|

गत साउन २२ गते पूर्वप्रधानमन्त्री तथा राप्रपाका संस्थापक नेता लोकेन्द्रबहादुर चन्दको निवास लोकन्थलीमा बिहान ११ बजे अध्यक्ष कमल थापा, संस्थापक नेता चन्द र वरिष्ठ नेता पशुपतिशमशेर राणाको बैठकमा राणाकै इच्छा र प्रस्तावबमोजिम - (१) बाँकी मनोनयनमा नौ केन्द्रीय सदस्य दिने, (२) निर्देशन समितिको अध्यक्ष दिने, (३) चुनाव चिह्नबारे लचिलो हुने, (४) कार्यसम्पादन समितिमा सल्लाह बमोजिम सदस्य थप गर्ने र (५) पार्टीका निर्णयहरुमा राणा सहितको सुझाव लिइने सहमति भएको थियो।

यसलाई नेता राणाले उत्साहित र सकारात्मक रुपमा लिँदै साथीहरूसँग छलफल गर्ने र उहाँकै प्रस्तावअनुसार अर्को बैठक २३ साउन बिहान १० बजे बस्ने गरी टुंगो लागेको थियो तर, हठात र छापामार शैलीमा अर्को २३ घण्टा कुर्ने धैर्यतासमेत नराखी २२ साउन नै अपराह्न साढे ४ बजे पार्टी विभाजन जस्तो गम्भीर र जघन्य भूल गर्न राणालाई कसले उत्साहित गर्‍यो? यस पछाडिका रहस्य के छन्? कसको प्रेरणाबाट यस्तो हुन गयो?

नेतृत्वको रुपमा अध्यक्ष कमल थापाका पनि कमीकमजोरी हुन सक्छन् तर, पार्टीको समस्या पार्टीभित्र नै बसेर मिलाउन सकिन्थ्यो, हजारौं कार्यकर्ता र लाखौं शुभेच्छुक/शुभचिन्तकको इच्छा, चाहना र भावनाविपरीत हुर्कँदै र आशा लाग्दो हुँदै गएको नेपालको राष्ट्रवादी शक्तिलाई विभाजित गर्न जीवनको उत्तरार्द्वमा नेता राणालाई बाध्य कसले बनायो?
अझ रोचक र स्मरणीय के छ भने २९ असारमा नै पार्टी विभाजनको सूचना प्राप्त हुनासाथ अध्यक्ष कमल थापाले पार्टी जोगाउन विधानबमोजिम ४२ केन्द्रीय सदस्य मनोनयन गरे, पार्टीमा एकलौटी गरेको आरोप खेप्दै आएका अध्यक्ष थापाले मनोनयन गरेका ४२ मध्ये १६ जनाले साउन २२ को पार्टी विभाजनमा राणा पक्षलाई समर्थन गरेका छन्, एकलौटी मनोनीत गरेको भए १६ जनाले कसरी राणालाई समर्थन गरे त? एकलौटी गरेको भए महाधिवेशनपछि गठित कार्यसम्पादन समितिमा १७ मध्ये ११ र पदाधिकारीमा ६०% बढी राणा पक्षलाई दिएको होइन?

पार्टी एकताअघि दीपक बोहरा र विक्रम पाण्डे सरकारमै थिए, फागुनको महाधिवेशनपछि कि दुई मन्त्री फिर्ता बोलाउने कि थप मन्त्री पठाएर सरकारमा पार्टीको उपस्थिति गहकिलो बनाउनुपर्ने थियो। भर्खरै एकता भएको र एकता महाधिवेशन भएको महिना दिनमै पार्टीमा संकट नआओस् भनेर दोस्रो विकल्प रोजियो,

संविधान संशोधन स्वीकार गर्ने र विनासर्त शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन पनि नेता राणाकै प्रस्तावबमोजिम भएको थियो, फागुनमा सरकारमा सहभागिता, संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय र देउवा सरकारलाई समर्थनको नेता राणाको प्रस्तावलाई स्वीकार गर्दा अध्यक्ष कमल थापाले राजनीतिक रुपमा कुन मूल्य चुकाउनुपरेको छ र उनको व्यक्तित्वमा कति क्षयीकरण हुन पुगेको छ भन्ने दुनियाँलाई थाहा छ।

तर पनि पार्टी जोगाउन सकिएन, जोगिएन। आफू अलोकप्रिय बनेर पनि, आफ्नो स्वभावविपरीत सम्झौता गरेर पनि पार्टी जोगाउन अध्यक्ष कमल थापाले हदैसम्म प्रयास गरेकै हुन्। तर, केही देशी विदेशी शक्ति केन्द्र र आफू निकटका स्वार्थी, पदलोलुप र एक थान मन्त्री पदका लागि ज्यानै फाल्ने झुन्डहरुको दबाब र प्रभावमा परेर नेपालको राष्ट्रवादी आन्दोलनलाई कमजोर पार्न संस्थापकसमेत रहेका आदरणीय नेता पशुपतिशमशेर राणा स्वयं किन लागे भन्ने चिरकालसम्म रहस्य र खोजीको विषय रहिरहनेछ।

यो पंक्ति कुनै वादविवाद गर्न वा आरोप प्रत्यारोप गर्न लेखिएको होइन, यो पार्टीमा आफ्नो अर्को २० वा ३० वर्ष भविष्य खोजिरहेका म र म जस्ता हजारौं युवाको अन्तर्मनको भावना अभिव्यक्त गरिएको हो। हाम्रो पुस्ताको भविष्य अन्धकार बनाउने अधिकार कसैलाई छैन, एकाकार हुने समय अझै गुज्रिसकेको छैन, सबैले सार्थक र सकारात्मक हस्तक्षेप गरौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.