एक हजार ५१५ प्रतिनिधि सहभागी हुने

|

काठमाडाैँ: श्रमजीवी पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २५अौँ महाधिवेशन आउन चार दिन मात्र बाँकी छ। जतिजति महाधिवेशनको मिति नजिकिँदै छ, पत्रकार वृत्तमा उतिउति अब बन्ने नयाँ नेतृत्वलाई लिएर छलफल र बहस आकासिँदै गएको छ। 

आसन्न महाधिवेशनमा लोकतान्त्रिक, जनपक्षीय र समावेशी गठबन्धन तथा संयुक्त व्यावसायिक गठबन्धनका बीचमा प्रतिस्पर्धा हुने पक्का भएको छ। लोकतान्त्रिक, जनपक्षीय र समावेशी गठबन्धनका तर्फबाट गोविन्द आचार्य र संयुक्त, व्यावसायिक र प्रगतिशील गठबन्धनबाट तीर्थ कोइराला अध्यक्षका दावेदारका रूपमा अगाडि आएका छन्। 

लोकतान्त्रिक, जनपक्षीय र समावेशी गठबन्धनमा अहिलेसम्म प्रेस युनियन, प्रेस सेन्टर र प्रगतिशील पत्रकार संघ गरी तीन पत्रकार संगठन रहेका छन् भने संयुक्त व्यावसायिक र प्रगतिशील गठबन्धनमा प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संगठन र संघीय प्रेस फोरम मिलेर जाने भएका छन्।

यसैबीच, लोकतान्त्रिक, जनपक्षीय र समावेशी गठबन्धनका तर्फबाट उपाध्यक्षमा विपुल पोख्रेल र महासचिवमा रमेश विष्टको उम्मेदवारी रहने पक्कापक्की भएको छ। अध्यक्षका उम्मेदवार गोविन्द आचार्यको यसअघि नै टुंगो लागिसकेको थियो। आचार्य प्रेस सेन्टर सम्वद्ध हुन् भने पोख्रेल र विष्ट युनियन सम्वद्ध हुन्

बुधबार बिहान बसेको उम्मेदवार छनोट समितिको संयुक्त बैठकले उपाध्यक्ष र महासचिवका उम्मेदवारको टुंगो लगाएको प्रेस सेन्टरका उपाध्यक्ष बलराम थापाले थाहाखवरलाई जानकारी दिए।

फोटोमा दायाँबाट क्रमशः उपाध्यक्षका उम्मेदवार विपुल पोखरेल, अध्यक्षका उम्मेदवार गोविन्द आचार्य र महासचिवका उम्मेदवार रमेश विष्ट। 

संयुक्त, व्यावसायिक र प्रगतिशील गठबन्धनमा भने उम्मेदवार छनोटका लागि छलफल भइरहेको क्रान्तिकारी पत्रकार संगठनका प्रभात चलाउनेले जानकारी दिए। 

लोकतान्त्रिक, जनपक्षीय र समावेशी गठबन्धनले आजै उम्मेदवारी घोषणा गर्ने

लोकतान्त्रिक, जनपक्षीय र समावेशी गठबन्धनका तर्फबाट बुधबार साँझ पाँच बजे पत्रकार सम्मेलनमार्फत उम्मेदवार घोषणा गरिने प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए। कार्यक्रम थापागाउँस्थित बानेश्वर व्याङ्केटमा राखिएको आचार्यले बताए। 

व्यावसायिक पत्रकारिताको लागि अध्यक्षमा उम्मेदवारी: उजिर मगर

पत्रकार महासंघका वर्तमान महासचिव उजिर मगरले पनि अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्। विगत १८ वर्षदेखि व्यावसायिक पत्रकारिता गर्दै आएको नाताले आफू अध्यक्षको उम्मेदवार भएको मगरले बताए। 

'श्रमजीवी पत्रकार, अभिव्यक्ति स्वतन्त्रता, समावेशिता र व्यावसायिकताका लागि मेरो उम्मेदवारी हो', थाहा खबरसँग कुरा गर्दै अध्यक्षका प्रत्यासी मगरले भने; 'मेरो कसैसँग गठबन्धन छैन। व्यावसायिक र श्रमजीवी पत्रकारले मलाई भोट हालेर जिताउनेछन् भन्ने विश्वास छ।' 

महाधिवेशनको सबै तयारी पूरा: महासंघ

नेपाल पत्रकार महासंघले महाधिवेशनका लागि सबै तयारी पूरा भएको जनाएको छ। महासंघका अध्यक्ष महेन्द्र विष्टले थाहाखबरसँग कुरा गर्दै तोकिएको समयमै महाधिवेशन हुने गरी सबै तयारी पूरा भएको बताए।

भदौ ३ गते मनोनयन, ४ गते उद्घाटन र बन्द सत्र गर्ने र ५ गते भोटिङ गर्ने गरी महासंघले तयारी गरेको छ। देशका सबै जिल्ला र प्रतिष्ठानबाट एक हजार ५०५ जना प्रतिनिधि सहभागी हुने महासंघले जनाएको छ। त्यसबाहेक १० जना सभासद केन्द्रीय समितिले मनोनयन गर्ने भनिए पनि मनोनयन अझै गरिएको छैन। सभासद मनोनयनदेखि महाधिवेशनको अन्तिम तयारीका लागि भदौ १ गते केन्द्रीय समितिको बैठक बोलाइएको महासचिव उजिर मगरले जानकारी दिए।

कार्यक्रम कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा हुनेछ। प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमकाे उद्घाटन गर्ने बताइएकाे छ।

उपत्यकाका तीन जिल्लाबाहेक बाहिरबाट आउने एक हजार प्रतिनिधिका लागि सुन्धारामा खाने बस्ने व्यवस्था मिलाइएको महासचिव मगरले बताए। महाधिवेशन सम्पन्न गर्नका लागि एक करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने र सोहीअनुसार व्यवस्थापन गरिएको पनि महासचिव मगरले जानकारी दिएका छन्।

४७ सदस्यीय केन्द्रीय समिति

महासंघमा अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, ६ सचिव र कोषाध्यक्ष गरी ११ जना पदाधिकारी हुन्छन्। यसबाहेक महासंघमा ३६ जना सदस्य हुन्छन्। महासंघको केन्द्रीय समिति ४७ जनाको हुन्छ।

महासंघको नेतृत्व छान्न केन्द्रीय सभासद (पार्षद) ले मतदान गर्ने व्यवस्था छ। नेपाल पत्रकार महासंघका जिल्ला, प्रतिष्ठान, एसोसिएट र वैदेशिक शाखाले केन्द्रीय नेतृत्व चयनमा मताधिकार पाउँछन्। जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसियट संस्थाबाट अध्यक्ष र १० जना साधारण सदस्य बराबर छानिएका एक पार्षदले महासंघको केन्द्रीय नेतृत्व छान्न मतदान गर्छन्। विदेशमा रहेका शाखाहरूका अध्यक्षले मतदान गर्ने अधिकार पाउँछन्। साविकको केन्द्रीय समितिका सबै सदस्यले स्वतः मताधिकार पाउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.