|

काठमाडौं: नेपालमा भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले  हर्बल र हस्तकला निर्माण सामाग्रीमा लगानी गर्न चीन इच्छुक रहेको बताएका छन्।नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा उद्योगी-व्यवसायीहरुसँगको भेटमा चिनियाँ उपप्रधानमन्त्रीले लगानीको इच्छा व्यक्त गरेका हुन्। 

भेटका क्रममा उद्योग वाणिज्य महास‌ंघकी अध्यक्ष भवानी राणाले नेपाली वस्तुको उत्पादन क्षमता बढाउन चिनियाँ सहयोग आवश्‍यक परेको बताइन्।भेटमा चीनसँगको चुलिंदो व्यापार घाटालाई न्यूनीकरण गर्नका लागि नेपाली उत्पादनहरूको चिनियाँ बजारमा सहज प्रवेश आवश्यक रहेको व्यवसायीहरुले बताए। उनीहरुले यसका लागि चीनमा निर्यात सम्भाव्यता भएका नेपाली वस्तु तथा सेवाहरूलाई डयूटि फ्री सहुलियत सुविधा दिन माग गरे।

महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा चिनियाँ लगानी उल्लेख्यरुपमा बढी रहेको बताइन्। उनले नेपाल र चीनबीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध बिस्तारमा अझ बढी सहकार्य गर्नुपर्ने बताइन्।

छलफलमा चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालको  हर्बल र हस्तकला सामग्रीको निर्माणमा लगानी गर्ने इच्छा व्यक्त गरे। उनले नेपालसँगको व्यापार बिस्तार गर्न चीन लागि परेको पनि बताए।

रेलमार्ग र सडक मार्गको बिस्तार गरी नेपालमा व्यापार बिस्तार गर्न आफूहरु प्रतिवद्ध रहेको याङले बताए। चीनले नेपालमा रेल मार्ग र सडकमार्ग निर्माण गरी दुई मुलुकबीचको व्यापारलाई सहज बनाउने प्रतिबद्धता जनाउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.