|
Photo : cmprachanda.com

सप्तरी :  पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सप्तरी जिल्लाका ३ सयभन्दा बढी बाढीपीडित घर परिवारलाई राहत वितरण गरेका छन्।

बुधबार दिउँसो गृहमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री शिवकुमार मण्डलसँगै सप्तरी पुगेका अध्यक्ष प्रचण्डले सप्तरीको हनुमान नगरको इनरुवास्थित मुसहरी टोलका १०० भन्दा बढी बाढी पीडितलाई चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, नून लगायतका खाद्यान्न सामग्री वितरण गरेका हुन्।

प्रचण्डले राजविराज नगरपालिका–१५ का २०० भन्दा बढी पीडित परिवारलाई चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, नून लगायतका राहत सामग्री बितरण गरेका छन्। राहत वितरण गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले बाढी प्रभावित सबै जिल्लामा उद्दार, राहत र पूनर्वासका लागि काम गरिरहेको बताए।

‘तपाईहरुको दुखमा साथ दिन म आएको हुँ। सरकार र पार्टीको तर्फबाट बाढी पीडितलाई राहतको व्यवस्था गरिनेछ। मृतकका परिवारलाई २ लाख क्षतिपूर्ति र क्षतिग्रस्त संरचनाहरुको पूनर्निर्माणमा हाम्रो तर्फबाट पुरै कोशिस हुनेछ,' उनले भने,'२ वर्षअघि पहाडमा बिनासकारी भूकम्प आयो। तपाईहरुले दिल खोलेर सहयोग गरे। अहिले मधेसमा विपत्ती आएको छ। पहाड पनि त्यसरी नै तपाईहरुलाई दिल खोलेर सहयोग गरिरहेको छ। यसले हामी नेपालीमा आत्मीयता बढाएको छ। हाम्रो एकता बलियो भएको छ,' उनले भने।

बुधबार नै अध्यक्ष प्रचण्ड सर्लाही जिल्लाको खैरहवा क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन तथा निरीक्षण गरे। बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै अध्यक्ष प्रचण्डले जनताको दुखमा साथ दिन आफू बाढी प्रभावित क्षेत्रमा आएको र आफ्नो पार्टीका सबै मन्त्री र नेताहरुलाई उद्दार र राहतमा खटाएको बताए।

गृहमन्‍‍त्री जनार्दन शर्माले उद्दार र राहतलाई प्रभावकारी बनाउन गृह मन्त्रालय जिम्मेवार भएर लागेको बताए। बाढीले पीडित जनतालाई राहत दिन स्थानीय प्रशासन खटिरहेको जानकारी दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.