|

कालिकोट : अछाम जिल्लाको रामारोशन ताल संरक्षण अभावमा ओझेलमा पर्न थालेको छ। अछामको पूर्वी उत्तरमा पर्ने रामारोशन ताल समुद्री सतहबाट २ हजार ५० मिटरदेखि ३ हजार ७ सय ९२ मिटर उचाइमा पर्दर्छ यसलाई १२ बण्ड १८ खण्डको ताल पनि भनिन्छ।

पर्यटनको प्रचुर सम्भावना बोकेको अछामको रामारोशन क्षेत्रका १२ वटा तालहरुमध्ये संरक्षणको अभावमा ८ वटा ताल मात्र रहेको अन्य सुक्न थालेका छन्। अछामको प्रमुख पर्यटकीय क्षेत्र मानिने रामारोशनमा रहेका तालहरु आवश्यक संरक्षण, सम्वद्र्धन र उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको अछाम रामारोशनका स्थानीय अमर साउँदले बताए। ‘साना ठूला गरी १२ वटा ताल र १८ वटा पाटन खण्ड रहेका छन्।’ उनले भने, ‘सय ताललाई १२ बण्ड, १८ खण्डका नामले पनि चिनिन्छ। केही अहिले सुकेका छन्।’

रामारोशन क्षेत्रमा रहेका प्रमुख तालहरुमा जिंगल्ले, बाटुल्ला, लामिदह, लिस्सेडाली, ताउले, तल्लो धउने, माथिल्ला धउने, गाग्रे, डउठेखाल, दल्याना, रामे र गेराहा हुन्। उल्लिखित १२ तालमध्ये तल्लो धउने, माथिल्लो धउने र लिस्सेडाली सुक्दै गईरहेको स्थानीय टेकबहादुर साउँदले बताए। ‘तालहरुको संरक्षण हुन नसक्दा तालहरु पुरिन थालेपछि चिन्तित बनाएको छ।’

अछाम जिल्लाको उत्तरमा अवस्थित रामारोशन क्षेत्र प्रकृतिप्रेमीहरुको लागि साच्चिकै वरदानस्वरुप छ। कालिकोट र बाजुरा जिल्लाको दक्षिणमा अवस्थित यो क्षेत्र अछामका रामारोशन भाटाकाटिया गाविस र कालीकोट जिल्लाको रुप्सा गाविससँग जोडिएकोे छ।

१२ ओटा ताल र घासे मैदानले भरिएका रमणीय उपत्यका जस्तो देखिने १८ ओटा आकर्षक प्राकृतिक पाटनहरुले सुुसज्जित यस क्षेत्रलाई स्थानीय भाषामा १२ बण्ड र १८ खण्ड पनि भनिन्छ।

समुन्द्री सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको रामारोशन पर्यटनको दृष्टिकोणले प्रचुर सम्भावना बोकेको एक महत्वपूर्ण प्रकृतिको वरदान हो। प्रमुख आकर्षणका रुपमा रहेका १२ तालहरुमध्ये रामे, लामोदय, ताउल्या, जिङगल्या, गाग्रा ताल मनमोहक छन्। त्यस्तै १८ खण्ड मध्ये किनीमिन्नी मैदान फाँट र रामारोशन मैदान फाँट ठूला र आकर्षक छन्।

उत्तरी खण्डको चट्टानी पहाडले झनै आकर्षण थपेको छ। घना वन जंगलले भरिएको यस क्षेत्रमा डाँफे, मुनाल, कालिज जस्ता चराचुरुंगी कस्तूरी बाघ, भालु, मृग लगायतको वन्यजन्तु, पाँचऔंले, पदमचाल जस्ता महत्वपूर्ण जडीबुटीहरु पाइन्छन्। गर्मीको समयमा तराईको प्रचण्ड गर्मी छल्न रामारोशन क्षेत्र अति नै उपयुक्त मानिन्छ।

अछामको सदरमुकाम मंगलसेनबाट झन्डै ४० किलोमिटर पूर्व–उत्तरमा अवस्थित रामारोसनसम्म मोटरबाटो पुगेको छ। आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि०६६ देखि प्रत्येक वर्ष लालीगुराँस फुल्ने चैत्र महिनामा यहाँ यहाँ रामारोशन महोत्सवको स्थानीयहरुले आयोजना गर्ने गरेका छन्।

महोत्सवको आयोजना गर्दा स्थानीय केही पर्यटक आउने गरेको बाह्य त्यति नआउने गरेको स्थानीय राम बोहोराले बताए। ‘प्रत्येक वर्ष हामी रामारोशन महोत्सवको आयोजना गर्ने गर्छौं।’ उनले भने, ‘नजिक आसपास जिल्लाबाहेक अन्य ठाउँका पर्यटक त्यति ल्याउन सकेको छैनौं ।’

रामारोशन ताललाई मात्र गतव्य बनाएर मात्र बाह्य पर्यटक नआउने र अब रामारोसनसँगै खप्तड, बडिमालिका रारातालसँग रुटको विकास गरेर पर्यटक भित्र्याउन सकिने सुदूरपश्चिमका पर्यटन व्यवसायी कृष्णबहादुर महराले बताए। ‘रामारोसन पर्यटनका लागि राम्रो सम्भावना भएको क्षेत्र हो।’ उनले भने, ‘रामारोशनलाई मात्र गतव्य बनाएर हुँदैन। त्यसलाई खप्तड, बडिमालिका रारातालसँग रुटको विकास गर्न सकिन्छ।’ 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.