|

काठमाडौं : ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) लाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गेका छन्। आईएफसीका नेपाल, भुटान र बंगलादेशका कन्ट्री म्यानेजर वेन्डी वेर्नरसँग बुधबार भएको भेटमा उनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन्।

ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री शाहीले नेपालको ऊर्जा क्षेत्रमा गरिने लगानी नाफामूलक र सुरक्षित हुने विश्वास दिलाए।

राजनीतिक संक्रमण पूरा गर्न लागेको नेपालको अबको मुख्य एजेन्डा आर्थिक विकास रहेको बताउँदै उनले ऊर्जामा लगानीको ठूलो सम्भावना रहेको ध्यानाकर्षण गराए। ‘धेरै उद्योग र पूर्वाधार परियोजना पाइपलाइनमा छन्। यातायात र सेवा क्षेत्रमा ठूलो अवसर छ', उनले भने, 'यसले ऊर्जा क्षेत्रमा लगानीको ठूलो अवसर सिर्जना गरेको छ।’

नेपालले सन् २०२५ सम्म १० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको जानकारी गराउँदै उनले वैदेशिक र निजी क्षेत्रको लगानी नेपालका लागि आवश्यक रहेको बताए।

‘वैदेशिक लगानीप्रति हामीले उदार नीति लिएका छौं। लघु जलविद्युत् र सौर्य ऊर्जा क्षेत्रमा लगानी वृद्धि गर्न नेपालले नवीकरणीय ऊर्जा अनुदान नीति कार्यान्वयनमा ल्याएको छ’,  मन्त्री शाहीले भने, ‘ऊर्जा क्षेत्रमा लगानीकर्तालाई कर छुट, सहुलियत छुट, अन्तःशुल्क फिर्ता र शतप्रतिशत नाफा फिर्ता लैजान पाउनेलगायत सुविधा व्यवस्था गरेका छौं।’

भेटमा आईएफसीका नेपाल, भुटान र बंगलादेशका कन्ट्री म्यानेजर वेन्डी वेर्नरले आफूहरू ऊर्जामा लगानी गर्न इच्छुक रहेको बताए। माथिल्लो त्रिशुली १ को पीपीए गर्न पहल गरिदिन मन्त्री शाहीलाई आग्रह गरे।

उनले आईएफसीले  मुख्यतः नीजि क्षेत्रमा लगानी गरिरहेको भन्दै सरकारले लगानी गर्ने अवसर दिएमा आफूहरू तयार रहेको प्रष्ट पारे। आईएफसी विश्व बैंकको सदस्य हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.