|

धनकुटा : जिल्ला समन्वय समिति धनकुटामा नेकपा एमालेको प्यानल नै निर्विरोध निर्वाचित भएको छ। जिल्लाका सबै स्थानीय तहको प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष जितेको एमालेको टिम जिससमा निर्विरोध भएको हो।

जिसस प्रमुखमा टंकबहादुर चौहान र उपप्रमुखमा बंगलाकुमारी राई (बान्तवा) उपप्रमुखमा निर्वाचित भएका छन्। यस्तै सदस्यहरुमा महिलातर्फ पदममाया थेगिम र अम्बिका खड्का, दलित महिलामा आइस्मा विश्वकर्मा, अल्पसंख्यकमा हरिकुमार राई र खुल्ला सदस्यतर्फ वाङ्दा तामाङ, शिवबहादुर लिम्बू र डागम कुमार राई निर्विरोध भएका छन्।

निर्वाचित पदाधिकारीहरुलाई सोमबार शपथ ग्रहण गराइएको छ। मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जिल्ला समन्वय समितिका पदाधिकारीलाई सपथ ग्रहण गराएका हुन्। शपथ ग्रहणपछि पदबहाली गरेका प्रमुख चौहानले जिल्लाको विकासका लागि आफूलाई प्राप्त भएको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्ने बताए।

‘५ वर्षभित्र जिल्लाको समग्र विकासको योजनालाई मूर्तरुप दिनका लागि स्थानीय सरकारहरु र माथिल्लो निकायसँग प्रभावकारी समन्वय गरिने छ,' उनले भने, 'धनकुटा जिल्लाको परिचय बदल्नका लागि जिससले खेल्नु पर्ने भूमिकामा कमी हुन दिन्न।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.