|

काठमाडौं : व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयकमाथि छलफल सुरु भएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले 'नेपालको संविधान दोस्रो संशोधन विधेयक,२०७३ माथिको दफाबार छलफल सदनमा गरियोस्' भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएपछि संविधान संशोधनबारे छलफल भएको हो।

छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् रेवतीरमन भण्डारीले विधेयक फिर्ताको माग गरे। समय अभावका कारण बुधबार यसबारे थप छलफल हुन सकेन। यस विषयमा भदौ ४ गते बस्ने व्यवस्थापिका संसदको बैठकमा थप छलफल हुनेछ।

यसअघि संसदमा प्रमुख प्रतिपक्षी एमालेले बाढी–पहिरोको समस्या समाधान तथा आवश्यक नितिगत व्यवस्थामा सार्वजनिक संकल्प आवश्यक पर्ने भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेको थियो। सो विषय अत्यन्तै महत्वपुर्ण भएपनि बैठकमा सत्ता पक्षकै सांसदहरुको अनुपस्थिति कम देखियो।

मन्त्री तथा सत्तारुढ दलकै सांसदहरुको न्युन उपस्थितिलाई लिएर प्रमुख विपक्षी दलका सांसदहरुले सरकार र सत्तारुढ दलका सांसदहरु विषय वस्तुको गाम्भिर्यता प्रति सचेत नभएको आरोप लगाए। 

प्रस्तावमाथिको छलफलमा सहभागी अधिकांश सांसदहरुले राहत रकम थोरै भएको भन्दै कम्तिमा ५ लाख घोषणा गर्न माग गरे। सांसद डाक्टर वंशीधर मिश्रले बाढी र डुबान प्रभावित क्षेत्रमा सरकारको उपस्थिति नै नभएको भन्दै पीडीतलाई २ लाख रुपैयाँको राहत घोषणा गरेर सरकारले छारो हाल्ने काम गरेको आरोप लगाए।

त्यसैगरी सांसद राम कुमार भट्टराईले मृतकका परिवारलाई प्रतिपरिवार ५ लाख उपलब्ध गराई स्वरोजगार संचालन गर्नका लागि २ लाख रुपैया र्निव्याजमा उपलब्ध गराउन माग गरे। नेकपा माओवादी केन्द्रका सांसद अग्नि प्रसाद सापकोटाले गरिबलाई दिंदा राष्ट्र गरिब नहुने भन्दै मृतकका परिवारलाई ५ लाख उपलब्ध गराउन माग गरे।

सांसद ईश्वरी न्यौपानेले तत्काल घोषणा भएको रकम प्रयाप्त नभएपनि राहत र उद्धारमा सरकारले सम्पुर्ण शक्ति परिचालन गरेको भन्दै सरकारको बचाउ गरे। जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी अधिकांश सांसदहरुले राहत रकम बढाउन तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारसँग माग गरे।

बुधबारको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धि विधेयक २०७४ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्विकृत गरेको छ। त्यस्तै स्वास्थ्य बिमा विधेयक, २०७४ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि स्विकृत भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.