा सञ्चालन हुन सकेको छैन। टेलिफोन र इन्टरनेटसमेत प्रभावित बनेको छ।

’विद्युत् अवरुद्ध भएपछि मोबाइल चार्ज गर्नसमेत पैसा तिरेर सोलार, जेनेरेटर तथा इन्भटर भएको घरतिर धाउनु परेको छ,’ धनकुटाका धनबहादुर तामाङले भने, ’अब त पैसा तिर्दा पनि चार्ज गर्न पाइन छाड्यो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.